संस्कृति सुहाउँदो विकासको खाँचो
सात सय ५३ वटै पालिकाले बनाउने विकास पूर्वाधारहरू स्थानीय संस्कृति–अनुकूल भए/नभएकोतर्फ ध्यान दिन आवश्यक छ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा काठमाडौं उपत्यकाका ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर बनाउने घोषणा गरेको छ। सरकारले यसअघि पनि ठाउँ ठाउँमा आकाशे पुल बनाइसकेको छ। काठमाडौं जात्रा नै जात्राको शहर हो।
भर्खरै रातो मच्छेन्द्रनाथको रथयात्रा समापन भएको छ। यहाँका जात्राहरूको विशेषता नै रथयात्रासित जोडिएको छ। यहाँका सभ्यता र संस्कृति विश्वमै प्राचीन र मौलिक मानिन्छन्। कला, संस्कृति र सम्पदाले भरिपूर्ण काठमाडौंमा विश्व सम्पदामा सूचीकृत सातवटा स्थल छन्।
विकासको बाढी
अहिले विकासका नाममा थुप्रै परियोजना र कार्यक्रम देशैभरि सञ्चालनमा छन्। तीन तहका सरकार, भएभरका सबै गैरसरकारी, निजी क्षेत्रदेखि अन्तर्राष्ट्रिय विकास साझेदारहरू विकासकै दौडमा छन्। तर, विकासका नाममा हामीले पश्चिमा शैलीको नमूना आँखा चिम्लेर भित्र्याइरहेका छौं ।
हाम्रो समाज र संस्कृतिभन्दा भिन्न दुनियाँमा तयार पारिएका विकासका ढाँचाहरू जस्ताका त्यस्तै नक्कल गरिरहेका छौं । एउटा समाजको विकास मोडेल र अर्को समाजको मोडेल कसरी एउटै हुन सक्ला? भिन्न भिन्न समाज र संस्कृतिका विकासको ढाँचा पनि बेग्लाबेग्लै हुनेतर्फ कसैले विचार विमर्श गरेको सुनिंदैन। न त हाम्रा सरकार, विकासविद्, योजनाकार, नीति निर्माता र इन्जिनीयरहरूले सोचेका छन्।
अब यति विलम्ब भइसक्यो कि हाम्रा संस्कृति र समाज बाहिरबाट भित्र्याइएको विकासले क्षतविक्षत भइसके। बाहिरको विकास अनुदानसँगै विकासविद् र सोच पनि निर्बाध आयात भइरहेको सन्दर्भमा यसबारे गम्भीर समीक्षा गर्न आवश्यक छ।
विकास के हो?
विकासप्रतिको हाम्रो जुन बुझाइ छ, त्यो असाध्यै कमजोर छ। कालोपत्रे सडक बनाउनु, ठूला–ठूला भवन बनाउनु र रेलमार्ग बनाउनुलाई मात्रै विकास ठानिरहेका छौं। गाउँको भुटेको मकैको ठाउँमा ‘पपकर्न’ खान पाउनुलाई विकास मान्छौं। कोदोे, फापर, गहुँ र मकैको रोटी पन्छाएर चाउचाउ, चाउमिन जस्ता बजारिया वस्तु भान्सामा पुर्याउँछौं। कल, इनार सुकेर गएपछि करोडौं लगानी गरेर बनाइने ओभरहेड ट्याङ्कीको पानी धारामा खान पाउनुलाई विकास सम्झन्छौं।
अब विकासको मानवकेन्द्रित परिभाषा बदल्नै पर्छ। प्रकृतिका सबै स्रोतसाधन मान्छेले दोहन गर्ने सोचलाई विकासको परिभाषाबाट हटाउन जरुरी छ। मान्छेलाई केन्द्रमा राखेर बनाइने योजना, परियोजना, कार्यक्रम र सुविधा विनिर्माण गरिनुपर्छ। प्रकृतिका सबै प्राणी, वनस्पति, जीवजन्तु र पर्यावरण मान्छेकै लागि हुन् भन्ने सोच नबदली हुँदैन।
विकासलाई नवीन दृष्टिकोणबाट परिभाषित गर्न अत्यावश्यक नै भइसक्यो। विकास भनेको मान्छे, समाज, संस्कृति र पर्यावरणको पारस्परिक सम्बन्धलाई घनिष्ठ बनाउँदै सन्तुलन कायम गरी जीवनलाई सरल र सुविधायुक्त बनाउनु हो। यहाँ त मान्छेको जीवनलाई सुविधामुखी बनाउन समाज, संस्कृति र पर्यावरणको विनाश गरी निर्माण गरिने पूर्वाधारहरूलाई विकासका रूपमा व्याख्या गरिएको पाइन्छ।
संस्कृति–विकास सम्बन्ध
संस्कृति भनेको समाजले लामो समय अभ्यास गरेर जीवनशैलीबाट निर्माण गरेको सम्पत्ति हो। जङ्गल र मानवीय बस्तीलाई अलग बनाउने रेखा नै संस्कृति हो। मान्छे सांस्कृतिक प्राणी हो। संस्कृति विना मान्छे जैविक प्राणी मात्रै हुन्छ। काठमाडौंमा वर्षभरि नै विभिन्न जात्रा हुन्छन्। रथयात्राहरू विभिन्न स्थानमा लगेर सांस्कृतिक विधि पूरा गरी मनाइने गरिन्छ। अहिले बनेका आकाशे पुल र बन्नेवाला फ्लाइओभरले शहर भरिएपछि रथयात्रा कसरी सम्भव होला? अग्ला अग्ला रथलाई शहरका विभिन्न ठाउँ लैजान अहिलेका आकाशे पुलले बाधा गरिरहेका छन्। अब बन्ने फ्लाइओभरले पनि व्यवधान सिर्जना गर्न सक्छन्।
विश्वको हरेक शहरको आफ्नै संस्कृति र इतिहास छ। तर, बढ्दो संस्कृति विरोधी विकास पूर्वाधारहरूले परम्परागत संस्कृतिलाई निरुत्साहन गर्दै छन्। विकासका पूर्वाधारहरूले संस्कृतिलाई प्रोत्साहन गर्नुपर्नेमा निषेध गर्दै जाने परिस्थिति बन्दै छ। जात्रोत्सव मनाइरहने काठमाडौंलाई थप व्यापक र प्रभावकारी बनाउनु साटो नवनिर्मित पूर्वाधारहरूले अझ सङ्कुचित पार्दै छन्।
गाउँघरमा बनेका सडकले पनि सिमेभूमे पूजा गरिंदै आएका स्थलको विनाश गरे। इन्जिनीयरहरूले सडकको नक्शा बनाउँदा नक्शाङ्कनलाई मात्र ध्यान दिने र स्थानीय संस्कृतिलाई महत्त्व नदिने परिपाटीले गर्दा हाम्रा थुप्रै सिमेभूमे, सांस्कृतिक र पुरातात्त्विक स्थल मासिंदै गए। आफ्ना पितापुर्खाका सम्झनामा बनाइएका छ्योर्तेन र स्मारक पनि बाटोका नाममा भत्काइए।
भौतिक पूर्वाधार निर्माणलाई नै विकास मान्ने मानसिकताले सामाजिक जमघटका सार्वजनिक थलो उजाडिए। गाउँघरमा उहिल्यैदेखि रहेका वरपीपल, शमी चौताराहरू सखाप पारिए। पानीका मूल मासिए। विकासका नाममा बनेका भौतिक पूर्वाधारले गाउँलाई खोक्रो बनाउँदै लगिरहेका छन्। पानीका मूल सुक्दा बस्तीबस्ती काकाकुल बन्दै छन्।
हाम्रा सिभिल इन्जिनियरलाई संस्कृतिको महत्त्व बुझाउन आवश्यक छ। ‘लिबरल आर्ट्स’ पनि समाहित गरेर पाठ्यक्रमबाटै प्रशिक्षित र दीक्षित गर्न सके केही हदसम्म राहत मिल्थ्यो। गाउँमा जति जति आधुनिक संरचना निर्माण हुँदै गए, त्यति नै रैथाने संस्कृति कमजोर बन्दै छ। अहिले गाउँ गाउँमा मल, मार्ट बन्ने होड चलिरहेछ। विदेशी शैलीका भवन निर्माणले नेपालको कुनै गाउँ मौलिक जस्तो देखिंदैन।
मौलिक वास्तुकला लोप हुँदै गइरहेछ। भवन निर्माणमा अपनाइने वास्तुकला पनि विदेशतिरबाट टपक्क टिपेर ल्याइन थालेको छ। काठमाडौंले बाहिरी विश्वको विकासको नक्कल गर्ने र त्यसको नक्कल हाम्रा सबै जिल्लाले गर्ने परिपाटी हावी भएकाले अहिलेका संरचनाले स्थानीय संस्कृतिलाई अलिकति पनि टेवा दिएका छैनन्। समाज विकासको आफ्नै मोडेल बनाउने विचारको खडेरी छ हामीकहाँ।
कुनै पनि समाजको विकासको मोडेल मौलिक हुनुपर्छ। पूर्वाधार विकासका मोडेलहरू सम्बन्धित समाजको संस्कृति, इतिहास, वास्तुकला, जीवनशैली, सामाजिक अवस्था र सांस्कृतिक अभ्यासहरूले निर्धारण गर्छन्। हाम्रो जस्तो अलग्गै सभ्यता भएको देशको विकासको मोडेलबारे यहाँका समाजशास्त्री, मानवशास्त्री, अर्थविद्, इन्जिनीयर, योजनाकार, संस्कृतिविद् र इतिहासविद्हरूले साझा रूपमा चिन्तन गर्न आवश्यक छ।
सिभिल इन्जिनीयर मात्रै विकास पूर्वाधार निर्माणमा निर्णायक हुँदा अहिले थुप्रै समस्या उत्पन्न भएका छन्। जुन देशको राजधानीमा जात्रापर्व नै हुँदैन, रथयात्रोत्सव गर्नु पर्दैन, त्यस्ता देशमा आकाशे पुल र फ्लाइओभर जस्ता भौतिक संरचनाले केही फरक पर्दैन। तर, काठमाडौंले बेग्लै तरीकाले सोच्नुपर्छ।
काठमाडौं जस्ता शहरहरूले देशभरिकै जनसङ्ख्या त्यहीं थुपार्ने नीतिमा आमूल परिवर्तन ल्याउनै पर्छ। ठूला शहरले अनावश्यक रूपमा मान्छे थुपार्दा जनजीवन निस्सासिने अवस्थामा छ। मान्छे किन काठमाडौं आउन चाहन्छन्, ती कारणलाई निवारण गर्ने, विकास पूर्वाधार, न्यूनतम सेवासुविधा आफ्नै शहर र गाउँघरमा पाउने बनाउन सके धेरै मान्छे उतै बस्थे। उदाहरणका लागि, राम्रा स्वास्थ्योपचार केन्द्र, पढ्ने राम्रा शैक्षिक संस्था हुन सक्छन्।
काठमाडौंले जनघनत्व कम गर्ने उपाय निकाल्दै गए संस्कृति अनुकूल विकास पूर्वाधारहरूमा काम गर्न सजिलो हुनेछ। गाउँलाई शहर बनाउने होइन कि शहरको ग्रामीणीकरण हुनुपर्छ। गाउँमा सामाजिक कार्यहरू, जस्तै– विवाह, पास्नी, छेवर, किरियामा सबै गाउँले मिलेर काम फत्ते गर्छन्, तर शहरमा अचेल पार्टी प्यालेसमा गरिने भद्दा भोजभतेरले सामाजिक सहभागिता कमजोर बनाउँदै छ। त्यही प्रवृत्ति गाउँमा सङ्क्रमण हुन थालेको छ।
गाउँमा पाइने सामाजिक र सहयोगी गुणहरूलाई शहरमा भित्र्याइनुपर्छ। अहिलेको विश्वमा एकोहोरो रूपले गाउँको शहरीकरण मात्रै भइरह्यो। विकास पनि आयात मोडेलमा हुन थालेकाले संस्कृति प्रतिकूल विकास पूर्वाधारहरू बन्दै छन्। यस्तै चाल रहे बढ्दो भीडभाड र संस्कृति प्रतिकूल विकास पूर्वाधारहरूले हाम्रा शहर र गाउँलाई कुनै दिन खर्लप्पै निल्नेछ।
सात सय ५३ वटै पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले विकास पूर्वाधार निर्माण गर्दा आफ्नो स्थानविशेषको संस्कृति अनुकूल बनाउने विषयलाई विशेष प्राथमिकता दिनु आवश्यक छ। सबै पालिका र प्रदेशले अहिले नीति तथा कार्यक्रम र बजेट बनाउँदै गरेको परिप्रेक्ष्यमा संस्कृति अनुकूल विकास पूर्वाधार निर्माणमा ध्यान पुर्याऊन्।
थिङ नीति अनुसन्धान प्रतिष्ठानमा विज्ञका रूपमा आबद्ध छन्।