पेट्रोलियम पदार्थमा कर कटौती गर्न सरकारलाई गठबन्धनको निर्देशन, प्रति लिटर ३० रुपैयाँ घट्न सक्ने
सत्तारूढ गठबन्धनको बैठकले पेट्रोलियम पदार्थमा लगाएको कर कटौती गर्न सरकारलाई निर्देशन दिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको गठबन्धनको बैठकले पेट्रोलियम पदार्थमा लगाएको कर कटौती गर्न निर्देशन दिने निर्णय गरेको हो। कर कटौती गरेमा ३० रुपैयाँसम्म मूल्य घट्ने गठबन्धनले आकलन गरेको छ।
यस निर्णयलाई आजैदेखि लागू गर्न गठबन्धनको बैठकले सरकारलाई निर्देशन दिएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले जनाएका छन्।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा महँगी बढेको गठबन्धनको बैठकको निचोड छ। बढ्दो महङ्गी नियन्त्रण गर्न र जनताको दैनिकी सहज बनाउन पनि पेट्रोलियम पदार्थमा लगाइएका कर कटौती गर्नुपर्ने गठबन्धनले ठहर गरेको छ।
गठबन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरू सहभागी थिए।