बढ्दो मागले प्राकृतिक स्रोत जोगाउन चुनौती
जैविक विविधता तथा उपयोगिता सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलनका वक्ताहरूले प्राकृतिक स्रोतको संरक्षण गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
‘इन्टरनेशनल कन्फरेन्स अन बायोडाइभर्सिटी एन्ड बायोप्रोस्पेक्टिङ’ विषयक सम्मेलनमा टिप्पणी राख्दै अमेरिकाको मिजौरी बोटानिकल गार्डेनका निर्देशक रोबी हार्टले संरक्षणका लागि गरिने प्रयास एकल कार्यमा आधारित हुने जनाउँदै नयाँ पुस्ताका संरक्षणकर्मीको लगाव उत्साहप्रद रहेको बताए। “त्यसका लागि एकअर्काका अनुभव आदानप्रदान गर्नु महत्त्वपूर्ण हुन्छ,” हार्टले भने, “त्यसमाथि नेपाल जैविक विविधतामा समृद्ध मुलुक हो। जलवायुजन्य परिवर्तनले ल्याएको मौसमी फेरबदलका असरलाई कम गरी दिगो संरक्षण नीति बनाउन सम्मेलन फलदायी हुने आशा छ।”
पछिल्लो चरणमा जलवायुजन्य परिवर्तनले निम्त्याएको समस्यालाई न्यूनीकरण गर्न जैविक विविधता संरक्षण र उपयोगमाथिको छलफल घनीभूत गर्नुपर्ने आवश्यकता रहेको धारणा भारतको केन्द्रीय औषधिजन्य एवं सुगन्ध बिरुवा संस्थानका वरिष्ठ वैज्ञानिक सञ्जय कुमारले व्यक्त गरे।
“कोरोना महामारीपछि यूरोपेली मुलुकमा जडीबुटीमा आधारित वस्तुहरूको माग बढिरहेको छ,” कुमारले भने, “उत्पादनको बढ्दो मागले जडीबुटीजन्य वनस्पतिको माग बढ्छ। त्यसले नकारात्मक अवस्था नल्याओस् भन्नेमा सचेत हुँदै दिगो संरक्षणमा ध्यान पुर्याउनुपर्छ।”
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति सुनीलबाबु श्रेष्ठले सम्मेलनका छलफलले जैविक विविधतालाई दिगो बनाउन विज्ञानमा आधारित नीति तथा कार्यक्रमलाई मार्गप्रशस्त गर्ने अपेक्षा राखे।
वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले उद्घाटन गरेको कार्यक्रममा विभागद्वारा प्रकाशित लाइकेन्स अफ नेपाल (नेपालका झ्याउहरू) पुस्तक विमोचन गरिएको थियो। पुस्तक त्रिभुवन विश्वविद्यालय, केन्द्रीय वनस्पति विभागका सहप्राध्यापक चित्रबहादुर बानियाँ, विभागमा आबद्ध वनस्पतिविद्हरू राजेश तामाङ तथा अमृत केसीले लेखेका हुन्।
उद्घाटनसत्रमै प्रा. रामप्रसाद चौधरी र प्रा. प्रमोदकुमार झाले मुख्य प्रवचन दिएका थिए। प्रा. चौधरीले नेपालका वनस्पतिको ऐतिहासिक अभिलेखीकरणदेखि आधुनिक युगसम्मको विकासक्रमलाई सङ्क्षेपीकरण गर्दै वनस्पति र प्राकृतिक स्रोतको उपयोगितालाई अघि बढाउन सकिने विश्व परिदृश्यलाई नेपाली सन्दर्भमा प्रस्तुत गरे। प्रा. झाले नेपालले हालसम्म हासिल गरेका उपलब्धिबारे टिप्पणी गर्दै अब बन्ने दिगो संरक्षण नीतिमा समावेश हुनुपर्ने बुँदा र कार्यदिशाबारे सङ्क्षिप्त प्रस्तुति दिए।
त्यस्तै, विभागका महानिर्देशक बुद्धिसागर पौडेलले पहिलो पटक आयोजना गरिएको यस सम्मेलनका उपलब्धिले आगामी सम्मेलनको खाका कोर्ने आशा गरे। उनले संरक्षण र दिगो उपयोगिताको विषयलाई मूलप्रवाहीकरण गर्न सम्मेलन सफल हुनेमा आफू आशावादी रहेको बताए।
कार्यक्रममा विभागका उपनिर्देशक सरोजकुमार चौधरीले सम्मेलनले वैज्ञानिक र अनुसन्धानकर्मीहरूलाई अनुभव आदानप्रदान गर्ने मञ्च उपलब्ध गराउन सकेको धारणा व्यक्त गरे। “प्राप्त भएका दुई सय कार्यपत्रमा झण्डै सय वटा प्रस्तुतिका लागि छानिएका छन्,” चौधरीले भने। सम्मेलनले वनस्पति र पर्यावरण संरक्षणका लागि मार्गप्रशस्त गर्ने अपेक्षा उनको थियो। तीन दिन चल्ने सम्मेलन शुक्रबार समापन हुनेछ।