घरखेत बन्धकी राखेर लिएको ऋणले पुगेन उपचार खर्च, चन्दा माग्दै औषधि किन्दै
'घरजग्गा बन्धकी छ, बेच्ने जायजेथा सकियो। रुकुमदेखि काठमाडौंसम्म चन्दा माग्दै आको छु।'
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-१० का खड्के नेपाली (४४) लाई क्यान्सर लागेकी श्रीमती बाँच्छिन् कि बाँच्दिनन् भन्ने थाहा छैन। तर, श्रीमतीको उपचार गराउन बन्धकी राखेको घरजग्गा साहुको कब्जामा जाने निश्चित जस्तै छ।
कुनै चमत्कारले आफ्नो जायजेथा बचाउला कि भन्ने झिनो आशालाई श्रीमती र घरजग्गा दुवै जोगाउन नसकिएला कि भन्ने डरले जितेको छ। यही डरसँग पौंठेजोरी खेल्दै ललितपुरको पाटन अस्पताल धाइरहेका उनी खर्चको बोझले अत्यासमा छन्।
श्रीमती बेलमती (४३) को उपचारका लागि रुकुमबाट हरेक महीना एक पटक काठमाडौं आउने गरेका उनी यो धाइधपेडीले गलेर आफैं रोगी जस्तै देखिएका छन्। अस्पतालको बेडमा ढलेकी श्रीमतीको पीडा र उपचार खर्च जुटाउन गर्नुपरेको कुदाकुदले मनस्थिति खजमजिइसकेको छ।
साथमा भएको पैसा सकिइसक्यो, उपचारमा थप कति पैसा लाग्छ र उपचार गरेर पनि श्रीमतीलाई निको हुन्छ या हुन्न भन्ने थाहा छैन। तर, सास रहुन्जेल आस रहने भएकाले भीख मागेरै भए पनि श्रीमती बचाउने अठोट गरेका छन्।
फागुनको पहिलो साता पाटन अस्पतालको क्यान्सर वार्ड बाहिर एउटा शय्यामा बेलमती लम्पसार थिइन्। वार्डभित्र शय्या खाली नभएकाले उनलाई बाहिरै राखेर ‘किमोथेरापी’ चढाइएको थियो। श्रीमान् फार्मेसीमा औषधि लिन कुदेका थिए, बेसहारा उनी क्यान्सरको पीडाले छटपटाउँदै थिइन्। “उपचार गरेर बाँच्छु जस्तो लाग्दैन, तर श्रीमान् मान्दै मान्दैनन्,” हामीलाई नजिक देखेर बेलमतीले कुरा शुरू गरिन्।
लामो समयसम्म उनका श्रीमान् आइपुगेनन्। अस्पतालकी नर्सले औषधि आवश्यक रहेको बताउँदा उनी हराएको तीन घण्टा नाघिसकेको थियो। एकछिनमा हस्याङफस्याङ गर्दै उनी आइपुगे। हातमा औषधि र केही कागज थियो।
बिरामीलाई एक्लै छाडेर हराएको भन्दै नर्सले सोधिन्, “कहाँ बेपत्ता?”
“औषधि किन्न पैसा उठाउन,” नर्सको हातमा औषधि राखिदिंदै खड्के बोले, “आफूसँग पैसा थिएन, त्यसैले बजारतिर चन्दा उठाउन गएको हजुर।”
उनको हातमा एउटा कापी थियो, जसमा रु.१० देखि एक हजारसम्म सहयोग गर्ने मानिसहरूको नाम लेखिएको थियो। उनले त्यो कापी देखाउँदै भने, “घरजग्गा बन्धकी छ, बेच्ने जायजेथा सकियो। रुकुमदेखि यहाँसम्म चन्दा माग्दै आको छु।”
विगत पाँच महीनादेखि खड्के नेपालीको दैनिकी फेरिएको छ। यो पाँच महीना उनलाई पाँच वर्षभन्दा लामो लागिसक्यो। गरीब भए पनि जीवनमा कसैसँग हात पसारेर नखाएका उनलाई भीख जसरी सहयोग माग्न लाज नलागेको होइन। तर, श्रीमती बचाउन अरू उपाय नरहेपछि नियतिले लाज पचाउनुपर्ने स्थितिमा पुर्याइदियो।
नेपाली दम्पतीलाई पाटन अस्पताल बिरानो छ। उनीहरू न यहाँको भाषा राम्ररी बुझ्न सक्छन्, न आफ्नो कुरा अरूलाई बुझाउन नै। स्थानीय लवजमा बोल्ने उनीहरूलाई डाक्टर र नर्सको काउन्सिलिङमा मात्र होइन, क्यान्टिनमा खाना र फार्मेसीमा औषधि खरीद गर्न समस्या छ। कतै पनि अपनत्व महसूस नहुँदा बेलमतीलाई उपचार नगरी भाग्न मन छ। “न भनेको कुरा बुझ्ने मान्छे छन्, न कसैले भनेको बुझिन्छ,” उनले खिन्नता जनाइन्।
क्यान्सर पत्ता लाग्यो भन्ने बित्तिकै बेलमतीलाई बाँच्दिनँ भन्ने लागेको थियो। पेट असह्य दुखेपछि ललितपुरको बीएन्डबीचमा लगिंदा २०७८ फागुनमा आन्द्राको क्यान्सर पत्ता लाग्नासाथ उपचार नगराई घर जान जिद्दी पनि गरेकी थिइन्। तर, क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले उपचार गरे निको हुने सम्भावना धेरै रहेको बताए। उपचार खर्चबारे पटक्कै नसोची डाक्टरको विश्वासले भन्दा पनि श्रीमतीको मायाले उपचार शुरू गरेको खड्के बताउँछन्।
उपचार गराउन पहिलो चोटि काठमाडौं आउँदा लैनो भैंसी बेचेका थिए। तर, शल्यक्रिया गरेर पहिलो चरणको उपचार नसक्दै अस्पतालमा रु.पाँच लाख बिल उठ्यो। त्यसपछि ऋणमा चुर्लुम्म डुबेको बेलमतीले सुनाइन्।
क्यान्सरको उपचार अन्य रोगको जस्तो एकै पटकमा हुन्न। महँगो औषधि र काठमाडौं बाहिरबाट नियमित फलोअप गर्न महीनैपिच्छे आउनुपर्दा उपचार बाहेकको खर्च समेत धेरै हुन्छ। कम्तीमा पाँच वर्ष उपचार गराउनुपर्ने भएकाले धेरैले हिम्मत नै गर्दैनन्। क्यान्सर रोग विशेषज्ञ शाही भन्छन्, “कतिपय क्यान्सर पत्ता लागिसकेपछि उपचार नगराई फर्कन्छन्, कतिपय खर्च धान्न नसकेर बीचमै उपचार छाड्छन्।”
उपचार खर्चकै लागि खड्केले घरजग्गा बन्धकी राखेर रु.पाँच लाख ६५ हजार ऋण लिएका छन्। साहुसँग दस्तखत गरेको कबुलियतनामामा २०७९ कात्तिक २६ गते ऋण नतिरे उनको १७२० वर्गमिटरमा रहेको पाखोबारी र घरबाट असुल गर्ने लेखिएको छ। तर, ऋण तिर्ने भाखा नजिकिंदै गर्दा न त्यो रकम चुक्ता गर्ने स्रोत छ, न त ऋण लिएको पैसा सकिइसक्दा श्रीमती निको हुने टुङ्गो। पैसा सकिए पनि उपचार सकिएको छैन। खल्ती रित्तिएपछि उनी उपचार खर्च जुटाउन चन्दा मागिरहेका छन्।
चन्दा माग्ने क्रममा उनी आफ्नै जिल्लाका नेता जनार्दन शर्मा अर्थमन्त्री भएकाले अर्थ मन्त्रालय पनि पुगेका थिए। तर, अर्थले पाटन अस्पतालको नाममा उपचारमा समन्वय गर्नू भन्ने पत्र पठाउने बाहेक केही काम गरेन। “अहिलेसम्म ऋण गरेर आठ लाख सकिइसक्यो, तर श्रीमती बचाउन सकिन्छ कि सकिन्न अझै ठेगान छैन,” उनी दु:खेसो पोख्छन्।
दुई छोरी र एक छोरा रहेका नेपाली दम्पतीलाई पाखोबारीको उब्जनीले आधा वर्ष पनि खान पुग्दैन। गाउँमै ज्याला मजदूरी गरेर पेट पाल्दै आएकोमा श्रीमती बिरामी भएर उपचारमा लाग्दा आम्दानी ठप्प छ। पाटन अस्पतालमा भौंतारिइरहेका उनी भन्छन्, “श्रीमती बिरामी हुँदा उपचार खर्चले बर्बादै भएँ, लौन हजुर कसो गरुम्!”
आन्द्राको क्यान्सर पत्ता लागेपछि शुरूआतको अपरेशनपछि बीएण्डबी अस्पतालमा साढे पाँच लाख रुपैयाँ सकियो। त्यहाँको खर्च धान्न नसकेपछि पाटन अस्पतालमा रेफर गरेका उनलाई अहिले पनि खर्च जुटाउन उस्तै सकस छ।
उपचार शुरू गरेको ६ महीनामा नै सरकार र गाउँपालिकाले दिएको सहुलियत रकम रु.एक लाख सहित आठ लाखभन्दा बढी खर्च गरेका उनी थप खर्च कसरी जोहो गर्ने भन्ने चिन्तामा छन्। रोगको प्रकृति अनुसार अब हुने कुल खर्च ठ्याक्कै थाहा नहुने भए पनि अझै पाँच लाखदेखि सात लाख लाग्ने चिकित्सकले बताएका छन्। त्यो सुन्दा आत्तिएको बताउँदै खड्के भन्छन्, “हामी गरीबका लागि उपचार काल बन्दो रहेछ।”
उपचार खर्चका लागि जायजेथा बेच्ने तथा बन्धकी राख्नुपर्ने, उपचारकै कारण गरीब बन्नुपर्ने र खर्च अभावमा उपचार नपाएर अकालमै मर्नुपर्ने जस्ता घटना नेपालमा नौलो होइन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार, उपचार गरेकै कारण नेपालमा हरेक वर्ष पाँच लाख मानिस गरीबीको चपेटामा पर्छन्। यस्तो हुनुको मुख्य कारणमा उपचार गर्दा व्यक्ति आफैंले प्रत्यक्ष तिर्नुपर्ने रकम पनि एक हो।
नेपालमा उपचारमा हुने व्यक्तिगत खर्च ५७.२ प्रतिशत छ। यो खर्च २० प्रतिशतभन्दा कम गर्न सके मात्र उपचार खर्चका कारण मानिसहरू जायजेथा गुमाउनुपर्ने, गरीबीको रेखामुनि धकेलिने अवस्थामा नपुग्ने विज्ञहरू बताउँछन्। जनस्वास्थ्यविद् डा. शरद वन्त स्वास्थ्य सेवामा देखिएको असमानताले अहिले धेरै नागरिक उपचार नपाएर मरिरहेको बताउँछन् । “स्वास्थ्य सेवाको असमानता हटाउन राज्यले स्वास्थ्य क्षेत्रमा व्यापक लगानीका साथै नीति बनाएर कार्यान्वयन गर्नुपर्छ,” डा. वन्त भन्छन् ।