‘रिमझिम बरसै बदरिया...’
तराईका आदिवासी जाति तथा विभिन्न भाषीका कृषि गीत हराउँदै जाँदा परम्परागत कृषि ज्ञान नै जोखिममा परेको छ।
धान रोपाइँको वेला विभिन्न जातजातिले गाउने मौलिक गीत र भाकाहरू छन्। तर, समयसँगै यस्ता कतिपय रोपाइँ तथा कृषि गीत हराउँदै गएका छन्। आधुनिक कृषियन्त्रको प्रयोग, मिश्रित सामाजिक संरचना, बसाइँसराइ, अन्तरजातीय विवाह लगायत कारणले यी गीत ओझेलमा परिरहेका छन्।
तराईका आदिवासी समुदायका कृषि गीत पनि धेरै छन्। यस लेखमा तराईवासी विभिन्न जातजाति र भाषीको कृषि गीतबारे चर्चा गरिएको छ।
मैथिली समाजको ‘कजरी’
नेपालीपछिको दोस्रो ठूलो भाषा मैथिलीमा कृषि गीत प्रशस्त छन्। संस्कृतिविद् रामदयाल राकेशका अनुसार, मैथिल समाजमा कजरी गीत लोकप्रिय छ। रोपाइँका क्रममा महिलाहरू प्रवासमा रहेका प्रियतमको सम्झनामा कजरी गीत गाउँछन्। यस्तै, सीमापारिको माइती जान लागेकी श्रीमतीलाई पुरुषले मौसम र बाटोको अवस्था बताएको गीतले भन्छः
कइसे खेले गइहौ सावनमे कजरिया
बहरिया घिरि आइ सजनी
कइसे जइबो अब यमुना डगरिया
नजरिया छिपी जाइ ननद।
अर्थात्, बादल मडारिएको छ, यमुना नदीमा बाढी उर्लिएको छ, कसरी जान्छौ र कजरी खेल्छौ?
रोपाइँ गर्दा भगवान् पशुपतिलाई सम्झिँदै किसानले आफ्नो गरीबीको बह पनि पोख्छन्ः
हे बाबा हम रोपै छुपछुप धान
पशुपति तो छह पशु केरे मालिक
हम छी गरीब किसान हो बाबा।
धान काट्दा विभिन्न धानको वर्णन गर्दै काटेर चाँडै खल्यानमा ल्याउने, चिउरा बनाउने लगायत प्रसङ्गका गीतहरू पनि मैथिली समाजमा छन्।
थारू समुदायको ‘सजना’
थारू समाजमा रोपाइँ सम्बन्धी सजना गीत प्रचलित छ। किसानहरू खेतीका लागि व्यस्त हुन थाल्दा सजना गीतको रागले खेत नै सङ्गीतमय हुन्छ। रोपाइँ गर्ने समय भइसक्दा पनि पानी नपरेपछि किसानमा छाउने चिन्ता गीतमा पोखिन्छः
हरे पुरुबेसे उमरल कारि रि बडरिया रे, पछिउ चुलि जावै,
अरि परि गैला, जेठ, असरिया, पनिया नहि बर्सल।
अर्थात्, पूर्वबाट कालो बादल मडारियो र पश्चिममा गएर बिलायो, जेठ/असार लाग्दा पनि पानी परेन। उता, पानी नपरेर खेती गर्न नपाएका किसानलाई दुःखी देखेर उनकी जवान छोरी पनि बिलौना पोख्छिन्ः
हरे गिउरक बिनल झलुरि छटरिया रे, उपरे पावोन डोलै
अरि छि छि बुन्डा पनिया न परल, मोर चुन्डरि नै भिजल।
(भँगेराले बनाएको छटरी (गाउँले छाता) माथि–माथि हावा चल्यो। एक थोपा पनि पानी परेन, मेरो त चुनरी नै भिजेन।)
थारू किसानहरूले गोरु–गैया बेह्रना (गोरु–गाई बन्दी बनाउने) संस्कृति अन्तर्गत सजना गाएर पानी पार्न पनि बिन्तीभाउ गर्छन्। यसमा केटीहरू केटाको लुगा लगाई छाता ओढेर गाउँ डुल्दै गीत गाउँछन्ः
उत्तरे डखिने चुरवा चम्के रे, कि बिजलि टोँरगन
काटि ढर्बु रैनि मछरिया कि मेघवा बाबा पानि डेउ।
(उत्तर–दक्षिण बिजुली चम्कियो, चुरा पनि चम्कियो। बरु रैनी माछा काटेर चढाउँला, मेघवा बाबा (भ्यागुता) पानी पारिदेऊ।)
पुरुष नभएको घरकी महिला खेतीको याममा पानी परे पनि खुशी हुन सक्दिनन्। परदेशमा रहेका श्रीमान्को यादमा उनी व्याकुल हुन्छिन्ः
सावन सजनी बरसे झिन बुँडिया रे, टुटे बजरा केवरियाँ
अरे रानी भिजै रंगि रे महलिया, पिहा हो परुडेसे।
अर्थात्, साउनमा वर्षाले भिजाएर, हावाहुरी चलेर जाडो भएको वेला रानीको राजा साथमा हुनुपर्ने हो, तर परदेशमा छन्।
उता बिहे भएर टाढा पुगेकी छोरी चाडपर्वमा आफूलाई माइतीबाट लिन आउने कोही पनि नदेखेर सजना मार्फत विरह प्रकट गर्छेः
बाबा बटाँ पुर्खा पुरनिया रे, भैया बा छोटि
डाडु बटाँ आनेक घर हरोहिया, के रे लेहे आइ?
(चाडपर्व आइसक्यो। माइतीका मान्छे लिन आउनुपर्ने हो। तर, बुबा बूढा भइसके, भाइ सानै छ, दाजु अरूको घरमा कमैया छ। मलाई लिन को नै आउला र?)
भोजपुरी समाजमा बिरहा, बिरहनी
खेतीपातीको गीत अन्तर्गत भोजपुरी समाजमा बिरहा, बिरहनी निकै लोकप्रिय छ। उखरमाउलो गर्मीमा पहिलो वर्षात् भएपछि प्रायः बिरहनी गीत गाइन्छ। त्यसैले पहिलो वर्षालाई भोजपुरीमा बिरहिनिया पानी समेत भनिन्छ।
ननदी झगरवा कइली पिया परदेश गइले
किया हो रामा भउजी रोएली छतिया फार नु रेकी।
(नन्दले झगडा गर्दा उनका पति विदेशिए। यहाँ भाउजूको बेहाल छ, उनी छाती पिटीपिटी रोइरहेकी छन्।)
अध्येता गोपाल ठाकुरका अनुसार, भोजपुरी समाजमा गाइने बरमासा गीत बाह्रैमास गाइने गीत जस्तो लाग्छ। तर, यो गीत ग्रीष्म ऋतुको उत्तरार्द्ध मा वर्षात् शुरू भएपछि बढी गाइन्छ। बरमासामा प्रेम र विरहको प्रसङ्ग बढी हुन्छ।
बाव बहे पुरबइया हे ननदी, रिमिझिमी बरसले मेघ हे
सबके बलमुआ हो घरे घरे सुतल हमर बलमु परदेश हे।
बाव बहे पुरबइया हे ननदी, गोइठीमे सुनुगले आग हे
जरिए से पिआ मोरा हुँकवा सवादले, जरी गइले कोमल करेज हे।
(वर्षात्को वेला सबैका खसम घरमै छन्, मेरा चाहिं परदेशमा छन्। ए मेरी नन्द, पहिला मेरा पतिले हुक्काको कति स्वाद लिन्थे, उनलाई सम्झिएर मेरो मुटु जल्छ।)
भोजपुरी समाजमा साउनमा कजरी गीत गाइन्छ। साउनमा गाइने भएकाले यसमा वर्षात्कै वर्णन हुन्छ। ठाकुरका अनुसार, कृषिकर्म गर्नेहरू झिसमिसेमै उठ्ने भए पनि सुतेकाहरूलाई बिउँझाएर नित्यकर्मतिर आकर्षित गराउने पराती गीत पनि हुन्छ। त्यस्तै, झुमरा गीत विशेषतः खेतबाट काम गरेर फर्किने क्रममा गाइन्छ। त्यसैले यसलाई बाटगायन पनि भनिन्छ।
अवधी समाजमा रोपाइँ गीत
अवधी भाषी कवि हंसावती कुर्मीका अनुसार, अवधी समाजमा पनि रोपाइँ गीत निकै लोकप्रिय छ। वर्षा ऋतुमा गाइने हरेक गीतमा त्यस समयको मौसम, जीवजन्तु लगायतलाई सम्बोधन गरिएको पाइन्छ।
हरे रामा सावन रैनि अँधियारी,
बदरिया छायी रे अँधियारी रे हारी
हरे रामा शितली बयरिया डोलै
उता बेल पर कोयलिया बोलै।
रोपाइँको मुख्य महीना साउनको वर्णन गरिएको यस गीतमा कालो बादल, शीतल हावा अनि बेलको रूखमा कोइलीले कुहुकुहु गरेको प्रसङ्ग छ।
घरमा बच्चा छाडेर रोपाइँ गर्न खेत गएको समयमा मेघगर्जन सहित घनघोर वर्षा भएपछि आमाको मन काममा भन्दा बच्चातिर गएको मनोदशा बोकेको गीत पनि छः
रिमझिम बरसै बदरिया
भिजै सगरिउ बाबा कै नगरिया
रहि–रहिकै बदरा गरजै,
रुकि–रुकिकै जियरा लरजै
घरे मोर ललनवा थम्हि–थम्हिकै तरसै।
रोपाइँको काम जति कष्टप्रद हुन्छ, राम्रो उब्जनी हुने विश्वासमा किसान परिवार त्यति नै हर्षित बन्छन्। खेतीको उत्पादनसँग जोडेर समाजका बूढापाका भन्छन् पनि– साउनको एक महीना एघार महीना बराबर हुन्छ।
उराँव समुदायको असारे गीत
उराँव समुदायको असारे गीतले प्रकृतिमा सबै जीवको अस्तित्व जरुरी रहेको दर्शाउँछ। अध्येता बेचन उराँवका अनुसार, पानी नपरेमा महिला र पुरुषले पालैपालो असारे गीत गाउँछन्।
महिला (मुक्कर): एन्देरगे महरा तिरियो ऊरदय
पुरुष (मेत्तर): गाय मला मिनी ई लेके तिरियो ऊरदन
महिला (मुक्कर): एन्देरगे गाय मला मिन्दी
पुरुष (मेत्तर): घाँसी मला खुरी ई लेके मला मेन्नेन
यो गीत लामो छ। गीतको भाव छः
ए महरा किन बाँसुरी बजाउँछौ?
गाईले घाँस चर्दैन, अनि बाँसुरी बजाउँछु।
गाई, किन घाँस चर्दिनौ?
घाँस पलाएको छैन, त्यसैले चर्दिनँ।
घाँस, किन पलाउँदिनौ?
पानी पर्दैन, त्यसैले पलाउँदिनँ।
पानी, किन पर्दिनौ?
भ्यागुता गीत गाउँदैन, त्यसैले पर्दिनँ।
भ्यागुता, किन गीत गाउँदैनौ?
ढोडिया सर्पले खान्छ, त्यसैले गाउँदिनँ।
गाउँका नेङ्ग (अगुवा) बाट रोपाइँ गीतको शुरूआत हुन्छ। ब्याडबाट बेर्ना उखेल्ने वेला ‘भया रे’ थेगो सहित गीत यसरी गाइन्छः
ककडो गोहला उइया लगी भया रे
धमेना नेर्र चौकी चुगा लगी रे
डोन्डो नेर्र बिडा चडई भया रे
बकला इदई रोपा भया रे
मुखा रे पाडी डन्डी भया रे।
अर्थात्, गँगटाले खेत जोत्न लाग्यो। धामन सर्पले चौकी लगाउन लाग्यो, ढोडिया सर्पले ब्याड बोक्न थाल्यो, बकुल्लाले रोपाइँ गर्न लाग्यो, भ्यागुताले गीत गाउन थाल्यो। यो गीतले मानिसलाई आवश्यक पर्ने हरेक कुरामा प्रकृतिका जीवजन्तुको योगदान हुने भाव समेटेको छ।
कुमाल समुदायको बाली गीत
कुमाल समुदायमा रोपाइँको मैया रानी, बाली गीत निकै लोकप्रिय छ। अध्येता तिलक कुमालका अनुसार, रोपाइँ अगाडि खेतका धनीले खेतमा सिमे, भूमे, नाग, भँगेर, भूतप्रेतको पूजा गर्न तोकिएको थानमा खेतालाका लागि लगेको खानेकुरा चढाउँछन्। धूप, रातो र सेतो ध्वजा, भेटी र अक्षता पनि अर्पण गरिन्छ। धान प्रशस्त फलोस्, खेत र धानको रक्षा गर्नू परमेश्वरी भनी पूजा गरेपछि खेतधनीले ‘लौ है रोपाइँ र बाली गीत शुरू गरौं’ भन्दै रोपाइँको मेलो थालनी गरिदिन्छन्। यसपछि बाली गीत गाउँदै रोपाहारहरूले रोप्न शुरू गर्छन्।
सबैले समयको महत्त्व थाहा पाउनुपर्ने भाव रोपाइँ गीतमा पाइन्छ। यस्तै, आम नेपालीको असार १५ को प्रसङ्ग कुमाल समुदायको रोपाइँ गीतमा पनि छ।
दाउन्ने रए देवी र देउता, सिरइमा चन्द्रमा
आहै सिरइमा चन्द्रमा
माना रोपेर मुरी फलाउनी, असारे पन्ध्रमा
आहै असारे पन्ध्रमा,
लेकइक पइँ हो, कहो तु सइँ हो
असारे पन्ध्रमा, आहै असारे पन्ध्रमा।
पुस्तान्तरण नहुँदा जोखिममा
तराईका दनुवार, दराई, किसान लगायत समुदायमा पहिले कृषि गीत रहेको तर अहिले लोप भइसकेको ती समुदायका अध्येताहरू बताउँछन्। गाउन जान्ने पुराना पुस्ता बितेसँगै ती गीत उनीहरूसँगै हराएका हुन्। मैथिली, भोजपुरी, बज्जिका अवधी भाषी तथा थारू, उराँव, ताजपुरिया लगायत विभिन्न जाति, भाषीमा भने रोपाइँका केही गीत अस्तित्वमा छन्।
गीतहरू प्रायः बादल, वर्षा लगायत प्रकृतिसँग सम्बन्धित छन्। खेत जोत्दा, धान रोप्दा र गोड्दादेखि पानी पार्न अनुनय गरिएका गीत प्रचलित छन्। पानी पार्न भ्यागुताको पूजा गर्ने चलन धेरै समुदायमा देखिन्छ।
खेती प्रणालीमा आधुनिकताको प्रवेशले रोपाइँ गीत पुस्तान्तरण हुन सकेको छैन। सम्बन्धित समुदायका अगुवा र सङ्घ/संस्थाहरूले यी गीत संरक्षण गर्न पहल नगर्दा खेतीपाती सम्बन्धी पूजाआजा त लोप भइरहेकै छ, समग्रमा कृषि ज्ञान नै लोप हुने जोखिममा छ।
(लोकसंस्कृतिका अध्येता सर्वहारीले ‘थारू संस्कृतिमा कृष्णचरित्र परम्पराको अध्धययन’ विषयमा विद्यावारिधि गरेका छन्। हिमालको २०७९ असार अङ्कबाट।)