नायब सुब्बा विरुद्ध दुई करोड ४४ लाख भ्रष्टाचारको मुद्दा
दुई वर्षअघि जिल्ला प्रशासन कार्यालय, धनुषामा कार्यरत नायब सुब्बा गणपति झा विरुद्ध दुई करोड ४४ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झा विरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। उनले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले दुई करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ बिगो कायम गर्दै आरोपपत्र दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन्।
अख्तियारले दायर गरेको मुद्दामा झाले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप लगाइएको छ। २०३९ मंसीर ९ गते गाविस सचिवमा सेवा प्रवेश गरेका झाले २०७७/७८ अवकाश पाउँदासम्म दुई करोड ४२ लाख ६७ हजार १०४ रुपैयाँ आर्जन गरेको अख्तियारले जनाएको छ।
तर, उनले जग्गा खरीद, ऋणको सावाँब्याज, गाडी, घर, अध्ययन खर्च लगायत गरी चार करोड ८७ लाख ३८ हजार २१० रुपैयाँ खर्च गरेको देखिएको छ। जसमध्ये झाको दुई करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँको स्रोत नखुलेको अख्तियारले जनाएको छ।
उनले विभिन्न कार्यालयमा कार्यरत रहँदा गैरकानूनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको अनुसन्धानमा देखिएको अख्तियारका प्रवक्ता भण्डारीले जनाएका छन्। गैरकानूनी रूपमा कमाएको सम्पत्ति पत्नी र छोराहरूको नाममा राखेको अख्तियारको दाबी छ।
अख्तियारले उनकी पत्नी मीनादेवी, छोराहरू दिवाकर, शिवाकर र करुणाकरलाई पनि प्रतिवादी बनाएको छ। झाले गैरकानूनी रूपमा कमाएको सम्पत्ति पत्नी र छोराहरूको नाममा राखेको भन्दै उनीहरूलाई पनि विपक्षी बनाएको हो।
उनी स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिका–२० को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेका थिए। उनी २४७ मत पाएर पाँचौं नम्बरमा थिए।