विज एयरले गौतम बुद्ध विमानस्थलबाट उडान भर्ने
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरमा विज एयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ।
हंगेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको अल्ट्रा लो कस्ट एस वायुसेवाले भैरहवाबाट यूएईको आबुधावी उडान भर्ने तयारी गरेको बताइएको छ। गत जेठ २ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय नियमित उडान भर्न विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी लागिपरेका छन्।
यसै क्रममा भैरहवामा विज एयरले एयरबसको ३२१ निओ सिरिजको जहाज सञ्चालनमा ल्याउने योजना बनाएको छ। विजको १९० सीट क्षमताको उक्त जहाज नेपालमै पहिलो पटक उडान गर्न लागेको हो। उक्त जहाज एयरबस कम्पनीले उत्पादन गरेको पछिल्लो संस्करणको जहाजमध्ये एक रहेको बताइएको छ। सञ्चालन लागत कम हुने दाबी गरिएकाले यसलाई अल्ट्रा लो कस्ट जहाज समेत भनेर चिनिएको छ। त्यसै कारण यो जहाजमा बिजनेस क्लास समावेश नगरिएको बताइएको छ।
विज एयरको मिडिल इस्टमा एशिया हब अबुधावीमा रहेको र आफूहरू एयर बस ३२१ नियो सिरिजको जहाज मार्फत उडान सेवा दिने तयारीमा रहेको वायुसेवाको नेपालका लागि आधिकारिक जीएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रविचन्द्र सिंहले बताए। उनले भने, “हाम्रो देशको आधारभूत विकल्प भनेको पर्यटन हो, धार्मिक पर्यटन प्रवर्द्धनलाई लक्षित गरी सेवा विस्तारमा लाग्ने हाम्रो सोच छ।” -रासस