साहित्यकार घिमिरेको ‘साबिती’ नाटक मञ्चन हुँदै
साहित्यकार जगदीश घिमिरेको उपन्यास ‘साबिती’ आधारित भएर नाटक मञ्चन हुन लागेको छ।
थिएटर भिलेजले यही असार १७ देखि १९ गतेसम्म शिल्पी थिएटरमा ‘साबिती’ नाटक मञ्चन गर्न लागेको हो। विमल सुवेदीको डिजाइन र निर्देशनमा मञ्चन हुन लागेको नाटकको सहायक निर्देशन जेनी सुनुवार गरेकी छन्।
यसको मुख्य भूमिकामा चर्चित भारतीय रङ्गकर्मी अनुराधा मजुमदारले अभिनय गर्ने भएकी छन्। उनी यसको रिहर्सलमा जुटेकी छन्।
मूल कथा पुरुष पात्रको पक्षबाट लेखिएको भए पनि नाटकले महिला पात्रलाई केन्द्रमा राखी महिला पात्रलाई कसरी असमान सामाजिक संरचनाको कठघरामा उभ्याएको छ भन्ने पक्ष आफूलाई सबैभन्दा सुन्दर लागेको मजुमदार बताउँछिन्।
“महिला पात्र मार्फत नाटकले सामाजिक संरचनाले समानताको बाटो बिराउँदा वर्गीय, लैङ्गिक, सामाजिक, जातीय र आर्थिक जस्ता क्षेत्रमा पार्ने प्रत्यक्ष असरहरू केलाउँछ,” उनी भन्छिन्, “नाटकले शून्यवाद नजिक रहेर समाजलाई अनेक कोणबाट प्रश्नहरू गरेको छ।”
उनीसँगै यस नाटकमा सुजन वली र साजन कुमार सुनुवारको पनि अभिनय रहनेछ।
यो नाटक दोस्रो पटक मञ्चन हुन लागेको हो। यसअघि २०७० सालमा पहिलो पटक थिएटर भिलेजमै मञ्चन भएको थियो। हिन्दी भाषामा रूपान्तरण भएको यस नाटकलाई पुनः रूपान्तरण गरेर मञ्चन गर्न लागिएको हो। अहिले नेपाली रूपान्तरण विमल सुवेदी र सुरज सुवेदीले गरेका छन्।