सामान्य वर्षामै भासियो चार करोडको शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्क
चार करोड खर्च गरेर निर्माण गरिएको शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्क उद्घाटन भएको चार महीनामै भासिएको छ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल बजारको रत्नपार्कमा निर्माण गरिएको शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको पर्खाल र मैदान सामान्य वर्षामै भासिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नगरपालिकासँगको साझेदारीमा चार करोड ३७ लाख ८४ हजार ७५१ रुपैयाँको लागतमा शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको मैदान निर्माण गरेको थियो।
गत फागुन ३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तत्कालीन मेयर दीपनारायण रिजाल र उपमेयर विणादेवी राईले कम्प्लेक्स र चिल्ड्रेन पार्क उद्घाटन गरेका थिए। निर्माण कम्पनी उमा-लामा-अनशुबी जेभीले ठेक्का लिएको शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्क २०७८ जेठ ६ गते शिलान्यास गरिएको थियो।
शपिङ कम्प्लेक्सको तल्लो तलामा १४ वटा सटर र माथिल्लो तलामा रेस्टुरेन्ट हल, विभिन्न स्टल सञ्चालन गर्न मिल्ने संरचना बनाइएको छ। भाडा बापत मासिक न्यूनतम दुई लाख ९७ हजार राजस्व सङ्कलन गरिने जनाइएको थियो। एउटै छानामुनि नुनदेखि सुनसम्मका व्यवसाय सञ्चालन गर्ने सटर भाडामा उपलब्ध गराउने गरी शपिङ कम्प्लेक्स तयार पारिएको नगरपालिकाले जनाएको छ।
व्यावसायिक प्रयोजनका लागि निर्माण गरिएको शपिङ कम्प्लेक्सको माथिल्लो तलाको पछाडिपट्टि चिल्ड्रेन पार्क निर्माण गरिएको छ। चिल्ड्रेन पार्कको पर्खाल र मैदान भासिएको हो। माटो भरेर पर्खाल उठाइएका कारण चिल्ड्रेन पार्कको मैदान भासिएको देखिएको मेयर तीर्थराज भट्टराईले बताए।
चिल्ड्रेन पार्कको एकतिरको भाग शपिङ कम्प्लेक्सको पेटीसम्मै भासिएको छ। चिल्ड्रेन पार्कको मैदानको स्वीमिङ पुल पनि भासिएको छ। जसले गर्दा पर्खाल पनि चर्किएको छ।