शेयर बजारमा ठूलो सुधार, नेप्से ५.१० प्रतिशत बढ्यो
शेयर बजारमा आइतबार ठूलो उछाल आएको छ। लामो समयदेखि घटिरेहको शेयर बजार परिसूचक नेप्से ९४.९२ अङ्कले बढेको छ। यो ५.१० प्रतिशतको वृद्धि हो।
आइतबारको सुधारपछि नेप्से परिसूचक एक हजार ९५७ बिन्दुको हाराहारीमा उक्लिएको छ। धितोपत्र बोर्ड र आन्दोलनरत लगानीकर्ताबीच भएको सम्झौता तथा आगामी मौद्रिक नीति मार्फत शेयर बजार सम्बन्धी नीति लचिलो हुने चर्चाले लगानीकर्तालाई उत्साहित बनाएको अनुमान गरिएको छ।
साताको पहिलो दिन झण्डै चार दर्जन कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ। सबै १३ वटै समूहको परिसूचक बढेको छ।
लगानी समूह ८.८७ प्रतिशत, व्यापार समूह ७.७९ प्रतिशत, जलविद्युत् र वित्त ७.७ प्रतिशत, लघुवित्त ५.७६ प्रतिशतले बढेका छन्। सबैभन्दा थोरै ब्यांकिङ समूह २.६९ प्रतिशतले बढेको छ।
आइतबार २३० कम्पनीको रु.दुई अर्ब १९ करोड ६१ लाख बराबरको ५९० कित्ता शेयर किनबेच भयो। सबैभन्दा धेरै कुमारी ब्यांकको रु.आठ करोड ६४ मूल्य बराबरको शेयर कारोबार भयो।