हलेसी चिनाउने ‘त्रिधाम हलेसी’
पत्रकार दीपेन्द्र राईको पुस्तक त्रिधाम हलेसी प्रकाशन भएको छ। पुस्तकमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी तथा त्यस आसपासका अन्य धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक स्थलको जानकारी छ।
हलेसी महादेवस्थान विकास समितिले प्रकाशन गरेको १०४ पृष्ठको पुस्तकलाई सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक गरी तीन खण्डमा विभाजन गरिएको छ। सांस्कृतिक खण्डमा हलेसी, तुवाचुङ, रोसुङतो, खोक्चिलिपा पँधेरो/पोखरी, सोलोमा भीर, राजदह, जैरुङघाट/जयरामघाट, बोझे ओढार, सत्येश्वर गुफा, खामाहुई ढुङ्गा र गुप्तेश्वर गुफाको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पक्षबारे विस्तृत चर्चा गरिएको छ।
यस्तै‚ ऐतिहासिक खण्डमा हलेसीगढी, होलेसुङ पार्क, खिम्ले दरबार, च्यास्मीगढी, खाम्तेलगढी, लावाचुङ र तारो हान्ने ढुङ्गा/सुत्केरी ढुङ्गाबारे उल्लेख छ। प्राकृतिक खण्डमा भुम्जु, सल्लेपोखरी, नाम्चुङ, ताराखसे, ताराखसे गुफा, बुङालुङ पार्क, महादेवबेसीबारे जानकारी दिइएको छ।
पुस्तकमा हिन्दू, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसी र अन्य धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलको चित्रण गर्ने प्रयास गरिएको लेखक राई बताउँछन्। “नगरका ११ वडाका सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक स्थलका प्रतिनिधिमूलक पर्यटकीय स्थलबारे खोजमूलक तरीकाले उधिन्ने प्रयास गरिएको छ,” उनले भने, “घुमघामका लागि हलेसी बाहेक उपयुक्त स्थल अरू पनि छन्। ती ठाउँसम्म पर्यटक र तीर्थयात्रीलाई पुर्याउनका लागि जानकारी दिन पुस्तक सहयोग हुने अपेक्षा छ।”
हलेसीमा आउने पर्यटक तथा दर्शनार्थी दर्शन लगत्तै फर्किने गरेका छन्। जसका कारण हलेसी आसपासका धार्मिक तथा पर्यटकीय स्थलबारे उनीहरू बेखबर छन्। हलेसी वरपरका गन्तव्य स्थलको प्रवर्द्धन र जानकारी दिन त्रिधाम हलेसी पुस्तक प्रकाशन गरिएको हलेसी महादेवस्थान विकास समितिले जनाएको छ।