सेवाग्राहीलाई दुर्व्यवहार गर्ने सिरहा अस्पतालका कर्मचारी निलम्बित
सिरहाको लहानस्थित प्रादेशिक अस्पतालले सेवाग्राहीलाई दुर्व्यवहार गर्ने कर्मचारी वासुदेव महतोलाई निलम्बन गरेको छ।
अस्पतालका प्रमुख डा. वीरेन्द्रकुमार महतोले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालको बीमा शाखाका कर्मचारी महतोलाई निलम्बन गरेको जनाएका छन्। सेवा लिन गएका सेवाग्राहीमाथि महतोले अश्लील शब्द प्रयोग गर्दै गाली गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
घटना बुधबार बिहान ११:१५ बजे भएको विज्ञप्तिमा उल्लेख छ। प्रमुख महतोले दोषीलाई कानूनी दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन्।
विज्ञप्तिमा उल्लेख छ‚ “अस्पतालको कर्मचारीद्वारा सेवाग्राहीसँग गरिएको व्यवहारप्रति अस्पताल प्रशासन अत्यन्त गम्भीर र संवेदनशील रहेको साथै दोषीलाई कानूनी दायरामा ल्याउन अस्पताल कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गर्दछ।” अस्पतालले सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति क्षमा मागेको छ।