साइबर सुरक्षाबारे प्रदेश सभा सदस्यलाई तालीम
नेपाल दूरसञ्चार प्राधिकरणले प्रदेश १ का प्रदेश सभा सदस्यहरूलाई सुरक्षित रूपमा इन्टरनेट तथा सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ।
असार ५ मा मोरङको विराटनगरमा आयोजित कार्यक्रममा सांसदहरूलाई सुरक्षित रूपमा इन्टरनेट र सामाजिक सञ्जाल प्रयोग गर्ने तरीकाका विषयमा जानकारी दिइएको थियो।
कार्यक्रममा बोल्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले इन्टरनेट र सामाजिक सञ्जाल सुरक्षित ढङ्गले चलाउन नजान्दा धेरै क्षति भोग्नुपरेको उल्लेख गर्दै गोपनीयता चोरी हुन नदिन तालीम उपयोगी भएको बताए। यस्तै‚ प्राधिकरणका निर्देशक विजयकुमार रायले साइबर सुरक्षाको विषय असाध्यै महत्त्वपूर्ण भएको तथा बढ्दो साइबर थ्रेट र चुनौतीलाई ख्याल गरेर सबै प्रदेश सभा सदस्यलाई सुरक्षित तरीकाले इन्टरनेट र सामाजिक सञ्चालन चलाउने तरीका सिकाउने अभियान थालेको जानकारी दिए।
कार्यक्रमको संयोजक इम्पावर ट्रेडिङका निर्देशक शम्भु पहाडीले साइबर अपराधबाट सुरक्षित हुन चनाखो हुनुपर्ने वेला आइसकेको बताए। तालीममा प्रदेश सभा सदस्यलाई मोबाइल तथा कम्प्युटरमा फेसबूक, ट्वीटर र अन्य पेज तथा इमेल सुरक्षित ढङ्गले प्रयोग गर्ने विधि सिकाइएको थियो।