हवाई इन्धनको मूल्य घटाउन वायुसेवा सञ्चालकको माग
वायुसेवा सञ्चालकहरूले हवाई इन्धनको मूल्य घटाउन सरकारसँग माग गरेका छन्।
सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको तर हवाई इन्धनको मूल्य नघटाएकोमा ध्यानाकर्षण भएको वायुसेवा सञ्चालक संघले जनाएको छ। संघका प्रवक्ता योगराज कँडेल शर्माले आइतबार प्रेस विज्ञप्ति जारी गरी छिमेकी देशको तुलनामा महँगो भएको जनाएका छन्।
संघले भनेको छ, “अन्तर्राष्ट्रिय बजार बमोजिम आईओसीले निगमलाई रक्सौलमा उपलब्ध गराउने करमुक्त खरीद मूल्यमा सरकारको अत्यधिक राजश्व तथा निगमको अत्यधिक नाफाका कारण नेपालमा हवाई इन्धनको मूल्य छरछिमेकी मुलुकको तुलनामा निकै महँगो रहेको छ।”
हवाई सञ्चालनमा खर्चको ४० प्रतिशित इन्धनकै हिस्सा हुने संघले जनाएको छ। अन्य मुलुकमा इन्धनमा ५० प्रतिशत अनुदान दिने गरेको उल्लेख गर्दै संघले भनेको छ, “नेपालमा पनि हवाई तथा पर्यटन उद्योगलाई धराशायी हुनबाट बचाउन हवाई इन्धनको अस्वाभाविक मूल्यलाई विश्व बजारको मूल्यसँग समायोजन हुनु जरुरी रहेको छ।”