अफगान भूकम्प: २८० जनाको मृत्यु, ६ सय घाइते
अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा २८० जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन्।
आज बिहान अफगानिस्तानको खोस्त शहर केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्पमा अफगानिस्तानसँगै पाकिस्तानमा पनि धक्का महसूस भएको थियो।
भूकम्पमा परी बुधबार मध्याह्नसम्म २८० जनाको मृत्यु भएको सुरक्षा अधिकारीले बताएको अफगानिस्तानको राष्ट्रिय समाचार संस्था बख्तरले जनाएको छ। खोस्त राज्यका सूचना तथा संस्कृति निर्देशक शबीर अहमद ओस्मानीलाई उद्धृत गर्दै खख्तर समाचार संस्थाले ६ सय जना घाइते भएको जनाएको छ।
भूकम्पले खोस्त र पाक्तिका राज्यमा क्षति पुगेको छ। पाक्तिका राज्यका पनि नाकी, जिरोल, बार्मल र गायन जिल्लामा धेरै क्षति भएको ओस्मानीले जनाएका छन्। क्षतिग्रस्त स्थानबाट घाइतेलाई अस्पताल पुर्याउन हवाई एम्बुलेन्सको प्रयोग गरिएको छ।
भूकम्पले सडक तथा सञ्चार सेवा अवरुद्ध छ। क्षतिको विवरण आउने क्रम जारी छ। जसले गर्दा मृतकको सङ्ख्या बढ्न सक्ने जनाइएको छ।
शक्तिशाली भूकम्पको धक्का पाकिस्तान र भारतमा पनि महसूस गरिएको छ। खोस्त शहरबाट ४० किलोमिटर दक्षिण-पूर्वमा केन्द्रबिन्दु रहेको भूकम्पले अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामावादलाई समेत हल्लाएको छ।
गत १० वर्षमा अफगानिस्तानमा भूकम्पबाट सात हजारभन्दा बढीको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। संयुक्त राष्ट्रसंघका अनुसार, अफगानिस्तानमा वर्षमा औसत ५६० जनाले भूकम्पबाट ज्यान गुमाएका छन्।