प्रदेश राजधानीमै फोन सेवा प्रभावकारी नभएको मुख्यमन्त्रीको गुनासो
कर्णाली प्रदेशको राजधानीमै फोन र इन्टरनेट सेवा प्रभावकारी नभएको सरोकारवालाले गुनासो गरेका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तरबारे सरोकारवालासँग आयोजना गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश राजधानी सुर्खेतमै फोन र इन्टरनेट सेवा प्रभावकारी नभएको बताए। “सुर्खेतमा नै इन्टरनेट सेवा र फोन सेवा भरपर्दो छैन, कर्णालीको विकट क्षेत्रमा अवस्था कस्तो होला?” मुख्यमन्त्री शाहीले भने।
उनका अनुसार, कर्णालीका हिमाली तथा दुर्गम क्षेत्रमा फोन सेवाको पहुँच समेत छैन। मुख्यमन्त्री शाहीले डिजिटल कर्णालीको नारा खाद्यान्न उत्पादन नहुने क्षेत्रमा ‘अर्गानिक खेती’ घोषणा गरिए जस्तै भएको बताए। “डिजिटल प्रदेश घोषणा गरेका छौं, तर प्रदेशका कतिपय ठाउँमा फोन र इन्टरनेट सेवा नै छैन,” शाहीले भने।
प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले दूरसञ्चार क्षेत्रका सेवाप्रदायक संस्थाहरूले दुर्गम तथा पहाडी क्षेत्रमा सञ्चार सेवा प्रभावकारी ढङ्गले पुर्याउनुपर्ने बताए। कर्णाली प्रदेशमा सञ्चार क्षेत्रको प्रभावकारी विकास गर्न प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्न पनि उनले सेवाप्रदायक संस्थालाई निर्देशन दिए।
त्यस्तै, प्राधिकरणका उपनिर्देशक दिनेश मैनालीले ग्रामीण दूरसञ्चार कोषको प्रयोग गरेर कर्णाली प्रदेशका केही जिल्लामा अप्टिकल फाइबर बिछ्याएर इन्टरनेट सेवा र फोन सेवालाई प्रभावकारी बनाउने काम थालनी गरेको बताए। नेपाल टेलिकमको कर्णाली प्रदेश प्रार्देशिक कार्यदलका निमित्त प्रमुख शिवराज खनालले गुणस्तरीय सेवा पुर्याउन प्रयत्न भइरहेको तर विद्युत् आपूर्तिमा हुने समस्याका कारण सेवामा अपेक्षित सुधार ल्याउन नसकिएको बताए।
कार्यक्रममा हिमालयन ग्रीन कर्पोरेशनका प्रमुख शम्भु पहाडीले इन्टरनेट र फोन सेवालाई प्रभावकारी बनाउन नियमित रूपमा दूरसञ्चार प्राधिकरणले उपभोक्ता र सेवाप्रदायकबीच नियमित अन्तरक्रिया गर्नुपर्ने धारणा राखे।