चिकित्सा पढ्ने विद्यार्थीलाई कसरी जोगाउने तनावबाट?
शैक्षिक तथा पारिवारिक दबाब लगायतका कारण हुने मानसिक तनावबाट चिकित्साशास्त्रका विद्यार्थीलाई जोगाउन सके चिकित्सा क्षेत्रसँगै समाजले लाभ लिन सक्छ।
चिकित्साशास्त्रका विद्यार्थीले भोग्ने मनोवैज्ञानिक समस्यामध्ये प्रमुख हो, मानसिक तनाव। परीक्षाको चुनौती, विषयको व्यापकता, परिवारको उच्च अपेक्षा, समय व्यवस्थापनमा कठिनाइ, आर्थिक समस्या, निजी सम्बन्धका उतारचढाव र साथीभाइको दबाब जस्ता विविध कारणले चिकित्साशास्त्रका विद्यार्थीलाई मानसिक तनावतिर डोर्याउँछ।
नेपालमा जतिसुकै मिहिनेत गरे पनि जस नपाउनेमा चिकित्सा पेशा अग्रपङ्क्तिमा पर्छ। चिकित्सकहरूको यस्तो अवस्था देखेर चिकित्साशास्त्रका विद्यार्थी आफ्नो भविष्य सुनिश्चित गर्न विभिन्न अवसर खोजिरहेका हुन्छन्। जसका क्रममा आउने बाधा अड्चनले पनि कतिपय विद्यार्थीलाई पिरोल्ने गर्छ। चिकित्सा पेशाकर्मीहरूको श्रमको सम्मान नहुनु र उनीहरूप्रति आम नागरिकको दृष्टिकोणले विद्यार्थीलाई तनावमा पार्ने गरेको छ, जुन दीर्घकालीन मानसिक रोगको कारक बन्न सक्छ।
तनाव विभिन्न लक्षणका रूपमा प्रकट हुन्छ। यसले आत्तिने, निराशा, डर, चिन्ता, डिप्रेशन (अवसाद)को पुनरावृत्ति, थकान, निद्रामा गडबडी, झनक्क रिस उठ्ने, अधीर हुने जस्ता थुप्रै समस्या निम्त्याउँछ।
मानसिक तनावले विद्यार्थीको नियमित दिनचर्यामा प्रत्यक्ष–परोक्ष बाधा पुर्याइरहेको हुन्छ। उनीहरू आफूले गरिरहेको काममा ध्यान केन्द्रित गर्न सक्दैनन्। झिंजो मान्ने, अधैर्य हुने, अनिद्रा वा अत्यधिक निद्राले सताउने, चाँडै थाक्ने, झिनामसिना विषयमै दुःखी हुने र आफैंलाई दोषी ठान्ने गर्छन्। धेरैजसो विद्यार्थी आफूले भोगिरहेको मानसिक समस्या समाधानका लागि मनोपरामर्श लिन रुचाउँदैनन्। समस्याले गम्भीर रूप लिएपछि मात्र परामर्श लिन जान्छन्।
अध्ययन अनुसार, चिकित्साशास्त्रका विद्यार्थीमा भावनात्मक रूपमा कमजोर महसूस गर्ने, लागूपदार्थको दुर्व्यसन, प्रेम सम्बन्धमा समस्या, आत्महत्या गर्ने विचार, पढाइ छाड्ने सोचाइ र मुख्यतः प्रतिभा पलायन जस्ता समस्या देखिएका छन्। सारमा, ती विद्यार्थीको उत्पादकत्व घटेको छ। तनावकै कारण केही विद्यार्थी जानीबुझी वा अञ्जानमा कुलतमा फसेका छन्। यस्तो अवस्थाले विद्यार्थीको आत्मसम्मान र आत्मविश्वास खस्किने गरेको छ।
चिकित्साशास्त्रका विद्यार्थी ‘र्यागिङ’ (दुर्व्यवहार) को त्रासमा पनि उत्तिकै रहने गरेका छन्। यस विषयमा चिकित्साशास्त्र शिक्षालयको ध्यान पुगेको देखिँदैन। र्यागिङको डर र चरम यातनाले विद्यार्थीलाई आत्महत्यातिर समेत डोर्याउने गरेको छ।
धेरै समय परिवारबाट अलग रहनुपर्दा वा परिवारबाट साथ नपाउँदा पनि केही विद्यार्थी तनावमा पर्ने गर्छन्। घरपरिवारबाट टाढा छात्रावासमा बस्दा विद्यार्थीको मनोभावमा चुनौती थपिइरहेको हुन सक्छ। यसैले परिवारका सदस्यहरूसँग केही मिनेटको कुराकानीले तनाव दूर गर्न सक्छ। केही विद्यार्थीलाई तनावमा बस्ने बानी परेको हुन्छ, तिनले तनाव सम्हाल्न पनि जान्दछन्। तर, कतिपय विद्यार्थी मानसिक तनाव र मानसिक रोगले कमजोर हुन्छन्।
तनावले हाम्रो स्वास्थ्य र व्यक्तिगत विकासलाई मात्र असर गर्दैन, चिकित्सकका रूपमा हामीले गर्ने व्यवहारले बिरामीलाई पनि असर पार्छ। योग, ध्यान र नियमित एरोबिक अभ्यास र पर्याप्त निद्राले तनाव व्यवस्थापनमा मद्दत गर्छन्। यस्ता गतिविधिले मस्तिष्कबाट एन्डोर्फिन रसायन निस्कन्छ, जसले हाम्रो स्फूर्ति बढाउँछ र चिन्ताबाट विचलित हुन दिंदैन। यस्ता क्रियाकलापले विद्यार्थीको मनस्थिति सुधार्छ र शरीर स्वस्थ बनाउँछ। यसका साथै गहिरो सास फेर्ने अभ्यासले शान्त रहन मद्दत गर्छ।
समग्रमा, बर्सेनि चिकित्साशास्त्रका धेरै विद्यार्थी मानसिक रोगबाट ग्रस्त हुन्छन्। तनावले आत्महत्या गर्ने विचार, कलेज छोड्ने, गम्भीर मनोविकृति, कार्यसम्पादनमा कमी र व्यावसायिक र व्यक्तिगत जीवनलाई सन्तुलनमा राख्न नसक्ने अवस्था निम्त्याउने गरेको छ। अध्ययन र लक्ष्यप्राप्तिको होडमा उनीहरू आफ्नो पढाइबाट मात्र होइन, परिवार र समाजको उच्च अपेक्षाका कारण पनि तनावमा पर्छन्।
समस्यामा परेका विद्यार्थीलाई सामान्य लयमा फर्काउनुले समग्र चिकित्सा विद्यार्थी र चिकित्साकर्मीहरूको जीवनमा उल्लेखनीय परिवर्तन ल्याउन सक्छ। तनाव हटाउन मानसिक स्वास्थ्यबारे सचेतना, सास फेर्ने अभ्यास, साथीसँगी र परिवारको सहयोग, विशेषज्ञहरूको मद्दत र समय व्यवस्थापन प्रभावकारी तरीका हुन सक्छन्।
आचार्य काठमाडौं मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल सिनामंगलमा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत छिन्।