एउटा जिज्ञासा बाँकी नै थियो डाक्टर साहेब!
डा. भम्पा राई शरीर बिसाउन भुटानै फर्कन चाहन्थे। उनको यो इच्छा त पूरा भएन, तर भुटानमा मानव अधिकारको कुरा उठ्नासाथ उनको वैचारिक अडान सधैं मानकका रूपमा रहिरहनेछ।
सन् २००६ को एउटा हिउँदे मध्याह्न। झापाको दमक पश्चिमको सीतापुरी जङ्गलमा बाबु आइतराजको शव अन्त्येष्टिको तयारी हुँदै गर्दा छेवैमा उभिएका उनले धेरैले सुन्ने गरी भनेका थिए, “म मर्दा पनि यसै गरी मलामी आइदिनुहोला है।”
यो वाक्यले एकाएक त्यहाँ सन्नाटा छायो। त्यसपछि उनले प्लास्टिकको पोको खोले। माटो रहेछ। आधा जति बाबुको शवमा खन्याए। बाँकी फेरि पोको पारेर पत्नी उर्मिलालाई दिंदै भने, “राख यो, पछि हामी मर्दा चाहिन्छ।” त्यसको १४ वर्षपछि डा. भम्पा राईले उर्मिलालाई पनि गुमाए। बाँकी रहेकोमध्ये केही माटो उसै गरी उनको शवमा राखिदिए। सहोदर दिदीको चोला उठ्दा पनि उसै गरे।
केही महीनाअघि मात्र डा. राईले कुरैकुरामा भनेको सम्झिन्छु, “अलिकति माटो मेरो सिरानीमा अझै बाँकी छ, गड्तौला भाइ।” जवाफमा भनेथें, “धेरै अलच्छिन जगाउने कुरा नगरौं है सर।”
प्रिय डाक्टर साहेब, अब तपाईंलाई नै सोध्नुपर्ने एउटा प्रश्न बाँकी छ, “त्यो माटो आज तपाईंको साथ छ कि छैन?” मेरा बाँकी सबै जिज्ञाशा मैले फिर्ता लिएँ। तपाईंको चिर निद्रा बिथोलिएला, भो अब सोध्दिनँ। आज सोचिरहेछु– त्यो माटो टुहुरो भयो होला!
हजार पटक सुन्दासुन्दा कण्ठस्थ भइसकेको छ, भुटानको दक्षिणी साम्ची जिल्लामा रहेको डा. राईको आँगनको माटो हो त्यो। दमक नगरपालिका–९ स्थित उनको डेरामा उत्तरतर्फ सिरानी भएको खाटको दायाँ देवीदेवताको तस्वीर सामुन्ने कलशछेउ त्यो पोको सधैं हुन्थ्यो। म जान्दथें, आशीर्वाद लिन आउनेलाई निधारमा लगाइदिन र परिवारका सदस्यको निधन हुँदा शवमा माटो राखिदिन मात्र पोको खुल्थ्यो। लुकीछिपी दुई वटा अन्तर्राष्ट्रिय सीमा पार गर्दै साम्चीको बाँडाबाट आउने बिरामीले राईलाई उनको आँगनको माटो र फलफूल ल्याइदिन्थे।
मैले धेरै पटक समाचारमा ‘कोट’ गरेका भव्य र स्थिर व्यक्तित्व डा. राई अब सम्झनामा मात्र रहे। ७६ वर्षसम्म काललाई जितेका नामी चिकित्सक परोपकार र मानवताको बेग्लै परिचय बनाएर आइतबार बिहान २ बजेर ४० मिनेटमा लामो निद्रामा गए। अर्थात्, थिम्पुमा वाङचुक राजपरिवारका सदस्यहरूको नाडी छामेका उनले शरण लिएको मुलुकमै अन्तिम श्वास लिए।
पारिवारिक तहमै विकास भइसकेको सम्बन्ध थियो, हाम्रो। मेरा आमा, बहिनी, नानीहरू र श्रीमतीको स्वास्थ्यबारे उनले राख्ने निरन्तरको चासोलाई म आशीर्वादका रूपमा हृदयमा साँचिरहनेछु। यति आत्मीय व्यक्तिको मृत्युको खबर सुन्दा मेरो हृदयका सबै तार एकैचोटि नमज्जासँग हल्लिए। शरीर चिसो महसूस भयो। फेसबूक मेसेन्जरमा फेरि हाँस्दै गफिने समय खोज्दै थिएँ। तर‚ तार चुँडियो, तारा खस्यो। मनभित्रको छटपटी बारम्बार भनिरहेछ– डा. राई, तपाईं लामो यात्रामा जानुहुँदा म टाढा भएकाले अन्तिम बिदाइमा उपस्थित हुन नसकेको पीडा म कसलाई सुनाऊँ?
यी शब्द लेखिरहँदा मलाई डा. राईसँग जोडिएका अनेकौं सम्झनाले एकोहोरो उचालपछार गरिरहेछन्। चिया र गुवापानका अम्मली उनको दमक–११ स्थित क्लिनिकमा जाँदा जाँदा म पनि पानको अम्मली भएको थिएँ। यही कोठामा उनी रोगीहरूको उपचार गर्थे। औषधोपचार गर्दा गर्दा अन्यत्र पैसा सिध्याएका र खर्च गर्ने ल्याकत नभएकाहरू मात्र प्रायः उनीकहाँ आउँथे, तिनमा बढीजसो वरपरका रिक्सा–ठेला गुडाउनेहरू, ज्यामी मजदूर र शरणार्थी शिविरका भुटानीहरू हुन्थे।
राई उपचार गर्दागर्दै भुटानका एक-दुई कथा-किस्सा पनि सुनाउन भ्याइहाल्थे। त्यस्ता किस्सा असङ्ख्य पटक सुनेर होला, मलाई उनले तोदे खोलामा बल्छी थापेर माछा मारी पोलेर खाएको, पौडी खेलेको, घोडा कुदाएको, ढाकामा पढ्दा झगडा गरेको, भुटानी राजपरिवारका नातेदारहरूसँग नझुकी प्रस्तुत भएको, ढाका, आसाम, पश्चिम बंगाल र भुटानमा फूटबल खेलेको आफैंले देखे जस्तो लागिरहन्छ।
निरन्तरको अडान
दक्षिणी भुटानमा सरकारी दमनको पारो चढ्न थालिसकेको थियो। अनाहकमा नेपालीभाषीका बस्तीमा शासक पसेर खेदाउन थालेको चित्त नबुझेपछि राईले विरोध गरे, देश छोड्ने निधोमा पुगे। प्रशस्त खेतबारी र सम्पत्तिका हकदार उनका लागि अभावको जिन्दगी कल्पना बाहिरको कुरा थियो। तर‚ देश छोडेपछि एकैपटक घनघोर गरीबी र अभाव आइलाग्यो। कन्काई नदीको बगरमा हजारौंको सङ्ख्यामा रहेका शरणार्थी र वरपरका गाउँलेको उपचार गर्दा भोकप्यास ख्याल गर्ने फुर्सद थिएन। शरणार्थी शिविरहरू कसरी व्यवस्थित बनाउन र अभिलेख राख्न सकिन्छ भन्नेमा उनको ध्यान केन्द्रित थियो।
अनेक अवसर पन्छाउँदै भुटान फर्किने एकोहोरो अडानमा उभिन सक्नु लर्तरो कुरो थिएन। कतिपय वेला उनी मलाई दृढतापूर्वक सुनाउँथे, “सुन भाइ, हावाले पात हल्लाउँछ, पहाड होइन।”
देशलाई सधैं माया गरिरहने र आफ्नो अडानप्रति साह्रै इमानदार यी नेताको मुखबाट मैले एक प्रसङ्गमा सुनेको थिएँ, “मेरो घर भुटानमा छ, यो सत्य हो। अनि यो पनि सुन भाइ, सत्यलाई बहुमत, अल्पमत केहीले छुँदैन। असत्य र काइते तर्कलाई मात्र प्रमाणित गर्न अनेक प्रपञ्च गर्नुपर्छ जुन भुटान सरकारले गरिरहेको छ।”
काठमाडौं, दिल्ली, बेल्जियम र न्यूयोर्कमा रहेका अन्तर्राष्ट्रिय कूटनीतिक अड्डाहरूलाई उनी आफू अध्यक्ष रहेको भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका तर्फबाट आफूहरूलाई देश फर्काउने पहल गरिदिन अनुरोध गरिरहन्थे। कसैले सुनोस् वा नसुनोस्, उनलाई फरक परेन। निर्णय लिनुअघि परामर्श गर्ने र निर्णय लिएपछि कहिल्यै नहल्लिने आदत थियो। थोरै सङ्ख्यामा भए पनि शरणार्थी घर फिर्न सक्नुपर्छ भन्ने उनको अडान स्थायी थियो। वैचारिक रूपमा दृढ तर दयालु डा. राईको शरीर बिसाउन भुटान जाने इच्छा त पूरा भएन। तर, भुटानमा मानव अधिकारको कुरा उठ्नासाथ मानकका रूपमा उनको अडान स्मरण नगरिरहन सकिन्न।