तरकारी खेतीबाट डोलमायाले बदलेको गाउँ
तीन दशकदेखि माटोसँग खेल्न थालेकी डोलमाया खपाङ्गीको प्रेरणाले धनकुटा पाख्रीबास नगरपालिकाको कन्यापोखरी, रमिते र सान्ने क्षेत्रका धेरै स्थानीय व्यावसायिक तरकारी खेतीमा जुटेका छन्।
२०४७ सालमा तेह्रथुमको छथर सुदापबाट डोलमाया खपाङ्गी (५१) बिहे गरेर धनकुटाको पाख्रीबास नगरपालिका–२ कन्यापोखरीमा आउँदा त्यस क्षेत्रमा धान, मकै जस्ता परम्परागत बाली मात्र लगाइन्थ्यो। माइत जाँदा बाटोमा पर्ने सिंधुवा क्षेत्रमा बन्दाकोपीको व्यावसायिक खेती देख्थिन्। त्यसले उनलाई लोभ्याउँथ्यो।
अन्ततः एक दिन आफूले पनि तरकारी खेती गर्ने सुर कसिन्। तर, गाउँमा त्यस्तो सोच राख्ने उनी एक्ली थिइन्। परम्परागत बाली बाहेकको अभ्यास र कल्पना नै नगरेका गाउँलेहरूको बीचमा शुरूमा त हाँसोको पात्र बनिन्।
सामान्य परिवारमा जन्मिएकी सामान्य साक्षर महिलाले व्यावसायिक खेतीको कुरा गर्नु त्यस वेला चानचुने कुरो पनि थिएन। तर, हाँसो र खिसी छल्दै बिस्तारै उनले आफ्नो बारी हराभरा पार्न थालिन्।
गर्दै सिक्दै तरकारी फलाउन थालेपछि बजारसम्म पुर्याउनु पनि दुःखै थियो। मोटर बाटो नबनेका कारण गाउँबाट डोकोभरि तरकारी बोकेर पाख्रीबास बजार पुग्न दुई घण्टा हिंड्नुपर्थ्यो। उनी एक्लै बजार जान्थिन् र तरकारी बेचेर आवश्यक सरसामान बोकी साँझ घर फर्कन्थिन्।
“यो दुःख अहिले सम्झिँदा त ठूलै लाग्छ, तर डोको खाली भएपछि र हातमा रकम आएपछि सबै हैरानी भुल्थें,” उनले ती दिन सम्झिइन्।
कमजोर आर्थिक अवस्थाले पनि दुःख गर्न हिम्मत भरिदिएको थियो। तरकारी बिक्रीको कमाइले कसरी बढीभन्दा बढी उत्पादन गर्ने भनेर थप मिहिनेत गर्न ऊर्जा दिन्थ्यो।
एक्लै अघि बढ्दै जाँदा उनले बिस्तारै साथीहरू पनि पाउन थालिन्। आफ्नै अनुभवबाट तरकारी खेतीबारे स्थानीय महिलाहरूलाई सिकाउन थालिन्। सामान्य लेखपढ गर्न जाने पनि बोल्न र अरूलाई प्रेरित गर्न सक्ने उनको क्षमताले बिस्तारै अरूलाई व्यावसायिक तरकारी उत्पादनमा हौस्याउन थाल्यो। बिस्तारै बारीदेखि पाख्रीबास बजारसम्म तरकारी लिएर जानेहरूको लस्कर बढ्न थाल्यो।
कैयौं महिला आर्थिक पीडाका कारण तथा सुखसुविधाको खोजीमा थातथलो छोडेर शहर तथा तराईतिर झरिरहेको वेला डोलमायाले भने त्यस्तो सोच्नै परेन। तरकारी खेतीबाट हातमा पैसा नटुटेपछि उनीसँगै गाउँका अन्य महिलाको जीवन फेरिंदै गयो।
३१ वर्षयता तरकारी खेतीमा लागिरहेकी उनी गाउँकै लागि प्रेरणा बनेकी छन्। उनकै प्रयासले पूरै गाउँ तरकारीमय बनेको छ। उहाँको गाउँ कन्यापोखरीका साथै छिमेकका बस्ती रमिते र सान्नेमा गरी २०० परिवार तरकारी खेतीमा आबद्ध छन्।
तरकारी उत्पादनको उनको अभियानमा साना किसान सहकारी संस्था र केही गैरसरकारी संस्थाले सहयोग गरे। पाख्रीबास नगरपालिकाको कृषि शाखाकी प्रमुख इन्द्रमाया तामाङले खेतीको तालीम सहितका काममा सहयोग गरेकी थिइन्।
श्रीमान् र छोरालाई वैदेशिक रोजगारीबाट फर्काइन्
गाउँमा डोलमाया तरकारी खेती र साथीहरूलाई समेत उद्यमी बनाउने काममा जुटिरहँदा उनका श्रीमान् तुलाराम मगर वैदेशिक रोजगारीमा थिए। श्रीमतीलाई सघाएर देशमै कमाइ गर्ने सोचले सात महीनाअघि विदेशबाट फर्केका तुलारामले बारीमा माटो खेलाउन थालिसकेका छन्। उनकै पाइला पछ्याउँदै वैदेशिक रोजगारीमा गएका छोरा पदम पनि फेरि विदेश नजाने गरी भर्खरै फर्केका छन्।
तरकारी खेतीमा श्रीमान् र छोराको भरथेग पाउन थालेसँगै डोलमाया कामलाई थप विस्तार गर्ने योजना बुन्दै छिन्। अहिले उनले बारीमा इस्कुस, बन्दाकोपी, मुला, भान्टा, बेमौसमी रायो साग, धनियाँ र गोलभेडा लगाएकी छन्। उनको खेतीको सबैभन्दा आकर्षण र आधुनिक प्रविधि सिमसाग खेती हो। आफ्नै प्रविधिबाट विस्तार गरिएको सिमसाग उनले मासिक रूपमा २०० मुठासम्म बिक्री गर्छिन्।
उनका अनुसार, तरकारी खेतीबाट वार्षिक रु. तीन लाखसम्म कमाइ हुन्छ। आर्थिक अवस्था कमजोर रहेको अवस्थामा तरकारीबाट धेरथोर आम्दानीले जीवन धानिदिएको उनी बताउँछिन्। उनका अनुसार, तरकारीकै कमाइ र श्रीमान्ले वैदेशिक रोजगारीबाट ल्याएको पैसा थपेर मोरङको बेलबारीमा धान खेत जोडिसकेका छन्।
कृषिकर्म अघि बढाउनुका साथै उनी सामाजिक र राजनीतिक रूपमा पनि जोडिइन्। सामाजिक काममा सहभागी हुँदै आएकी उनी २०५४ सालको स्थानीय निर्वाचनमा वडा सदस्य बनेकी थिइन्।
तरकारी खेतीमा ३१ वर्षको अनुभवबाट उनले नयाँ सोच र योजना पनि सँगाल्न थालेकी छन्। पछिल्लो समय इस्कुसबारे अध्ययन गरेकी उनले अब इस्कुसको सामूहिक खेती गर्ने योजना बनाएकी छन्। इस्कुसको बेमौसमी खेती गर्न उनी सहित १२ घरपरिवार कस्सिएका छन्। चाँडै फल्ने बीउबाट छिटै राम्रो आम्दानी लिन सकिने भएपछि उनीहरू उत्साहित देखिएका छन्।
इस्कुसको बजारबारे सोध्दा उनले यसलाई विभिन्न रूपमा बिक्री गर्न सकिने बताइन्। उनका अनुसार, इस्कुसको मुन्टा, फल, जरा मात्रै होइन, यसको घाँस समेत बिक्री हुन्छ। व्यावसायिक समूहहरू बनाएर इस्कुसलाई पश्चिम नेपाल तथा खाडी मुलुकसम्म पुर्याउने उनको लक्ष्य छ। “इस्कुसको व्यावसायिक उत्पादन गर्न सके यसको बजार खाडी मुलुकमा समेत राम्रो रहेछ,” उनी भन्छिन्।
उनले उपलब्ध जग्गामा इस्कुसको चरणबद्ध खेती गर्ने योजना बनाएकी छन्। १२ घरपरिवारले शुरूमा तीन रोपनीको दरले ३६ रोपनी क्षेत्रमा आउँदो असोजदेखि बेमौसमी इस्कुस खेती गर्ने योजना छ। उनी भन्छिन्, “स्थानीयले आम्दानी लिने त छँदै छ, सामूहिक इस्कुस खेतीबाट पर्यटनको सम्भावना पनि भएकाले हामी हौसिएका छौं।”