पम्पिङ आयोजनाको काममा लापरवाही, बाढीले क्षति पुग्ने ठाउँमा बिछ्याइयो पाइप
खोटाङको हलेसी क्षेत्रमा खानेपानी ल्याउन थालिएको खोटाङ बृहत् पम्पिङ खानेपानी आयोजनाको काममा लापरवाही गरेको पाइएको छ। निर्माण कम्पनीले बाढीले क्षति गर्ने ठाउँमा पाइप बिछ्याएको छ।
हलेसी तुवाचुङ नगरपालिका-९ सल्लेस्थित महादेवबेसीबाट दूधकोशीको पानी पम्पिङ प्रविधिबाट वडा नं ७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाइनको पाइपलाइन महादेव खोला किनारमा असुरक्षित तरीकाले बिछ्याइएको छ।
महादेव खोला र ढुँडी खोलाको बाढीले क्षति पुग्ने ठाउँमा करीब साढे तीन किलोमिटर पाइप जमीनमा बिछ्याइएको हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेश राउत बताउँछन्। यसरी नराख्न आग्रह गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ। “हामीले पहिल्यै आवाज उठाएका थियौं, तर खोलैखोला पाइप लडाएर राखियो,” उपमेयर राउतले भने, “त्यो खोलामा कोशी थुन्ने भलबाढी आउँछ। त्यो वेला खानेपानीको पाइप बाँकी रहन्छ जस्तो लाग्दैन। अति नै जोखिममा छ।”
वडा नं ९ का वडाध्यक्ष काशीराज राईले खोलाभन्दा २० मिटर माथि पाइप राख्न स्थानीयले माग गरे पनि सुनुवाइ नभएको बताए।
यस्तै, वडा नं १ बाहुनीडाँडाको लुलिमाबाट दूधकोशीको पानीलाई वडा नं २ डिकुवाको भुम्जुडाँडा निकाल्नका लागि सान्ने खोलामा बिछ्याइएको पाइप पनि बाढीको जोखिममा छ। तर‚ संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हेराकाजी महर्जन डिजाइन अनुसार नै काम भएको बताउँछन्।
“डिजाइन नै त्यस्तो हो। माथि पहाडबाट लैजाँदा पहिरो आएको अवस्थामा मेन्टिनेन्स गर्न समस्या हुन सक्छ। बरु खोलाको भित्तैभित्ता च्यापेर लैजाँदा पछि मेन्टिनेन्स गर्न सजिलो हुन्छ कि भन्ने छ,” महर्जनले भने, “यद्यपि‚ पाइप बिछ्याउने क्रममा भएको त्रुटि सच्याउन निर्माण व्यवसायीलाई गत फागुन १६ मा पत्राचार गरिएको छ।”
दूधकोशीको पानीलाई भुम्जुडाँडा र काभ्रेडाँडामा निकाल्ने मेनलाइनको ठेक्का दिवा–महादेव खिम्तीले २०७६ पुस १७ मा काम सक्ने गरी भ्याट बाहेक ३१ करोड ७५ लाख ९६ हजार रुपैयाँमा ठेक्का लिएको हो। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको उक्त कम्पनीले २०७४ असार २१ मा सम्झौता गरेको थियो।
दूधकोशीबाट काभ्रेडाँडामा निकालिएको पानीलाई २०७७ असार ३० सम्म महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गर्ने गरी रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीले २०७५ असार ३१ मा सम्झौता गरेको थियो। यस्तै, भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने ठेक्का लामा कन्स्ट्रक्सनले लिएको छ। लामा कन्स्ट्रक्सनले २०७७ असार ३० सम्म काम सक्ने गरी २०७५ असार ३१ असारमा सम्झौता गरेको थियो। तर, आयोजनाको काममा निर्माण कम्पनीको चरम ढिलासुस्ती भएको छ।
सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकाको सात वडामा खानेपानीको समस्या समाधान गर्न बृहत् पम्पिङ खानेपानी आयोजना सञ्चालन गरिएको हो। यस आयोजनाबाट तीन हजार ७५६ घरधुरीलाई खानेपानी वितरण गर्ने लक्ष्य राखिएको छ।