सरल स्वभावका खरो बोल्ने मन्त्री
नवनियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरी खरो टिप्पणी गर्छन्। तर‚ नजिकबाट चिन्नेहरू भने उनलाई सरल स्वभाव व्यक्ति भन्छन्।
बुबा भगवतीप्रसादको प्रेरणाबाट राजनीतिमा लागेको बताउने मेटमणि कक्षा ८ मा पढ्दा नै नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियूबाट राजनीतिमा सक्रिय भएका हुन्।
“स्कूलमा पढ्दा ताका नै अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा सहभागी हुन्थें,” उनी भन्छन्, “तर‚ कक्षा ८ मा पढ्दा अनेरास्ववियूमा क्रियाशील भएँ।’
विद्यालयबाट नै राजनीति शुरू गरेका मेटमणि अनेरास्ववियूको जिल्ला सदस्य, जिल्ला कोषाध्यक्ष र केन्द्रीय सदस्य समेत भए। यस्तै‚ तत्कालीन एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेकपाको केन्द्रीय सदस्य र दाङको सहइन्चार्ज भएका थिए।
जिल्लामा परिचित भए पनि राष्ट्रिय स्तरमा उनको परिचय बनिसकेको थिएन। जब दाङ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा अत्यधिक मतले निर्वाचित भए, त्यसपछि राष्ट्रिय स्तरमा उनको चर्चा हुन थाल्यो। नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको गढ भत्काउने मेटमणि को हुन् भन्दै मिडियाले खोज्दै आए।
उनी मिडियामा अन्य पार्टीका नेताभन्दा आफ्नै पार्टीको नेताहरूको कडा आलोचना गर्थे। यसैले पनि उनलाई मिडियाले खोजिरहन्थ्यो।
संसद्मा समेत आफ्नै पार्टीको सरकार विरुद्ध बोल्थे। संसद्भित्र र बाहिर प्रतिपक्ष जस्तै बोल्न थालेपछि मेटमणि राजधानीका मिडियाको नजरमा परे। अन्तर्वार्ता दिन थाले।
मेटमणि कुनै वेला केपी शर्मा ओली र शंकर पोखरेलका विश्वासपात्रका रुपमा चिनिन्थे। तर, आफूलाई असहयोग गर्न थालेपछि उनी पोखरेलसँग टाढिए। यदपि‚ ओलीको साथमा भने उनी रहिरहे।
आठौं महाधिवेशनसम्म ओलीलाई साथ दिएका मेटमणि नवौं महाधिवेशनमा भने माधव नेपालको समूहमा पुगी नेपालकै प्यानलबाट केन्द्रीय सदस्यमा निर्वाचित भए। त्यसपछि उनी एमाले दाङ जिल्ला इन्चार्ज भए।
उनी इन्चार्ज रहेकै वेला २०७४ को स्थानीय तहको निर्वाचन भयो। यसअघिका निर्वाचनमा पार्टीले हार बेहोर्दै आएको दाङमा २०७४ को स्थानीय तहको निर्वाचनमा भने पहिलो स्थानमा आयो। यसको जस मेटमणिले पाए।
त्यसपछि २०७४ मै भएको प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र नं १ बाट उनले टिकट पाए। त्यस वेला एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेका थिए। मेटमणि अत्यधिक मतले विजयी भए।
माधव समूहमा लागेका मेटमणिले एमाले विभाजनका वेला माधवको साथ छाडेनन्। उनले प्रतिनिधि सभा सदस्य हीराचन्द्र केसीलाई लिएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन सहयोग गरे।
दाङको दुर्गम क्षेत्र गढवा गाउँपालिका-५ मानपुरमा २०२९ चैत १० गते जन्मिएका मेटमणिले अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनी एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्यको जिम्मेवारीमा छन्।