आठ हजार किमीको रामायण सर्किट जोड्ने रेल जनकपुरधाममा (तस्वीरहरू)
आठ हजार किलोमिटरको रामायण सर्किट जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ जनकपुरधाम आइपुगेको छ।
भारतको नयाँदिल्लीबाट मंगलबार साँझ ७ बजे छुटेको रेल बिहीबार दिउँसो १ः४५ बजे जनकपुरधाम पुगेको हो। धार्मिक-सांस्कृतिक प्रवर्द्धनका लागि पाँच सय यात्रु सहित आएको रेललाई जनकपुरधाममा स्वागत गरिएको छ।
जनकपुर रेल्वे स्टेशनमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतो लगायतले यात्रुको स्वागत गरेका छन्। यस प्रकारका गतिविधिले नेपाल-भारत सम्बन्ध थप सुदृढ हुने मुख्यमन्त्री राउतले बताए।
नेपालको भूभागलाई रामायण सर्किटमा जोड्नुपर्ने विषयमा आफू पहिलेदेखि नै लागिरहेको उनको भनाइ थियो। यसले उत्साह थपेको उनको भनाइ थियो।
जनकपुरधाम पुगेका यात्रुले रामजानकी मन्दिर, गंगा सागरमा हुने गंगा आरती अवलोकन लगायत विभिन्न ठाउँ घुमफिर गर्नेछन्। उनीहरू शुक्रबार जनकपुरधामबाट सीतामढी प्रस्थान गर्नेछन्।
रामायण सर्किटको आठ हजार किलोमिटर लामो यात्रा गर्न १८ दिनको समय निर्धारण गरिएको छ। यसमा जनकपुरधाम र अयोध्यालाई महत्त्वका साथ लिइएको छ। यात्रुहरू सीतामढी, वाराणसी, नासिक, रामेश्वरमको भ्रमण गरेर फेरि दिल्ली फर्किनेछन्।
दिल्लीबाट छुटेको रेल अयोध्यामा रोकिएको थियो। त्यहाँ राम जन्मभूमि मन्दिर, हनुमान मन्दिर, भरत मन्दिर, नन्दीग्राम लगायतको भ्रमण गराइएको छ।
त्यसपछि बिहारको बक्सरमा रोकिएको थियो। त्यहाँ विश्वामित्र ऋषिको विश्रामस्थल, गंगाको रामरेखा घाटको भ्रमण गराइएको छ।
त्यसपछि जनकपुरधाम पुगेको हो। जनकपुरधाम पुगेका यात्रुका लागि होटलमा वासको व्यवस्था गरिएको छ। यहाँबाट शुक्रबार बसमा सीतामढी जानेछन्। त्यसपछि पुनः रेलमै वाराणसी प्रस्थान गर्नेछन्।
वाराणसीमा सीता समाहित भएको स्थलको भ्रमणपछि प्रयागराज, श्रीगंवरपुर र चित्रकूट लगिनेछ। त्यसपछि नासिक, त्रयंम्बकेश्वर मन्दिर र पञ्चवटीको भ्रमण गराउने तय गरिएको छ। उनीहरूको अन्तिम दर्शनीय स्थल तेलांगनाको भद्राचलम हुनेछ। त्यहाँबाट अयोध्या फिर्ता हुने र दिल्ली पुगेर १८ दिने तीर्थयात्रा पूरा हुने जनाइएको छ।
रामायण सर्किटका लागि एक जना यात्रुलाई ६२ हजार ३७० भारतीय रुपैयाँ अर्थात् ९९ हजार ७९२ रुपैयाँ तोकिएको छ। यसमा रेलको भाडा, बस यात्रा, भोजन, रात्रि विश्रामस्थलमा आवास, बीमा लगायत सुविधा छन्।