वर्षाले खेल रद्द हुँदा नेपाल एशिया कपमा छनोट हुन सकेन
वर्षाले खेल रद्द हुँदा नेपाल एसीसी महिला टी-२० च्याम्पियनशिपबाट बाहिरिएको छ भने एशिया कपमा छनोट हुनबाट पनि वञ्चित भएको छ।
मलेशियाको किनरारा ओभल क्रिकेट मैदानमा भएको यूएईसँगको सेमिफाइनल खेल वर्षाका कारण रद्द गरिएको हो। जसले गर्दा समूहको शीर्षस्थानमा रहेका आधारमा यूएई फाइनलमा प्रवेश गरेको छ। फाइनलमा पुग्ने टोली एशिया कपका लागि छनोट हुन्छन्।
एसीसी च्याम्पियनशिपमा नेपाल समूह ‘बी’ को दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको थियो। यूएई भने समूह ‘ए’ को शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुगेको थियो।
आज भएको सेमिफाइनलमा पहिले ब्याटिङ गर्दै यूएईले १९.५ ओभरमा सबै विकेट गुमाएर ८१ रन बनाएको थियो।
नेपालका लागि अस्मिना कर्माचार्यले पाँच विकेट लिएकी थिइन्। उनले ३.५ ओभरमा १० रन मात्रै खर्चिइन्।
त्यस्तै, नेपालका लागि इन्दु बर्माले तीन र सीता राना मगरले दुई विकेट लिए।
त्यसपछि वर्षाका कारण खेल हुन सकेन। अम्पायरले खेल रद्द गरे। यससँगै यूएई फाइनलमा प्रवेश गरेको छ।
अब अर्को सेमिफाइनलमा हङकङ र मलेशियाबीच प्रतिस्पर्धा हुनेछ।