‘ब्यांकिङ क्षेत्रले नाफा मात्र हेर्ने हैन, दिगो तथा पर्यावरणमैत्री विकासमा प्राथमिकता दिनुपर्छ’
‘ग्लोबल अलायन्स फर ब्यांकिङ अन भ्यालुज’ को एशिया प्यासिफिक क्षेत्रीय प्रतिनिधि उपेन्द्र पौड्यालले नेपालमा वित्त लगानीको प्राथमिकता दिगोपन हुनुपर्नेमा पैरवी गर्दै आएका छन्। उनी अध्यक्ष रहेको नबिल ब्यांकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउँदै कृषिमा आधारित उद्यमशीलता विकास र दिगो विकासका लक्ष्यलाई सघाउने उद्देश्यले गत वर्षदेखि दिगो ब्यांकिङको कार्यक्रम शुरू गरेको छ। आकार विस्तार र नाफाकेन्द्रित ब्यांकिङको परम्परागत तरीकाभन्दा फरक यो अवधारणा वातावरणप्रति सचेत, दिगो एवं सकारात्मक प्रभाव सिर्जना गर्ने नवीनतम पहल भएको ब्यांकको दाबी छ। दिगो ब्यांकिङको आवश्यकता र महत्त्वका विषयमा नबिल ब्यांकका अध्यक्ष पौड्यालसँग हिमालखबरले गरेको कुराकानीः
दिगो ब्यांकिङ पहल कार्यक्रम कस्तो अवधारणा हो?
नेपालको ब्यांकिङ क्षेत्र आकार विस्तार र उच्च नाफामा केन्द्रित छ। त्यसलाई बदल्नुपर्ने समय आएको छ। पछिल्लो समय पश्चिमका कैयौं देशमा दिगो वित्त लगानी गर्नुपर्छ भन्ने अवधारणा फैलिइरहेको छ। जसले नाफामा मात्रै केन्द्रित हुने होइन, थ्री–पी अर्थात् पिपुल, प्लानेट र प्रोस्परिटी (मानव, पृथ्वी र नाफा) तीनै पक्षलाई हेरेर व्यवसाय गर्नुपर्छ भन्छ। नेपालको ब्यांकिङ व्यवसायमा नाफामा मात्रै ध्यान दिंदा हामीले मानव र पृथ्वीलाई बिर्सिरहेका छौं।
हरेक निर्माण तथा व्यवसायमा वित्तीय पूँजी अनिवार्य हुन्छ। ब्यांक तथा वित्तीय संस्थाको लगानी विना कुनै पनि ठूला परियोजना र संरचना बन्दैनन्। त्यसैले हामी साँच्चिकै दिगो र वातावरणमैत्री हुने दिशामा जाने हो भने ब्यांकिङ क्षेत्रको परिवर्तन पहिलो पूर्व शर्त हो। वित्तीय लगानी परिवर्तन नगरी वास्तविक परिवर्तन आउँदैन। नाफा र आकार मात्र हेरेर होइन, हामीले गरेको लगानीले के प्रभाव पारेको छ र कस्तो परिणाम दिइरहेको छ भनेर हेर्नुपर्ने वेला आएको छ। ब्यांक तथा वित्तीय संस्थाले गरेको लगानीले समाज र वातावरणलाई सकारात्मक प्रभाव पार्छ कि पार्दैन, नागरिकको स्वास्थ्य र जनजीविकामा समस्या सिर्जना गर्छ कि गर्दैन भन्ने हेरेर लगानी गर्नुपर्ने भएको छ। त्यही आवश्यकताले कृषिमा आधारित उद्यमशीलता विकास तथा दिगो विकासको लक्ष्यलाई सम्बोधन गर्ने कार्यक्रमका रूपमा दिगो ब्यांकिङ हाम्रो प्राथमिकतामा परेको हो।
ब्यांक तथा वित्तीय संस्थाले गरेको लगानीले समाज र वातावरणलाई सकारात्मक प्रभाव पार्छ कि पार्दैन, नागरिकको स्वास्थ्य र जनजीविकामा समस्या सिर्जना गर्छ कि गर्दैन भन्ने हेरेर लगानी गर्नुपर्ने समय आएको छ।
दिगो ब्यांकिङ अवधारणाको पृष्ठभूमि के थियो?
पछिल्ला तीन दशकदेखि ब्यांकिङ क्षेत्रमा आबद्ध भए पनि सन् २०१५ सम्म म नाफा र आकार हेरेर मात्रै दङ्ग पर्थें। सन् २०१५ मा पेरिस सम्झौतापछि विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्रीको सीमामा राख्ने जुन सहमति भयो, त्यसले संसारभरिको व्यवसायको प्राथमिकता बदल्यो। त्यसै वेला ग्लोबल अलायन्स फर ब्यांकिङ भ्यालुजसँग म आबद्ध भएपश्चात् सन् २०१६ मा एउटा विश्वव्यापी सम्मेलनमा के देखें भने, ब्यांकरहरू नाफा होइन, दिगो ब्यांकिङबारे कुरा गरिरहेका थिए। सधैं नाफाको पछि कुदिरहेको मेरा लागि यो नयाँ कुरा थियो। सन् २००८ को वित्तीय सङ्कटको कुरा पनि यसमै जोडिन्छ। जब, ब्यांकहरूले वास्तविक अर्थतन्त्रको विस्तारमा लगानी नगरेर अनुत्पादक औजारहरूमा गर्छन्, त्यसले समग्र अर्थतन्त्रलाई जोखिममा धकेल्छ भन्ने ठूलो पाठ थियो त्यो। त्यो पृष्ठभूमिमा हामीले गरिरहेको ब्यांकिङको प्राथमिकता फेर्नुपर्छ भन्ने चेत खुलेको थियो।
हामीले अहिले प्रयोग गरिरहेका सुविधा भावी पुस्ताका लागि पनि राख्नुपर्छ। पछिल्ला २० हजार वर्षमा पृथ्वीमा जति तापमान वृद्धि भएको थियो, औद्योगीकरण सघन बन्दै गएपछि पछिल्लो ८० वर्षमै त्यति नै परिमाणमा तापमान बढेको मानिन्छ। यसले उच्च हिमाल क्षेत्रदेखि समुद्री तटीय क्षेत्रसम्मका नागरिकको जीविकोपार्जन सङ्कटमा धकेलेको छ। अर्थतन्त्रको विस्तार र औद्योगीकरण सिर्जित विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तनको असर भविष्यमा थप जोखिमपूर्ण बन्दै जाने निश्चित छ। त्यसै कारण, वास्तविक अर्थतन्त्रलाई ब्यांकले सहयोग गर्नुपर्छ र दिगो लगानी गर्नुपर्छ भनेर मेरो प्राथमिकता फेरिएको हो। दिगो विकासको लक्ष्य हासिल गर्न हरेक क्षेत्रको सहयोग चाहिन्छ, जसमा ब्यांक तथा वित्तीय संस्थाको लगानीको प्राथमिकता पनि प्रमुख मुद्दा हो।
नेपाल राष्ट्र ब्यांकले जलविद्युत् र कृषि क्षेत्रमा निश्चित लगानी गर्नुपर्ने नीति बनाएको छ। दिगो ब्यांकिङ पहलकदमी यसअघिको ब्यांकिङ अभ्यासभन्दा कसरी फरक हुन्छ?
यसअघि ब्यांकिङ क्षेत्रले जलविद्युत्, कृषि जस्ता क्षेत्रमा लगानी नगरेको होइन। सँगै, अनुत्पादक र वातावरणलाई जोखिममा धकेल्ने क्षेत्रमा पनि लगानी खन्याएको साँचो हो। कृषि, जलविद्युत्को लगानी केन्द्रीय ब्यांकले गरेको निर्देशन प्रेरित हो। केन्द्रीय ब्यांकले यी क्षेत्रमा निश्चित प्रतिशत रकम लगानीको निर्देशन नदिएको भए सम्भवतः ब्यांक तथा वित्तीय संस्थाले लगानी नगर्न पनि सक्थे। त्यसैले यो ब्यांकहरूको आफ्नै दिगो वित्तको अवधारणाबाट अघि बढेको होइन। मेरो विचारमा, अब व्यवसायहरू स्वयं दिगोपनप्रति सचेत हुनुपर्ने समय आएको छ। एउटा उदाहरण दिन्छु, प्याटागोनिया नामको तयारी पोशाकको प्रख्यात अमेरिकी कम्पनी छ। वातावरणमा एकदमै सचेत भएर काम गरिरहेको यो कम्पनीले जैविक इन्धनलाई लगानी गरेका ब्यांकहरूसँग वित्तीय कारोबार नगर्ने घोषणा गरेको छ। यो हाम्रा लागि पाठ हो।
वास्तवमा, दिगो ब्यांकिङतर्फ हाम्रो आवश्यक गम्भीरता देखिएको छैन। सन् २०१८ मा मात्रै राष्ट्र ब्यांकले ब्यांक तथा वित्तीय संस्थाले लगानी गर्ने परियोजनामा वातावरणीय प्रभाव मूल्याङ्कन आवश्यक छ भनेर मागनिर्देशन जारी गरेको हो। तर, अन्तर्राष्ट्रिय रूपमा अवस्था अर्कै थियो। करीब अढाई दशकअघि म जुन ब्यांकमा काम गर्थें, त्यसको अस्ट्रेलियास्थित मुख्यालयले हामीलाई ऋण प्रवाह गरिएको परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनलाई पनि अनिवार्य ध्यान दिन निर्देशन दिएको मलाई सम्झना छ। हामीले अब वातावरणप्रति सचेत नभई विकल्पै छैन। ब्यांकले लगानी गर्दा अब जलविद्युत् आयोजना भनेर मात्रै पुग्दैन, उक्त आयोजनाका कारण खोलामा जलप्रवाह अवरुद्ध भएर माछा रहँदैनन् भनेर समेत ख्याल राख्नुपर्छ। खोलामा माछा भएनन् भनेर माछा मारेर जीविकोपार्जन गर्ने रैथानेको भविष्य के हुन्छ भनेर समेत सोच्नुपर्छ।
हामीले अब वातावरणप्रति सचेत नभई विकल्पै छैन। ब्यांकले लगानी गर्दा अब जलविद्युत् आयोजना भनेर मात्रै पुग्दैन, उक्त आयोजनाका कारण खोलामा जलप्रवाह अवरुद्ध भएर माछा रहँदैनन् भनेर समेत ख्याल राख्नुपर्छ। खोलामा माछा भएनन् भनेर माछा मारेर जीविकोपार्जन गर्ने रैथानेको भविष्य के हुन्छ भनेर समेत सोच्नुपर्छ।
ब्यांकिङमा जहाँ बढी नाफा हुन्छ, त्यहीं ऋणको माग हुन्छ र ब्यांकले पनि लगानी खन्याउँछन्। यस्तो पृष्ठभूमिमा, उच्च नाफाका क्षेत्रमा लगानी नखन्याएर ब्यांकहरू दिगोपन भएका परियोजनामा लगानी गर्न जालान्?
सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कटको वेला इन्भेस्टमेन्ट ब्यांकहरूले वित्तीय औजारहरूमा लगानीबाट ठूलो रकम कमाएका थिए। तर, त्यस्तो खाले वित्त व्यवस्थाले अर्थतन्त्रलाई दिगो बनाएन। ब्यांकहरूले नाफा मात्रै होइन, दिगो हिसाबले लगानी गर्नुपर्छ तथा अर्थतन्त्र र नागरिकप्रति दायित्व पनि हुन्छ भन्ने पाठ सिकायो। जोखिम लिएर छिटो उच्च नाफा कमाउने कि दिगो तर सन्तोषजनक नाफा कमाउने भन्ने दुई बाटा छन्। हामीले दोस्रो बाटो रोज्नुपर्छ।
अब नाफा मात्रै होइन, साख र मूल्य सिर्जनाको कुरा सोच्ने समय आयो। वित्त लगानीबाट मानव र पृथ्वीकै भविष्य जोखिममा पुर्याएर हातहातै कमाउने नाफाले के गर्ने? म कलेज पढ्दासम्म काठमाडौंमा गर्मीमा पङ्खा चलाउनै पर्दैनथ्यो, पानीको अभाव थिएन। तर, अव्यवस्थित शहरीकरण र रुखबिरुवा, खेत मासेर घर ठड्याएको दुष्परिणाम अहिले भोग्नुपरेको छ। अब पनि नाफाको मात्र पछि लागेर ब्यांकिङ गर्ने हो भने भविष्यका पुस्ता बाँच्नै नसक्ने स्थिति आए त्योे दोष स्वतः हाम्रो भागमा पर्छ। ब्यांकिङ करिअरमा मेरो पहिलो ऋणको प्रवाह चुरोट उद्योगका लागि थियो। आज, कसैले चुरोट उद्योगका लागि ऋण मागे उक्त ऋणी राम्रो भए पनि वा रकम फिर्ताको सुनिश्चितता भए पनि ब्यांकरका रूपमा म चाहिं उक्त परियोजनामा लगानी गर्ने पक्षमा हुन्नँ।
अब नाफा मात्रै होइन, साख र मूल्य सिर्जनाको कुरा सोच्ने समय आयो। वित्त लगानीबाट मानव र पृथ्वीकै भविष्य जोखिममा पुर्याएर हातहातै कमाउने नाफाले के गर्ने?
पछिल्ला ३० वर्षमा ब्यांक तथा वित्तीय संस्थाले हरेक वर्ष २० प्रतिशतभन्दा माथि ऋण वृद्धि गर्दै आएका छन्। तर, अर्थतन्त्रको विस्तार वार्षिक ४.५ प्रतिशत हाराहारीमा मात्रै छ। ब्यांकले दिएको ऋणले अर्थतन्त्रमा अपेक्षित ढङ्गले उत्पादक क्षमता बढाएको छैन। यो पक्षको अनुभूति ब्यांकरहरूलाई कत्तिको छ?
ब्यांकरहरूले बिस्तारै यस्तो अनुभूति गर्न थालेका छन्। तर, मेरो विचारमा ब्यांकहरूलाई उत्पादनमूलक क्षेत्र र सकारात्मक प्रभाव पार्ने लगानीमा जान मार्गनिर्देशन दिने काम राष्ट्र ब्यांकबाट हुनुपर्छ। ब्यांकका लगानीकर्ताले नाफा त खोज्छन्, तर सधैं उच्च गतिको नाफा अपेक्षा गर्नु हुँदैन। त्यस्तो अपेक्षा गर्न थाले वित्तीय क्षेत्र धरमराउँछ र अर्थतन्त्र नै धराशायी बन्छ। ब्यांक कर्जाले अर्थतन्त्रलाई अघि बढाउँदैन र एउटा समूहलाई मात्रै धनी बनाउँछ भने त्यस्तो ब्यांकिङको के अर्थ भयो र? समाज, नागरिक, देश र वातावरणलाई सकारात्मक प्रभाव पार्ने वित्त लगानी नभए त्यसले कसैलाई हित गर्दैन।
नेपालका ब्यांकहरूले उत्पादनमूलक क्षेत्रमा फिटिक्कै लगानी नगरेका पनि होइनन्, अहिलेको होटलको विस्तार, सिमेन्ट उद्योगको फैलावट आदि त्यसका उदाहरण हुन्। अर्थतन्त्र नै विभिन्न कारणले समस्यामा पर्दै आएकाले उत्पादनमूलक क्षेत्रको विस्तार खस्किएको हो। तर, अब ब्यांकले लगानी गरेका परियोजनाले ऊर्जा खपत कति र कसरी गर्छ, वातावरणमा कति प्रभाव पार्छ, कार्बन उत्सर्जन कति गर्छ भनेर हेर्ने वेला चाहिं आयो। मैले केही समयअघि यूरोप भ्रमण गर्दा एउटा ब्यांकको डिजाइन नै दिनभरि उज्यालोका लागि बत्ती नै आवश्यक नपर्ने गरी गरिएको भेटें। हामीले पनि अब यस्ता नयाँ तरीका सिक्नुपर्छ।
ब्यांक तथा वित्तीय क्षेत्रको लगानी आयात र घरजग्गा क्षेत्रमा जाँदा त्यसले अर्थतन्त्र र वातावरण दुवैमा गहिरो असर पारेको छ। तपाईंको अवलोकन के छ?
अब सरकारसँगसँगै ब्यांकिङ क्षेत्रले प्राथमिकता फेर्ने वेला आयो। नेपाल आफैंले आवश्यक वस्तु र सेवा उत्पादन गर्ने एवं रोजगारी सिर्जना गर्ने काम गर्न सक्नुपर्छ। यस्तो इकोसिस्टम निर्माणका लागि ब्यांकहरूले लगानी गर्नुपर्छ। देशको बाह्य क्षेत्रमा जुन चाप देखापरेको छ, त्यसले कतै सङ्कटतिर त धकेल्दैन भन्ने डर सिर्जना हुनु पछाडि उच्च आयात र अनुत्पादक लगानी प्रमुख कारण हुन्। त्यसैले यसमा ब्यांक तथा वित्तीय संस्थाले पनि गम्भीरतापूर्वक सोच्नुपर्छ।
सधैं उच्च गतिको नाफा अपेक्षा गर्नु हुँदैन। त्यस्तो अपेक्षा गर्न थाले वित्तीय क्षेत्र धरमराउँछ र अर्थतन्त्र नै धराशायी बन्छ। ब्यांक कर्जाले अर्थतन्त्रलाई अघि बढाउँदैन र एउटा समूहलाई मात्रै धनी बनाउँछ भने त्यस्तो ब्यांकिङको के अर्थ भयो र?
जुनसुकै देशका लागि खाद्यवस्तु र ऊर्जा रणनीतिक महत्त्वका उत्पादन हुन्। नेपालका ब्यांक तथा वित्तीय संस्थाले जलविद्युत् क्षेत्रमा लगानी मार्फत ऊर्जाको उत्पादन र विकासका लागि बलियो भूमिका खेलेका छन्। नेपाल अहिले विद्युत्मा लगभग आत्मनिर्भर स्थितिमा पुगेको छ, ब्यांकरका रूपमा मलाई यसमा गर्व पनि छ। अब हामी खाद्यान्न र कृषि उत्पादनमा आत्मनिर्भर हुने स्थितिमा जानुपर्छ। अहिले पनि कुल आयातको झण्डै एक चौथाइ कृषिजन्य वस्तु आयात हुन्छ। यसलाई प्रतिस्थापन गर्न कृषि उत्पादन वृद्धिमा ब्यांक तथा वित्तीय संस्थाले लगानी गर्नुपर्छ। यही मान्यताले नबिल ब्यांकले कृषि उत्पादन बढाउन लगानी गरिरहेको छ। पर्यटन अर्को महत्त्वपूर्ण क्षेत्र हो। नेपालमा जानकी मन्दिरदेखि पशुपतिनाथ र मुक्तिनाथसम्म छन्। धेरै परको कुरा छोडौं, भारतीयलाई मात्रै यी धार्मिक स्थलहरूमा तान्न सके पर्यटन क्षेत्रको कायापलट हुन सक्छ। अहिले दक्षिणएशियाका देशहरूमा देखापरेको सङ्कटले सिकाएको पाठ के हो भने, वास्तविक अर्थतन्त्रलाई प्राथमिकतामा राखेर नीति अघि नसारे ढिलो–चाँडो हामी अप्ठ्यारोमा फस्छौं। कृषि सहितका आवश्यक वस्तुको उत्पादन गर्ने, विद्युत् सहितका लाभका क्षेत्रका उत्पादन निर्यात गर्ने, विद्युतीय भान्छा र यातायातलाई प्रवर्द्धन गर्ने गर्न सके हामी शोधनान्तर घाटाको स्थिति उल्ट्याउन सक्छौं। त्यसैले दिगो ब्यांकिङ झन् झन् सान्दर्भिक मुद्दा बनिरहेको छ।
विगतदेखि नै व्यवसाय विस्तार र उच्च नाफामा अग्रणी नबिल ब्यांक उसोभए अब दिगो ब्यांकिङतर्फ केन्द्रित हुन्छ?
हामीले दिगो ब्यांकिङलाई प्राथमिकतामा राखेर काम गर्न थालिसकेका छौं। गत वर्ष नै नबिल ब्यांकमा दिगो ब्यांकिङ विभाग नै खडा गरेर काम शुरू भइसकेको छ र दिगो र वातावरणमैत्री परियोजनाहरूमा लगानी बढाउँदै लगेको छ। दुर्गम क्षेत्रमा गएर स्थानीय कृषि उत्पादनमा आधारित उद्यम गर्न युवालाई उद्यमशीलता विकासको तालीम दिने तथा नवउद्यमीलाई ऋण दिन सघाइरहेका छौं। पढेलेखेका युवालाई उद्यमशीलतामा सघाउन सामाजिक उद्यमशीलता स्कूल पनि शुरू गरेका छौं। ब्यांकिङले अब निक्षेप लिएर ऋण दिने काम मात्रै होइन, ऋण लिन सक्ने उद्यमी तयार गर्ने, उसलाई क्षमतावान् बनाउने, समन्वय गर्ने काम पनि गर्नुपर्छ भन्ने हामीले बुझेका छौं।
नेपालले पनि दिगो विकास, दिगो वित्त र हरित अर्थतन्त्रको विभिन्न क्षेत्रमा मार्गचित्र तयार गर्नुपर्छ। जस अन्तर्गत, दिगो वित्तको मार्गचित्र पनि आवश्यक छ, ताकि पेरिस सम्झौता र अन्य विश्वव्यापी समझदारीहरूलाई कार्यान्वयन गर्न सहयोग पुगोस्।
ऋण प्रवाहका क्रममा पनि ऋणीलाई वातावरण संरक्षणका लागि उसका दायित्व के हुन् भनेर सुझाव दिने विषय हाम्रो प्राथमिकतामा छ। ‘पाटर्नरशिप फर कार्बन एकाउन्टिन फाइनान्सियल’ भन्ने विश्वव्यापी फोरमको नबिल ब्यांक सदस्य पनि हो। हामीले गरेको वित्त लगानीबाट कार्बन उत्सर्जन घटाउन कति योगदान पुग्यो भनेर लगत बनाउने प्रतिबद्धता जनाएका छौं।
मेरो विचारमा, नेपालले पनि दिगो विकास, दिगो वित्त र हरित अर्थतन्त्रको विभिन्न क्षेत्रमा मार्गचित्र तयार गर्नुपर्छ। जस अन्तर्गत, दिगो वित्तको मार्गचित्र पनि आवश्यक छ, ताकि पेरिस सम्झौता र अन्य विश्वव्यापी समझदारीहरूलाई कार्यान्वयन गर्न सहयोग पुगोस्। नेपालले सन् २०४० सम्ममा कार्बन उत्सर्जन शून्य पार्ने प्रतिबद्धता गरेको छ। यसको कार्यान्वयनमा सबैको समन्वय र समझदारी चाहिन्छ, खास गरी वित्तीय लगानीले यसलाई समर्थन गर्नुपर्छ। नबिल ब्यांक त्यो दिशामा प्रतिबद्ध छ, हामी यसमा अघि बढिसकेका छौं। अरू ब्यांकहरू पनि यो बाटोमा अघि बढ्न जरुरी छ। विगतको अनुभव, भविष्यप्रतिको दृष्टिकोण र वर्तमानको आवश्यकता सबै हिसाबले त्यसतर्फ हाम्रो वित्त क्षेत्रको लगानी जानुपर्छ।