यी हुन् नारायणगढ-मुग्लिन सडकमा उच्च जोखिम रहेका १७ ठाउँ
नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको उच्च जोखिममा छन्।
उच्च जोखिम भएका १७ मध्ये सात ठाउँमा साना-ठूला पहिरो खसिसकेका छन्। डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनीयर सागर कार्कीका अनुसार, चार किलो, नाम्सी पुल, तीन नम्बर पुल, २६ किलो, २० किलो, १५ किलो, जुगेडी बजार नजिकैको कविलास जाने बाटो उच्च जोखिममा छन्।
नारायणगढबाट ३१ किलोमिटर मुग्लिनतर्फ नाम्सी पुलमा धेरै समस्या आएको छ। पुल निर्माण गर्दा काटिएको भित्तोबाट पहिरो खसेर समस्या आएको कार्कीले बताए। त्यसका अतिरिक्त सेती दोभान, कालीखोला, सिमलताल लगायत १० ठाउँ जोखिममा छन्। उच्च जोखिम रहेका १७ वटै ठाउँमा गत वर्ष पहिरो खसेको थियो।
कतिपय ठाउँमा सुक्खा पहिरो समेत खसेर दुःख दिएको कार्कीले बताए। राजधानी प्रवेश गर्ने र बाहिरिने यो मुख्य सडकमा एक दिनमा १० हजार बढी सवारी साधन आवागमन गर्ने गर्छन्। सडक पुनर्निर्माणको काम सकिए पनि सडकमाथिका पहिरो जोखिम क्षेत्रको व्यवस्थापन हुन नसक्दा पहिरोको जोखिम कायमै रहेको हो।
डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले सडक विस्तार र पुल निर्माणको काम एकै पटक नहुँदा समस्या भएको बताए।
उनले भने, “मुख्य रूपमा पुल बनाउँदै गरेका ठाउँमा बढी समस्या देखिएको छ।” ती ठाउँमा भित्ता काटिएकाले पहिरो खसेको हो।
यो सडक खण्डमा निर्माण हुने १९ पुलमध्ये चार वटाको निर्माण पूरा भएर हस्तान्तरण भइसकेको छ भने १४ वटा निर्माणको अन्तिम चरणमा छन्। एउटा निर्माण शुरू हुने प्रक्रियामा छ।
नेपाल-भारत क्षेत्रीय व्यापार तथा यातायात परियोजना अन्तर्गत विश्व ब्यांकको सहयोगमा नारायणगढ-मुग्लिन ३६ किलोमिटर सडकखण्ड विस्तारको काम गरिएको थियो। सन् २०१५ को अप्रिलमा ठेक्का सम्झौता भई दुई अर्ब ९० करोड खर्च गरी तीन वर्ष लगाएर सडक विस्तार गरिएको हो।
यही क्रममा ३१ ठाउँमा पहिरो नियन्त्रणको काम गरिएको थियो। अधिकांश ठाउँमा भित्तो काटिएको थियो। जसमध्ये सात ठाउँमा पहिरो रोक्ने काम गरिएको थियो।
पहिरो रोक्ने काममा मात्र ४० करोड खर्च भएको छ। सडक विस्तारका क्रममा काटिएका भित्तो र ग्रामीण क्षेत्रमा जानका लागि खनिएका सडकका कारण धेरै ठाउँमा पहिरोले दुःख दिने गरेको थियो। यस वर्ष पुलका कारण तासिएको भित्तोबाट समेत पहिरो खसेको हो।
सडकमा वर्षाको समयमा पटक पटक पहिरो खसेर दुःख दिने गरेको छ। नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्गमा पहिरोले धेरै दुःख दिएपछि चितवन, धादिङ र तनहुँका प्रमुख जिल्ला अधिकारी सहितका सुरक्षा अधिकारी, डिभिजन सडकका प्रमुख सहितका सरोकारवालाको संयुक्त बैठक बसेर पूर्व तयारीका योजना समेत तय गरिएको छ। पहिरोको उच्च जोखिम भएका क्षेत्रमा उपकरण र जनशक्ति तयारी अवस्थामा राख्ने निर्णय गरी कार्यान्वयनमा ल्याइएको छ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख डिभिजन इन्जिनीयर बाबुराम सापकोटाका अनुसार, पहिरो पन्छ्याउन हरेक वर्ष कम्तीमा १३ लाख खर्च हुने गरेको तथ्याङ्क छ। हाल सडकमा पहिरो पन्छाउन स्काभेटर सहितको प्राविधिक टोली चौबीसै घण्टा सडकमा नै खटिएको छ। (रासस)