विवादित मन्त्री विमला वलीले दिइन् राजीनामा
लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले पदबाट राजीनामा दिएकी छन्।
वलीले राज्यमन्त्रीबाट राजीनमा दिएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री तिलकराम शर्माले हिमालखबरलाई बताए। उनले मुख्यमन्त्री कुलप्रसाद केसी समक्ष राजीनामा बुझाएकी हुन्।
गत जेठ ३१ गते दाङको तुलसीपर–५ स्थित बसपार्कमा एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती मीना भण्डारी र छोरीलाई हातपात गरेपछि उनी विवादमा आएकी थिइन्। त्यसपछि लुम्बिनी प्रदेश सरकारले छानबिन समिति गठन गरेको थियो।
छानबिन समितिका संयोजक तथा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा नेतृत्वको टोलीले गत साता पीडित परिवार, स्थानीय र प्रहरीसँग छलफल गरेको थियो।
दाङको क्षेत्र नम्बर ३ ‘ख’ बाट निर्वाचित नेकपा (एमाले) का नेता उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएको थियो। त्यसपछि उपनिर्वाचनमा तत्कालीन नेकपाबाट उनकी श्रीमती विमला वली निर्वाचित भएकी थिइन्।
सर्वोच्च अदालतको आदेशपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँतिंदा उनले माओवादी रोजेकी थिइन्।