गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित
संसद्मा गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगन भएको छ।
प्रतिनिधि सभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नीति अनुष्ठान प्रतिष्ठान विधेयक, २०७६ निर्णयार्थ पेश गर्न खोजेका थिए। त्यसमा नियमापत्ति गर्दै सांसद झपट रावलले गणपूरक सङ्ख्या नपुगेकाले निर्णयार्थ पेश गर्न नहुने मत राखेका थिए।
त्यसपछि सभामुख सापकोटाले सांसदको सङ्ख्या गणना गर्न लगाएका थिए। जसमा ६३ जना सांसद मात्रै उपस्थित थिए।
नेपालको संविधानको धारा ९४ अनुसार कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा एक तिहाइ सांसद उपस्थित हुनुपर्छ। जस अनुसार, ६९ जना आवश्यक पर्छन्।
प्रतिनिधि सभाको बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि सभामुख सापकोटाले बैठक स्थगन गरेका हुन्।
सभामुखले भने, “नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्नेमा तीन मिनेट घण्टी बजाई गणपूरक सङ्ख्या यकिन गर्दा हाल यो प्रस्ताव निर्णयार्थ पेश गर्न गणपूरक सङ्ख्या ६९ हुनुपर्नेमा हाल माननीय सदस्यहरूको सङ्ख्या ६३ भएकाले उक्त गणपूरक सङ्ख्या नपुग भएको देखिएकाले यो बैठक आजै आधा घण्टाका लागि स्थगित हुन्छ।”