कुहिने र नकुहिने फोहोर नछुट्याए ५०० रुपैयाँ जरिवाना
काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर नछुट्याई राख्नेलाई साउन १ गतेदेखि कारबाही गर्ने भएको छ।
महानगरपालिकाले बिहीबार सूचना जारी गर्दै स्रोतमा नै कुहिने र नकुहिने फोहोर नछुट्याई राखे त्यस्ता फोहोर सङ्कलन नगर्ने र त्यसरी राख्नेलाई ५०० रुपैयाँ जरिवाना गर्ने चेतावनी दिएको छ।
महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कारबाही गरिने सूचनामा उल्लेख छ।
काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडावासीसँग गत जेठ २३ गते गरेको सहमतिमा साउन १ देखि स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्याउने प्रतिबद्धता गरेको छ।