चपली सबस्टेशनको ट्रान्सफर्मरमा समस्या, बूढानीलकण्ठ क्षेत्रको विद्युत् आपूर्ति बन्द
काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सबस्टेशनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ। सबस्टेशनमा रहेका १०/१० एमभीए क्षमताका तीन वटा ट्रान्सफर्मरमध्ये एउटा बुधबार करीब बिहान ५ बजे बिग्रिएको हो।
ट्रान्सफर्मरमा समस्या आउँदा टोखा, मण्डीखाटार, बाँसबारी, धापासी हाइट, बूढानीलकण्ठ, तारेभीर, झोर लगायत क्षेत्रमा विद्युत् आपूर्ति बन्द छ। उक्त ट्रान्सफर्मरबाट पाँच वटा फिडर निकाली ती क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको थियो।
नेपाल विद्युत् प्राधिकरण महाराजगञ्ज वितरण केन्द्रका प्रमुख प्रज्वलमान श्रेष्ठले सम्भव भएका स्थानमा अन्य सबस्टेशनबाट वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गरिएको बताए। तर, धेरै ठाउँमा विद्युत् आपूर्ति हुन सकेको छैन।
प्रमुख श्रेष्ठका अनुसार, समस्या देखिएको ट्रान्सफर्मरलाई हटाएर जगेडामा रहेको ट्रान्सफर्मर जडान गर्न लागिएको छ। नयाँ ट्रान्सफर्मर जतिसक्दो चाँडो जडान गरी विद्युत् आपूर्ति सञ्चालन गर्न टोली परिचालन भएको विद्युत् प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।