राजनीतिक भागबण्डा र खिचातानीले नेपाल खुला विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ। पदाधिकारी नियुक्तिमा ढिलाइ, कर्मचारी अभाव, तालिका अनुसार परीक्षा कार्यक्रम सञ्चालन तथा नयाँ पाठ्यक्रम लागू नहुने लगायत समस्या छन्।
नेपाल खुला विश्वविद्यालयमा सामाजिक विज्ञान तथा शिक्षा, विज्ञान स्वास्थ्य तथा प्रविधि र व्यवस्थापन तथा कानून गरी तीन वटा संकाय छन्। ती संकाय अन्तर्गत सञ्चालित विभिन्न कार्यक्रममा तीन हजार ५०० विद्यार्थी अध्ययनरत छन्। तर‚ तीन वटा संकायमध्ये दुईमा एक वर्ष र एकमा सात महीनादेखि डीनविहीन छ। डीन नहुँदा विश्वविद्यालयको शैक्षिक कार्यक्रम अस्तव्यस्त हुँदै गएको छ।
विश्वविद्यालयका रजिस्ट्रार गोविन्द सिंह विष्ट डीन नियुक्त हुन नसकेकै कारण परीक्षा सञ्चालनमा समस्या भएको बताउँछन्। यसअघि सञ्चालन भएको परीक्षाको नतीजा पनि शैक्षिक तालिकाभन्दा ढिलो प्रकाशित भएको थियो। हाल विश्वविद्यालय कुलपति, उपकुलपति र रजिस्ट्रारको भरमा मात्र चलिरहेको छ।
डीन नियुक्तिका लागि विद्यार्थीहरूले दबाबमूलक कार्यक्रम‚ सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउँदा पनि त्यसको सुनुवाइ भएको छैन। डीन नहुँदा विश्वविद्यालयले विभिन्न कार्यक्रम लागू गर्न नसकेको शिक्षाविद् मनप्रसाद वाग्ले बताउँछन्।
“डीन नहुँदा ६ महीनादेखि विश्वविद्यालयमा प्राज्ञिक परिषद् बन्न सकेको छैन। परिषद् मार्फत विभिन्न पाठ्यक्रमहरू पास हुने गर्दछ‚” वाग्लेले थपे‚ “डीनहरू नै यस परिषद्का सदस्य हुने भएकाले नयाँ पाठ्यक्रम पास हुन सकेको छैन। त्यस्तै, विषय समिति पनि बन्न सकेको छैन। समिति नहुँदा पाठ्यक्रम अध्ययन गर्ने समितिको अभाव भएको छ।”
सहज र सुलभ रूपमा उच्च शिक्षा हासिल गर्न सकून् भनी खुला विश्वविद्यालय स्थापना गरिएको भए पनि त्यो उद्देश्य अनुसार सञ्चालन हुन नसकेको शिक्षाविद् वाग्ले बताउँछन्। पदाधिकारी नियुक्त नहुँदा परीक्षा सञ्चालन तथा नतीजा प्रकाशनमा समेत बाधा पुगेको उनको भनाइ छ।
“सबै वर्गका मानिसले सहज तथा सुलभ मूल्यमा उच्च शिक्षा हासिल गर्न सकून् भनेर यो विश्वविद्यालय सञ्चालन गरिएको हो‚” वाग्ले भन्छन्‚ “तर‚ जिम्मेवारी लिने पदहरू नै खाली रहँदा विश्वविद्यालयका आन्तरिक काम सबै ठप्प भएका छन्।”
शिक्षाविद् विद्यानाथ कोइराला पनि खुला विश्वविद्यालय उद्देश्य अनुसार सञ्चालन हुन नसकेको बताउँछन्। “किसान, खाडी क्षेत्रमा गएका युवा, कम पढेकालाई कसरी डिग्री दिने जस्तो चिन्तनबाट शुरू गरिएको थियो‚” उनी भन्छन्‚ “तर अहिले अन्य विश्वविद्यालय र खुला विश्वविद्यालयमा केही फरक रहेन।”
डीन नहुँदा विश्वविद्यालयको काम नै अलमलमा परेको कोइराला बताउँछन्। “विभिन्न धर्मका विषयमा अध्ययन गराउन ‘सोसियोलोजी अफ एडुकेशन’ अगाडि बढाउन खोजेका थियौं, तर डीन नभएका कारण यो विषयलाई प्रक्रियामा लान सकिएन‚” उनले थपे‚ “कार्यकारी समितिबाट पनि पास गराउन सकिन्थ्यो, तर समितिमा पनि धेरै जनाको पदपूर्ति गर्न बाँकी रहेकाले निर्णय गर्न सकिएन।”
बेथितिको चाङ
खुला विश्वविद्यालयमा शिक्षक तथा कर्मचारीको पनि अभाव छ। भएका पनि करारका हुन्। जसले पनि समस्या भएको शिक्षाविद् कोइराला बताउँछन्।
“विश्वविद्यालयलाई सम्हाल्ने आफ्नै कर्मचारी हुनुपर्छ, तर यहाँका कर्मचारीहरू अस्थायी छन्। सबै करारमा बसेका छन्। अन्त अवसर पाउने बित्तिकै छोडेर जाने प्रवृत्ति बढेको छ‚” उनले थपे‚ “कतिपय शिक्षकहरू पनि छाडेर गएका छन्। जसका कारण शिक्षक कमी भएको छ। शिक्षक पाउन पनि विश्वविद्यालयलाई समस्या भइरहेको छ।”
स्थायी नियुक्तिका लागि शिक्षा मन्त्रालयले विज्ञापन रोकेको शिक्षाविद् कोइराला बताउँछन्। यसले पनि विश्वविद्यालयलाई मर्का परेको उनको भनाइ छ।
विश्वविद्यालयमा भएको बेथितिका कारण खुला विश्वविद्यालयप्रति विश्वसनीयता कम हुँदै गएको शिक्षाविद् वाग्ले बताउँछन्। हजारौं सङ्ख्यामा विद्यार्थी भर्ना हुनुपर्नेमा कतिपय कार्यक्रममा एक जनाको पनि आवेदन नपरेको उनले बताए। “विद्यार्थी भर्ना कम हुनु भनेकै विश्वविद्यालयप्रति विश्वसनीयता घट्नु हो,” वाग्ले भन्छन्‚ “जुन यसको भविष्यका लागि नकारात्मक सङ्केत हो।”
किन हुन सकेन डीनको नियुक्ति?
राजनीतिक भागबण्डा र खिचातानीले डीन नियुक्ति हुन नसकेको शिक्षाविद् कोइरालाको बुझाइ छ। उनी भन्छन्‚ “कुन पार्टीका कति वटा डीन नियुक्ति गर्ने भनेर भागबण्डा नमिलेकै कारण हालसम्म पनि डीन नियुक्त नभएको हो।”
राजनीतीकरणले उच्च शिक्षालाई नराम्ररी बिगारेको बताउँछन् शिक्षाविद् वाग्ले। विश्वविद्यालयका पदाधिकारी राजनीतिक भागबण्डाबाट भएका व्यक्तिले भरिएको उनको भनाइ छ। कुन पार्टीलाई कति वटा पद बाँड्ने भन्ने कुरा नमिल्दा डीन नियुक्तिमा समस्या भएको हुन सक्ने वाग्ले बताउँछन्।
“एउटा डीनको नियुक्ति उपकुलपतिले कार्यकारी परिषद्बाटै गर्न सक्छ‚” वाग्ले भने‚ “तर विडम्बना, उपकुलपति स्वयं राजनीतिक भागबण्डाबाट नियुक्त भएका कारण डीन सिफारिश गर्न सकेको छैनन्।”
विश्वविद्यालयका कुलपति शिक्षामन्त्री रहने प्रावधान छ। उपकुलपति राजनीतिक नियुक्तिबाट हुन्छ।
शिक्षामन्त्री तथा विश्वविद्यालयका कुलपति देवेन्द्र पौडेलले केही समयअघि विश्वविद्यालयका पदाधिकारीलाई डीन नियुक्तिका लागि कार्यकारी बैठक बस्न निर्देशन दिएको मन्त्रालयका उपसचिव कुलप्रसाद खनालले बताए। डीन नियुक्त गर्न आन्तरिक छलफल र मापदण्ड तयार गरी एक हप्ताभित्र मन्त्रालयमा पठाउन निर्देशक दिएको खनालको भनाइ छ।
के हो खुला विश्वविद्यालय?
खुला विश्वविद्यालयमा पढ्न क्याम्पसम्म धाउनुपर्ने बाध्यता हुँदैन। घरैमा बसीबसी विद्यार्थीले अनलाइन माध्यमबाट पढ्न सक्छन्। परीक्षा दिन भने विश्वविद्यालयले तोकेको परीक्षा केन्द्रमा उपस्थित हुनुपर्छ।
अनलाइनबाट नै विश्वविद्यालयमा भर्ना हुन सक्ने व्यवस्था हुन्छ। जसका लागि पहिले विद्यार्थीले अनलाइनमा ब्यांक भौचर र फारम भरेर पठाउनुपर्छ। प्रवेश परीक्षाका लागि प्रत्येक प्रदेशमा केन्द्र तोकिने र पास भएका विद्यार्थीले अनलाइनबाटै भर्ना हुन सक्छन्। कक्षा सञ्चालनअघि विद्यार्थीका लागि अभिमुखीकरण कक्षा सञ्चालन हुन्छ।
२०७३ मा स्थापना भएको नेपाल खुला विश्वविद्यालय ललितपुरको कार्यालय मानभवनमा रहेको छ। यस विश्वविद्यालय ‘नेपाल खुला विश्वविद्यालय ऐन २०७३’ अनुसार सञ्चालन हुँदै आएको छ।