चट्याङ लागेर सुदूरपश्चिममा चार जनाको मृत्यु
सुदूरपश्चिम प्रदेशमा चट्याङ लागेर मंगलबार चार जनाको मृत्यु भएको छ। कैलालीमा दुई र कञ्चनपुरमा दुई जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
खेतमा रोपाइँ गरिरहेका वेला चट्याङ लागेर कैलालीको कैलारी गाउँपालिका–१ का ५६ वर्षीया सुगापङ्खी र गोदावरी नगरपालिका–३, मालाखेतीका ४८ वर्षीय पुनाराम चौधरीको मृत्यु भएको हो। पुनाराम कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का बासिन्दा हुन्।
त्यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका–८ का २५ वर्षीया शारदा थापा र पुनर्वास-६, टाउन बजार, प्रतिभानगरका ४० वर्षीय देवेन्द्र श्रेष्ठको पनि चट्याङ लागेर मृत्यु भएको छ। बेलौरी नगरपालिका–९ की ३० वर्षीया बजलिया राना घाइते छन्। उनको गुलरियास्थित इशान अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।
यसै गरी, कैलारी गाउँपालिका–३ का ३२ वर्षीय धनीराम चौधरी र वडा नं ४ का ३४ वर्षीय कृष्ण चौधरी चट्याङ लागेर घाइते भएका छन्। खेतमा काम गरिरहेका वेला उनीहरूलाई चट्याङ लागेको प्रहरीले जनाएको छ। दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए।