पद्मश्री पुरस्कारका लागि १५ वटा पुस्तक छनोट
पद्मश्री पुरस्कारका लागि १५ वटा पुस्तक छनोट भएका छन्। राम लोहनीको संयोजकत्वमा नयनराज पाण्डे र कुमारी लामा रहेको तीन सदस्यीय निर्णायक समितिले पुस्तक छनोट गरेको हो।
खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले विज्ञप्ति जारी गरी उत्कृष्ट १५ पुस्तक छनोट भएको जानकारी दिएका छन्। “विसं २०७८ मा प्रकाशित पुस्तकहरूमध्ये प्रतिष्ठानमा १४४ पुस्तक प्राप्त भएका थिए‚” विज्ञप्तिमा उल्लेख छ‚ “यीमध्येबाट पहिलो चरणको उत्कृष्ट विस्तारित सूचीका लागि निर्णायक समितिले प्रतिष्ठानलाई निम्न पन्ध्र कृतिको सिफारिश उपलब्ध गराएको छ।”
पुरस्कारका लागि नवराज लम्सालको अग्नि‚ केशवराज ज्ञवालीको अर्को भोर‚ दीनानाथ शर्माको एक सम्बोधन समयमाथि‚ राजवको काफ्काको काम सकियो‚ कविता राईको गुरु‚ लोकराज भट्टको छाइल‚ दिलीप बान्तावाको ताल्चा र अलका आत्रेयको निनाद वल्लरी छनोट भएको जनाइएको छ।
यस्तै‚ राजेन्द्रमान डंगोलको पैतालामा हिउँ‚ आँखामा हिमाल‚ उषा हमालको भिक्षुसँग प्रेम‚ विप्लव ढकालको भोजपुरको वाङ्मय‚ बसन्त बस्नेतको महाभारा‚ दीपक पराजुलीको मिथ्या‚ केवल बिनाबीको यादहरूको संग्रहालय र गिरीश गिरीको सत्यमोहन उत्कृष्ट १५ मा परेका छन्।
प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरूमध्ये उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ।