इलाममा बोलेरो दुर्घटना, तीन यात्रुको मृत्यु
इलाममा आइतबार बोलेरो दुर्घटना हुँदा तीन यात्रुको मृत्यु भएको छ।
इलामको रबीबाट दमकतर्फ आउँदै गरेको मे.१ ज ४८७ नम्बरको बोलेरो अनियन्त्रित भएर सडकबाट दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, इलामका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाका अनुसार, माङ्सेबुङ–२ दहगाउँस्थित कच्ची सडकबाट खस्दा चालक बाहेक बोलेरोमा सवार सबै यात्रुको मृत्यु भएको हो।
मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ–५ की ६० वर्षीया पद्माकुमारी लावती, ६५ वर्षीय हिमप्रसाद लावती र इलामको माङ्सेबुङ–५ का जयराम राई छन्।
हिमप्रसाद र जयरामको घटनास्थलमै र पद्माकुमारीको अस्पताल लैजाने क्रममा मृत्यु भएको थापाले बताए। दुर्घटनामा सामान्य घाइते भएका चालक माङ्सेबुङ–३ का अनुप राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरू बोलेरो भाडामा लिएर झापाको दमकतर्फ जाँदै गरेका थिए। साँघुरो बाटो भएकाले दुर्घटना भएको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ।