‘बाबुराम र उपेन्द्र एक-दुई दिनमै अलग हुन्छन्’
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई सहमतिमै अलग हुन लागेको जसपा नेताहरूले बताएका छन्।
जसपामा सैद्धान्तिक बहससँगै शुरू भएको विवाद पार्टी विभाजनमा पुग्न लागेको हो। पार्टी विभाजनका लागि दुवै नेता सहमत भइसकेको जनाइएको छ।
प्रतिनिधि सभामा जसपाका सचेतक प्रमोद साहले दुवै नेता छुट्टिने सहमतिमा पुगेको बताए। “बाबुरामजी र उपेन्द्रजीबीच सहमतिमै छुट्टिने कुरा भएको छ,” साहले हिमालखबरसँग भने, “दुवै नेताहरू एक-दुई दिनमै अलग हुनुहुन्छ।”
दुवै जनाबीच स्थानीय तहको निर्वाचनअघि नै विवाद बढेको थियो। स्थानीय तहको निर्वाचन असर पर्ने भन्दै दुवै जना चूपचाप थिए। अहिले फेरि विवाद बढ्दै जाँदा जसपा फुटको सँघारमा पुगेको हो।
अध्यक्ष यादव पक्षले बोलाएको कार्यकारिणी समितिको बैठकमा तीन जना नेता अनुपस्थित रहेको जनाइएको छ। जसपा स्रोतका अनुसार, कार्यकारिणी समितिको बैठकमा संघीय परिषद् अध्यक्ष भट्टराई, नेताहरू महेन्द्र राय यादव र राजकिशोर यादव अनुपस्थित थिए। दुवै नेताले भट्टराईलाई साथ दिएको जनाइएको छ।
यादव पक्षको बैठकमा संघीय परिषद् अध्यक्ष भट्टराईमाथि कारबाही गर्नुपर्ने आवाज उठेको एक केन्द्रीय सदस्यले बताए। यससँगै सरकारमा सहभागी मन्त्रीलाई पनि फिर्ता बोलाउनुपर्ने र नयाँ मन्त्री पठाउनुपर्ने आवाज उठेको थियो। बैठकले यसमा निर्णय गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको थियो।
जसपा कार्यकारिणी समितिमा ३३ जना सदस्य छन्। जसमध्ये १९ जना सदस्य बैठकमा सहभागी भएको जनाइएको छ।
स्थानीय चुनावअघि कार्यकारिणी समितिमा बहुमतमा रहेका भट्टराई अहिले अल्पमतमा परेका छन्। मन्त्री फेरबदल हुने भएपछि भट्टराईको पक्षमा लागेका केही नेता यादवतिरै फर्किएको जनाइएको छ। अध्यक्ष यादवले असन्तुष्ट नेतालाई मन्त्री बनाउने आश्वासन दिएको एक सांसदले बताए।
यसरी आफ्नो पक्षमा बहुमत जुटाएका यादव भट्टराईलाई कारबाही गर्नुभन्दा पनि सहमतिमै छुट्टिनुपर्नेमा पक्षमा देखिएका छन्। “एक-अर्कालाई कारबाही गरेर नेता-कार्यकर्ता गालीगलौजमा उत्रिनुभन्दा सहमतिमै अलग हुने विषयमा दुवै नेता देखिएका छन्,” सांसद साहले भने।
त्यसै अनुसार दुवै नेताले आआफ्नो पक्षका कार्यकारिणी सदस्यसँग छलफल गर्न थालेका छन्। संघीय परिषद् अध्यक्ष भट्टराईले आफ्नो पक्षका केन्द्रीय सदस्यलाई काठमाडौं बोलाएका छन्। यादव पनि आफ्नो पक्षका केन्द्रीय सदस्य भट्टराईतिर नजाऊन् भनेर छलफलमा जुटेका छन्।