पूर्वाधार बनाउँदा पन्छी जोगाउन ‘इसेन्सेटिभिटी म्यापिङ टूल’ निर्माण
पूर्वाधार निर्माणका क्रममा हुने पन्छी तथा अन्य प्राणीको क्षति हुनबाट जोगाउन ‘इसेन्सेटिभिटी म्यापिङ टूल’ तयार गरिएको छ।
पूर्वाधार निर्माणमा सघाउ पुर्याउने नविकरणीय ऊर्जा परियोजनाले नक्सांकन संयन्त्र ‘इसेन्सेटिभिटी म्यापिङ टूल’ तयार पारेको हो। एशियाली विकास ब्यांक, बर्डलाइफ इन्टरनेशनल र नेपाल पन्छी संरक्षण संघको सहकार्यमा टूल तयार गरिएको जनाइएको छ।
अनलाइन संयन्त्र ‘एभियन सेन्सेटिभिटी टूल फर इनर्जी प्लानिङ’ एशियाली विकास ब्यांकको एशिया क्लिन इनर्जी फोरम मार्फत सार्वजनिक गरिएको छ। यस टूलले सार्वजनिक पहुँचमा रहेका सूचनाको प्रयोग गरी नवीकरणीय ऊर्जाका परियोजना निर्माणमा संवेदनशील स्थानको पहिचान गर्न र कमभन्दा कम क्षतिमा पूर्वाधार निर्माणमा सहयोग पुर्याउँछ।
विश्वव्यापी उपभोग भइरहेको जीवाश्म ऊर्जालाई नवीकरणीय ऊर्जाले प्रतिस्थापन गर्ने क्रममा जैविक विविधता नष्ट हुनबाट जोगाउन टूल सहायक हुने जनाइएको छ।
ठूलो क्षेत्रफल ओगट्ने नवीकरणीय ऊर्जाका परियोजनाले हजारौं प्राकृतिक भूभाग ओगट्दा जमीनको कार्बन सञ्चितिमा असर गरी लाखौं जीवजन्तुको वासस्थान विनाश हुन पुग्ने नेपाल पन्छी संरक्षण संघले जनाएको छ।
‘यस टूलको उद्देश्य नवीकरणीय ऊर्जाका परियोजना विकास र विस्तारले पन्छी र जैविक विविधतामा पार्ने नकारात्मक असर न्यूनीकरण गर्नु हो,’ संघले भनेको छ।
यसले हावा र सौर्य ऊर्जामा काम तथा नियमन गर्ने निकायलाई उपयुक्त स्थानको पहिचान गरी आयोजना सञ्चालन गर्न दिशानिर्देश गर्छ। जसबाट पन्छी र यसको संवेदनशील वासस्थानलाई पार्ने विनाश कम गर्न सकिन्छ।
सुरक्षित र पन्छीमैत्री वातावरणमा नवीकरणीय ऊर्जाका परियोजनालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न संघले नेपालमा पाइने अति संवेदनशील सूचीमा पर्ने पन्छीको अध्ययन पश्चात् पुष्टि भएका सूचना प्रवाह गरी सरोकारवाला निकायसँग छलफल र समन्वय गरी अघि बढ्ने जनाएको छ।
यसबाट विशेषतः शिकारी चरा प्रजाति, सारस लगायतका अति सङ्कटापन्न गिद्ध प्रजाति संरक्षण प्रभावकारी हुने अपेक्षा गरिएको छ। साथै, वन्यजन्तु मैत्री पूर्वाधार निर्माण निर्देशिका कार्यान्वयनमा यसले सहयोग पुर्याउने संघले जनाएको छ।
नेपालमा बन्न लागेका प्रशारण लाइन, जलविद्युत् पूर्वाधार निर्माणमा प्राणी-प्रजाति तथा प्रकृतिमैत्री निर्माणमा यसले सहयोग पुर्याउने संघका सन्तोष बजगाईंले बताए। टूल निर्माणका लागि संघले नेपालका सङ्कटापन्न तथा जोखिममा परेका चरा प्रजाति तथा नेपालको संवेदनशील जैविक क्षेत्र लगायतको जानकारी यसको निर्माणको क्रममा उपलब्ध गराएको उनले बताए।
“विद्युतीय ट्रान्समिसन लाइनको खाका बनाउँदा चरा संवेदनशील क्षेत्र जोगाउन, तारमा करेन्ट नलाग्ने गरी इन्सुलेट गर्ने, तारमा रिफ्लेक्टर राख्ने लगायत उपाय अपनाउन सकिन्छ,” उनले भने।
बर्डलाइफ इन्टरनेशनलकी प्रमुख कार्यकारी अधिकृत प्याट्रिसिया जुरिता, राष्ट्रिय जैविक विविधता प्राधिकरण, भारतका अध्यक्ष भीबी माथुर, एशियाली विकास ब्यांकका सुरक्षा निर्देशक बुरस डुन, नेपाल पन्छी संरक्षण संघकी प्रमुख कार्यकारी अधिकृत इशाना थापा साथै नेपाल, भारत, थाइल्यान्ड र भियतनामका प्रतिनिधिको उपस्थितिमा टूल सार्वजनिक गरिएको हो।