नेपालमा डुबान हुने गरी संरचना नबनाउन भारतलाई पत्राचार
नेपालमा डुबान हुने गरी सीमा क्षेत्रमा भौतिक संरचना नबनाउन भारतलाई पत्राचार गरिएको छ।
नेपाल-भारत सीमा क्षेत्रमा भारतले निर्माण गरेका संरचनाका कारण तराई-मधेशका विभिन्न क्षेत्रमा डुबान हुने गरेको छ। वर्षा याममा तराई-मधेश डुबानको समस्या झन बढ्ने गरेको छ।
यसलाई ध्यानमा राखेर सीमा क्षेत्रमा डुबानको समस्या हुने गरी संरचना नबनाउन भारतलाई पत्राचार गरिएको परराष्ट्र मन्त्री नारायण खड्काले बताएका छन्। सोमबार राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले सीमा क्षेत्रमा हुने डुबानका विषयमा चालिएका कदमबारे जानकारी दिएका हुन्।
“नेपालको भारतसँग सीमा क्षेत्रमा डुबानको समस्या रहेको छ,” मन्त्री खड्काले भने, “खास गरी नेपाल-भारत सीमाका विभिन्न ठाउँहरूमा डुबान समस्या पर्ने गरी एकतर्फी रूपमा अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भौतिक संरचना निर्माण नगर्न तथा अन्तर्राष्ट्रिय सीमाको मापदण्ड बमोजिम हुने गरी मात्र त्यस्ता निर्माण कार्य गर्न, साथै पूर्व सहमति विना तथा मापदण्ड विपरीत गरिएका कार्य रोक्नका लागि भारतलाई आग्रह गरिएको छ।”
यससँगै सीमा क्षेत्रका समस्या सुल्झाउन दुई देशको ‘बाउन्ड्री वर्किङ ग्रूप’ को बैठक बोलाउन पनि प्रस्ताव गरिएको उनले बताए। त्यस्तै, लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत नेपाल-भारत सीमा सम्बन्धी समस्या समाधान गर्न पनि कूटनीतिक प्रयास भइरहेको मन्त्री खड्काको भनाइ थियो।