नेपाल-अमेरिका चलचित्र महोत्सवमा १२ देशका फिल्म
अमेरिकाको मेरिल्यान्डमा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा यस वर्ष १२ देशका फिल्म देखाइने भएको छ।
असार ९ देखि १२ गते (२३-२६ जून) सम्म हुने महोत्सव भौतिक र अनलाइन (भर्चुअल) दुवै माध्यमबाट हेर्न सकिनेछ। महोत्सवमा नेपाल र अमेरिका लगायत १२ देशका ३८ वटा फिल्म प्रदर्शन हुनेछन्।
महोत्सवको पहिलो दिन मेरिल्यान्डको पुरानो ग्रीनबेल्ट थिएटरमा विक्रम सापकोटाद्वारा निर्देशित चलचित्र हल्कराको प्रदर्शन हुनेछ। यससँगै इवेनटिभ एप मार्फत स्मार्टफोन, आइप्याड, कम्प्युटर र स्मार्ट टेलिभिजनमा फिल्म हेर्न सकिनेछ।
प्रदर्शन भएका फिल्मबारे दर्शक र निर्माता-निर्देशक तथा कलाकारसँग छलफल पनि हुनेछ। महोत्सवमा कान्स फिल्म फेस्टिभलमा पुगेका निर्देशक अविनाशविक्रम शाह र अभिनेत्री सुरक्षा पन्तसँग ‘भर्चुअल’ संवाद गर्ने आयोजकले बताएको छ।
महोत्सवका लागि सात सदस्यीय निर्णायक मण्डल घोषणा गरिएको छ। निर्णायक मण्डलले उत्कृष्ट फिल्म छनोट गर्नेछ।
यसमा नेपालबाट अनुप सुवेदी ,अमेरिकाबाट रिबेका बिसमानते, निना स्ट्रिच्क, भवानी राओ, डेब्रा जनसन, फारिड बोजोरमेयर र पोर्सिया कोब जुरीका रूपमा रहेका छन्।
सन् २०१७ देखि नेपाल-अमेरिका फिल्म सोसाइटीले महोत्सव आयोजना गर्दै आएको छ। महोत्सवको अन्तिम दिन असार १२ गते निर्देशक माइकल ब्राउनको वृत्तचित्र वृक म्युलु र एरिक स्पिंकको लघु फिल्म द लिप रिडर प्रर्दशन गरिनेछ।
अनलाइन फिल्म हेर्न यहाँ क्लिक गर्नुहोस्।