नयाँ अनुहारलाई विकल्प बन्ने चुनौती
स्थानीय चुनावमा जित हासिल गरेका तथा आगामी संघीय र प्रदेशको चुनावमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका नयाँ अनुहार पुराना दलको विकल्प बन्छ नै भनेर ढुक्क हुने अवस्था छैन।
स्थानीय तहको निर्वाचन सकिएसँगै मुलुक संघ र प्रदेशको निर्वाचनको तयारीमा जुट्न थालेको छ। निर्वाचन आयोगले आगामी निर्वाचनको तयारीका लागि मतदाता नामावली सङ्कलन शुरू गरिसकेको छ।
यस्तो वेला प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने क्रम पनि शुरू भएको छ। स्थानीय तहको निर्वाचनमा दर्ज भएको स्वतन्त्र उम्मेदवारको जितले संघीय निर्वाचनका लागि उम्मेदवारीको घोषणा गर्न विभिन्न पेशा तथा व्यवसायमा क्रियाशील व्यक्तिहरूलाई हौस्याएको छ।
कतिपयले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् भने कतिपय नयाँ दल दर्ताको प्रक्रियामा जुटेका छन्। वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गर्ने प्रयास हुन थालेका छन्। अहिले राजनीतिक दलप्रति देखिएको असन्तुष्टिका कारण नयाँ दल वा स्वतन्त्र उम्मेदवारले मत पाउने विश्वास गरिरहेका छन्।
यसको सङ्केत केही हदसम्म स्थानीय तहको निर्वाचनमा पनि देखिएको छ। काठमाडौं महानगरपालिका सहित केही उपमहानगर र नगरपालिकामा स्वतन्त्र उम्मेदवारको जितलाई राजनीतिक दलप्रतिको वितृष्णाका रूपमा अर्थ्याउने गरिएको छ।
त्यसैले वैकल्पिक शक्तिका विषयमा चर्चा हुन थालेको छ। पुराना राजनीतिक दल असफल भएकाले नयाँ दल आउनुपर्ने विश्लेषण गरिंदै छ।
अघि सर्दै युवा
निर्वाचन आयोगले आगामी कात्तिक-मंसीरमा निर्वाचन गर्ने तयारी गरिरहेको छ। निर्वाचनको तयारी चलिरहँदा काठमाडौं क्षेत्र नं ५ अहिले नै चर्चामा आउन थालेको छ।
आगामी निर्वाचनमा दुई युवा रञ्जु दर्शना र मानुषी यमी भट्टराईले उम्मेदवारी घोषणा नै गरिसकेका छन्। दुवैले काठमाडौं निर्वाचन क्षेत्र नं ५ बाट चुनाव लड्ने तयारी गरेका छन्।
यो क्षेत्रबाट २०७४ सालको निर्वाचनमा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिस्पर्धा गरेका थिए। त्यही निर्वाचन क्षेत्रबाट आगामी प्रतिनिधि सभाको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट भट्टराईले प्रतिस्पर्धा गर्ने भएकी छिन् भने दर्शना स्वतन्त्र उम्मेदवार बन्न लागेकी हुन्।
पार्टी र युवाबाट उम्मेदवार बन्न प्रस्ताव आएपछि आफू काठमाडौं क्षेत्र नं ५ बाट संघीय संसद्को निर्वाचनमा उम्मेदवार बन्न तयार भएको भट्टराईले बताइन्।
दर्शनाले भने २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेकी थिइन्। उनले २३ हजार ४३९ मत ल्याएकी थिइन्। यस पटक भने उनले स्थानीय सरकार छोडेर केन्द्र रोज्न लागेकी छन्।
विवेकशील साझा पार्टी अहिले सग्लो छैन। पार्टीमा आएको फूटका कारण स्थानीय तहको चुनावअघि दर्शना लगायत नेता बाहिरिएका छन्। उनीहरू स्वतन्त्रबाट उम्मेदवार बन्ने तयारीमा छन्।
त्यस्तै, युवा राजनीतिकर्मी पुकार बमले काठमाडौं क्षेत्र नंं १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी घोषणा गरिसकेका छन्। यसअघि विवेकशील साझा पार्टीमा आबद्ध उनले यस पटक स्वतन्त्र उम्मेदवारी दिने बताएका छन्। यस्तै, अन्य क्षेत्रमा पनि युवा प्रतिस्पर्धामा उत्रिने देखिएको छ।
विकल्प बन्न नसकेको विवेकशील साझा
पुराना पार्टी नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायत पार्टीको विकल्प भन्दै उज्ज्वल थापाको नेतृत्वमा नयाँ पार्टी विवेकशील नेपाली दल गठन भएको थियो। त्यस्तै, बीबीसी नेपाली सेवाबाट राजीनामा दिएर रवीन्द्र मिश्रले साझा पार्टी गठन गरेका थिए।
दुवै दलबीच एकीकरण भएर विवेकशील साझा पार्टी बनेको थियो। यो पार्टीमा दुई पटक फूट आइसकेको छ। पहिलो पटक पार्टी विभाजन भएपछि २०७६ सालमा विवेकशील नेपाली दलका अध्यक्ष थापाले मिलन पाण्डेलाई नेतृत्व हस्तान्तरण गरेका थिए। कोभिड-१९ को सङ्क्रमणका कारण गत वर्ष थापाको निधन भयो।
मिश्र र पाण्डेले फेरि पार्टी एकीकरण गरेका थिए। तर, पछिल्लो पटक गत पुस ६ गते अध्यक्ष मिश्रले संयोजक मिलन पाण्डेलाई साधारण सदस्य समेत नरहने गरी निष्कासित गरे। पाण्डेसँगै केही केन्द्रीय सदस्य पनि कारबाहीमा परे भने केही आफैं पार्टीबाट अलग भए।
स्थानीय तहको निर्वाचनमा विवेकशील साझा छिन्नभिन्न रूपमा सहभागी भयो। पार्टीले सम्मानजनक मत ल्याउन नसकेपछि अध्यक्ष मिश्रले राजीनामा दिएका छन्। उनले निराश हुँदै सामाजिक सञ्जालमा लेखेका थिए, “अब म खुइलिएँ। जसले मलाई प्रत्यक्ष भेटमा सीधै भनेका थिए, तपाईंलाई नखुइल्याई त मेरो/हाम्रो राजनीतिक अभीष्ट नै पूरा हुँदैन नि! अब म खुइलिएँ। तपाईं(हरू) को राजनीतिक अभिष्ट पूरा होस्। यो देश हाम्रै जीवनकालमा रूपान्तरण होस्। तपाईं(हरू) लाई शुभकामना छ!”
नयाँ विकल्पका रूपमा राजनीतिमा आएका मिश्रले केही वर्ष नबित्दै पार्टीभित्र र बाहिरबाट चुनौती सामना गर्नुपर्यो। स्थानीय चुनावमा पार्टीले सम्मानजनक मत पनि ल्याउन नसकेपछि वैकल्पिक पार्टीको रूपमा राजनीतिमा आएका मिश्रको चर्को आलोचना पनि भएको थियो।
उनले अध्यक्षबाट राजीनामा दिए पनि राजनीतिबाट भने अलग नभएको जनाएका छन्। असार १२ गते सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्, “राजनीतिको मेरो एउटै मात्र लक्ष्य भनेको यो देशको दूरगामी हित र दशकौंदेखि जसको नाममा राजनीति गरियो, तर जसलाई राजनीतिले कहिल्यै स्पर्शै गरेन तिनको जीवनको रूपान्तरण हो। ती दुई लक्ष्य हासिल गर्ने प्रयासबाट म विचलित भएको छैन।”
त्यस्तै, पाण्डे भने अहिले तटस्थ देखिएका छन्। स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारलाई सघाएका पाण्डे आगामी संघीय र प्रदेश सभाको चुनावका लागि पनि स्वतन्त्र उम्मेदवारका पक्षमा पैरवी गरिरहेका छन्।
रवि लामिछानेको प्रवेश
वैकल्पिक शक्ति निर्माण गर्ने लक्ष्य सहित पत्रकारिता छोडेर रवि लामिछाने पनि राजनीतिमा प्रवेश गरेका छन्। उनले असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन्। समर्थकको ठूलो उपस्थितिमा लामिछानेले अहिलेका राजनीतिक दलहरूसँग कुराकानी गरेको भए पनि आफू तिनमा जान नसकेकाले नयाँ पार्टी खोलेको बताएका छन्।
टेलिभिजन पत्रकारिताका माध्यमबाट ठूलो ‘फ्यान फलोइङ’ बनाएका लामिछानेले व्यवस्था परिवर्तन गर्न नभई जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको दाबी गरेका छन्। पार्टी घोषणा समारोहमा उनले भनेका थिए, “म यो पार्टीलाई युवाको पार्टी बनाउनेछु। केन्द्रीय सदस्य ५० प्रतिशत युवा हुनेछन्।”
निर्वाचन आयोगको कार्यालयमा पुगेर दल दर्ताको निवेदन दिइसकेका लामिछानेको राजनीतिक यात्राको विषयमा विभिन्न टीकाटिप्पणी भइरहेका छन्। कतिले पत्रकारितामा बोलेको भरमा पाएको ‘फ्यान फलोइङ’ राजनीतिमा काम नलाग्ने बताउँदै आएका छन् भने कतिपयले प्रशंसा पनि गरिरहेका छन्।
‘वैकल्पिक शक्ति बन्न मुश्किल’
वैकल्पिक शक्तिका रूपमा सामाजिक, प्रशासनिक, पत्रकारिता क्षेत्रमा क्रियाशील युवाको प्रवेश भए पनि अहिले नै त्यसले विकल्प दिन नसक्ने राजनीतिक विश्लेषक प्रा. लोकराज बराल बताउँछन्। निर्वाचन नजिकिंदै जाँदा स्वतन्त्रबाट विभिन्न व्यक्तिले उम्मेदवारी घोषणा गरे पनि अहिले नै नयाँ शक्तिको उदय भने हुन नसक्ने उनको भनाइ छ।
काठमाडौं महानगरमा बालेन्द्र साह, धरानमा हर्क साम्पाङ, धनगढीमा गोपाल हमाल, जनकपुरमा मनोज साह लगायत स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जितेका छन्। उनीहरूलाई विकल्पका रूपमा उभ्याउन थालिएको छ।
प्रा. बराल भने यसलाई सामान्य रूपमा लिनुपर्ने बताउँछन्। “निर्वाचनमा केही मान्छेले स्वतन्त्र रूपमा भाग लिएका हुन्छन्। विशेष गरी शहरी क्षेत्रहरूमा स्वतन्त्रबाट धेरै चुनाव उठ्ने गरेका हुन्छन्, केही ठाउँहरूमा जित पनि हासिल गरेका हुन्छन्। यो सामान्य कुरा हो,” प्रा. बराल भन्छन्।
उनी भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालको उदाहरण दिन्छन्। आम आदमी पार्टी गठन गरेर उनले चुनाव मात्रै जितेनन्, केही राम्रो काम पनि गरेका छन्। त्यस्तै, नेपालमा पनि गर्न खोजिएको भए पनि अहिलेसम्म सफल हुन नसकेको उनी बताउँछन्।
निर्वाचनमा केही सीटमा जीत हासिल गरे पनि अहिलेकै अवस्थामा वैकल्पिक शक्तिको उदय हुने सम्भावना भने न्यून रहेको उनको भनाइ छ। “एक-दुई वटा ठाउँमा नयाँ नतीजा आउन सक्छ, तर सधैं यस्तै रहन्छ, यिनीहरूले नै विकल्प दिन्छन् भन्न सकिने अवस्था छैन,” बराल भन्छन्।
विगतमा पनि वैकल्पिक शक्तिका लागि प्रयास भएको थियो। तर, अहिलेसम्मका केही प्रयास सफल हुन नसकेको उनी बताउँछन्। “देवेन्द्रराज पाण्डेले कोशिश गरेका थिए। बाबुराम भट्टराई, रवीन्द्र मिश्रले पनि कोशिश गरे। तर, सबै सफल भएनन्,” प्रा. बराल भन्छन्, “अझ सीके राउतले मधेशमा कोशिश गरे। उनले पनि केही ठाउँ बाहेक अन्यत्र जित्न सकेनन्।”
स्थानीय चुनावमा जस्तै संघ र प्रदेशको चुनावमा पनि केही ठाउँमा ‘पपुलर’ व्यक्तिले जित्न सक्ने उनी बताउँछन्। “राजनीतिक दलको असफलताले पनि स्वतन्त्रहरू जित्न सक्छन्,” उनी भन्छन्, “त्यसैलाई विकल्पका रूपमा लिन सकिंदैन। स्वतन्त्र र नयाँ पार्टी अहिले नै विकल्पका रूपमा उभिन्छन् भन्न सक्दिनँ।”