सिन्धुलीको अक्करे भीरमा पहिरो खस्दा यात्रुलाई सास्ती
मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बाशेश्वरको हैबारस्थित अक्करे भीरमा पहिरो खस्दा आवतजावतमा समस्या भएको छ।
पहिरो निरन्तर झरिरहेकाले बुधबारदेखि यात्रु तथा मालवाहक सवारी साधनको आवतजावतमा समस्या भएको हो। सडकमा सवारी साधनको जाम छ।
सडक विभागको जेसीभी प्रयोग गरेर पन्छाउँदै सवारी साधनलाई पहिरो पार गराउने व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ। पहिरो पन्छाए लगत्तै पुनः पहिरो खस्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुबाट काठमाडौं ओहोरदोहोर गर्ने यात्रु मारमा परेका छन्।
हैबारको अक्करे भीर र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवामा पहिरो खसेका कारण बिहीबार दिक्तेलबाट कुनै पनि सवारी साधन नछुटेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए। अक्करे भीरमा सामान्य वर्षाकै कारण पहिरो खस्ने गरेको छ।मध्यपहाडी लोकमार्गको अन्य ठाउँमा पनि पहिरो खसेको छ। लोकमार्गमै पर्ने बादुरा खोलाको पुल निर्माणमा ढिलाइ हुँदा बाढीका कारण सवारी साधन घण्टौं रोकिने गरेका छन्।