लेख्न शुरू गर्न समय लाग्छ‚ शुरू गरेपछि लगातार लेख्छु
हाम्रोमा यति धेरै जातजाति‚ संस्कृति छन्। त्यहाँ कथा भन्ने शैली पनि फरक छन्। त्यहाँबाट नयाँ चिज आउन सक्छ। नत्र त रामायण, हजुरआमाले राति राति भन्ने कथा जस्तो मात्र हुन्छ।
अविनाशविक्रम शाहद्वारा लिखित निर्देशित फिल्म लोरीले ७५औं कान्स फिल्म फेस्टिभलमा स्पेशल मेन्सन अवार्ड हात पारेको छ। कान्सबाट फर्के लगत्तै शाहले अर्को कथामा काम गरिरहेका छन्। बुद्धिज्म सम्बन्धी विषयवस्तु भएकाले उक्त फिल्मको कथा काठमाडौंको बौद्धस्थित एउटा गुम्बामा बसेर लेखिरहेका छन्। निर्देशक शाहसँग कान्स फिल्म फेस्टिभलको अनुभव र आगामी योजनाबारे हिमालखबरका लागि देविका घर्ती मगरले गरेको कुराकानी:
चर्चित फिल्म फेस्टिभल कान्समा तपाईंको लेखन तथा निर्देशन रहेको फिल्म लोरीले स्पेशल मेन्सन अवार्ड जित्यो। अवार्ड जितेपछि के फरक हुँदाे रहेछ?
कान्समा नेपालबाट गएको पहिलो फिल्म लोरीले स्पेशल मेन्सन अवार्ड जितेकाले धेरैको आँखामा पर्यो। यसमा म एकदमै खुशी छु। नेपालमा फिल्म फेस्टिभल भन्दा फिल्म देखाउने भन्ने हुन्छ। तर‚ कान्स जस्तो अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा फिल्म देखाउँदा मुख्य कुरा फिल्म बेच्ने कुरा हुँदो रहेछ। लोरीलाई पनि थुप्रै सेल्स, डिस्ट्रब्युसन एजेन्सीहरूले किन्ने अफर गरे। फ्रान्सको एक टेलिभिजनले एक-दुई वर्ष जति लिन्छौं‚ कति रकम लिने भने। यो नै मुख्य उपलब्धि हो।
फेस्टिभलमा लोरीबारे कस्तो ‘फिडब्याक’ पाउनुभयो?
फिल्म अफिसियल स्क्रीनिङ गरिसकेपछि दर्शकहरूले एकदमै राम्रो फिडब्याक दिनुभयो। एक त उहाँहरूले नदेखेको समाज भयो‚ अर्को नेपालको फिल्म धेरै नहेरेका दर्शक। उहाँहरूलाई नेपालमा पनि यस्तो फिल्म बन्दो रहेछ है भन्ने छाप छाड्यो। उहाँहरूले इन्करेजमेन्ट गर्नुभयो। तारीफ पनि गर्नुभयो।
लोरीमा खास के छ? यस विषयमा फिल्म बनाउनुपर्छ भन्ने सोच कसरी आयो?
मैले बाल्यकालदेखि नै बालविवाह देख्दै आएको हुँ। अहिले पनि देखिरहेको छु। भर्खरैको घटना हो‚ केही बालिकाहरूलाई ‘ट्राफिकिङ’ गरेर लगिरहेको अवस्थामा उद्धार गरिएको थियो। बालिकाहरूलाई आफूहरू घरपरिवारबाट भागेको भन्ने थियो। किन भागेको भन्दा उनीहरूले आ-आफ्ना समस्या बताएका थिए। एक जनाले विवाह गरिदिन लागेकाले भागेको बताएकी थिइन्।
बालविवाहबारे धेरै फिल्म बनेका छन्। तर‚ समस्याको जडसम्म जान बाँकी नै छ भन्ने लाग्ने रहेछ। उमेर नपुगी छोरीको विवाह गर्न तयार आमाले पनि बालविवाह गरेको हुनुपर्छ। ती आमालाई थाहा हुनुपर्ने हो नि- उमेर नपुगी विवाह गर्दा कति गाह्रो हुन्छ भन्ने। यही कुरा राम्रोसँग खोतल्न मन थियो‚ त्यसैले लोरी बनाएँ।
तपाईंका प्रायः फिल्ममा तराई-मधेशका कथा हुन्छन्। तराई-मधेशसँग के सम्बन्ध छ?
हो‚ मैले तराईसँग सम्बन्धित फिल्महरू गरेको छु। मेरो पहिलेको फिल्म तात्तिनी को विषयवस्तु पनि तराईकै थियो। त्यो फिल्म पनि थुप्रै फेस्टिभलमा गएको थियो। स्वदेश तथा विदेशमा अवार्ड समेत पायो।
मेरो बाल्यकाल तराईमा नै बित्यो। तराईमा हाम्रो जग्गा अझै छ। अहिले पनि म वेलावेला त्यहाँ जान्छु। त्यहाँ मेरा बच्चा वेलाका साथीहरू छन्। यी सबैले गर्दा तराईसँग मेरो एकदमै इन्टिमेट कनेक्शन छ। त्यसैले पनि होला, तराईका कथाहरू समेट्न मन पर्ने।
नेपालमा पनि फिल्म फेस्टिभलहरू भइरहेका हुन्छन्। यहाँ र विदेशको फेस्टिभलमा के फरक पाउनुभयो?
नेपालमा हुने फेस्टिभलहरूमा चाहिं शुद्ध फिल्म हेर्न जानेहरू मात्र हुन्छन्। कान्समा डिरेक्टर, राइटर, प्रोड्युसर, एडिटर, फेस्टिभलको प्रोग्रामर‚ सेल्स, डिस्ट्रिब्यूटर लगायत आउने रहेछन्। जसलाई अफिसियल्ली बोलाइएको छ‚ उनीहरूलाई नै टिकट किन्न गाह्रो हुने रहेछ। त्यसैले प्रायः फिल्ममेकरहरूको उपस्थिति हुने रहेछ। दर्शक धेरै हुन्छन्।
कान्समा आयोजक, दर्शकहरूले फिल्ममेकरलाई मानसम्मान दिंदा रहेछन्। जसका कारण फिल्ममेकरहरूलाई मैले जे गरिरहेको छु‚ ठिकै गरिरहेको रहेछु भन्ने लाग्दो रहेछ। हामी राइटर, डिरेक्टरहरूमा आफैंप्रति अलि अलि ‘डाउट’ हुन्छ नि। जस्तो- मैले राम्रो गरिरहेको छु र भन्ने जहिल्यै हुन्छ। कान्समा सेलेक्ट भएर सबैले तारीफ गरिसकेपछि मैले ठीकै गरिरहेको छु‚ अझै राम्रो गर्दै जानुपर्ने रहेछ भन्ने हुने रहेछ।
कान्समा अर्को फरक फिल्मको प्रदर्शन हो। तीन पटक अफिसियल्ली प्रदर्शन हुन्छ। अनि फिल्म किनबेच हुन्छ।
अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा पुग्न कस्तो कथा, प्रस्तुति हुनुपर्दो रहेछ?
कान्सको अनुभवमा कुनै फिल्म अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुग्न कथाको प्रस्तुति र कथाको सत्यतालाई महत्त्व दिएको मैले पाएँ। जस्तो‚ कथामा नयाँपन खोजिने रहेछ। हामीकहाँ एकादेशमा यस्तो थियो यस्तो थियो भन्ने खालको कथा भन्ने चलन छ। त्यो तरीका पुरानो भइसक्यो। अब नयाँ तरीकाले कथा भन्नुपर्यो।
कथा कति अथेन्टिक छ भन्ने पनि खोजिंदो रहेछ। यस्तै‚ कथा लोकल हुनैपर्छ। कान्स ७५ वर्षदेखि भइरहेको छ। त्यहाँ विश्वका उत्कृष्ट फिल्महरू छनोट गरिन्छन्। छनोट भएका अधिकांश फिल्महरू अस्कर अवार्ड विजेता हुन्छन्। ती फिल्म कथा‚ भन्ने शैली र विषयवस्तुमा अथेन्टिक हुने रहेछन्।
तपाईं धेरै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा सहभागी भइरहनुहुन्छ‚ ती फेस्टिभलहरूमा नेपालबाट कस्ता फिल्म गइरहेका छन्?
नेपालबाट थोरै फिल्म मात्र जान्छन्। दीपक रौनियारको हाइवे‚ मीनबहादुर भामको कालोपोथी गएको छ। लोकल स्टोरी भएका फिल्म सहभागी हुने रहेछ। तथ्यमा आधारित ओरिजिनल स्टोरी भएका फिल्म छनोट हुने रहेछ। त्यो भन्दैमा फेस्टिभलका लागि भनेर फिल्म बनाउने पनि होइन।
अहिले इन्टरनेटको माध्यमबाट विश्व ग्लोबलाइजेशन भइसकेको छ। फिल्म भनेको आर्ट हो। त्यो आर्टलाई बढीभन्दा बढीले हेरून् भन्ने चाहना हो। कुनै फिल्म फेस्टिभलमा गइसकेपछि दर्शक बढ्छन्। मेरो फिल्म कान्समा गइसकेपछि धेरै फिल्म फेस्टिभलहरूले मागिसकेका छन्। सँगै सेल्स एजेन्सीहरूले फिल्म बेच्न आग्रह गरेका छन्। मैले यो फिल्म त नेपालका लागि बनाएको हुँ। तर‚ वाइडर अडियन्स पाए झन् राम्रो।
तपाईंलाई कथा लेख्न के कुराले प्रेरित गर्छ?
मलाई के खट्किरहेको छ‚ के कुराले समस्या बनाइरहेको छ‚ त्यो विषयमा कथा लेख्छु। जस्तै- कुनै कुराले मलाई एकदमै गाह्रो भइरहेको छ। त्यो कुरा म कथा मार्फत भन्न सक्छु। त्यो किन भइरहेको छ भन्ने प्रश्न गर्न सक्छु। जस्तै- मैले काठमाडौंमा रहनुभएकी क्यान्सरपीडित आफन्त दिदीको कथा लेखें।
नेपालमा धेरै समस्या छन्। ती समस्याहरू किन‚ कसरी‚ भइरहेका छन् भन्ने थाहा पाउन कथा लेख्छु। मेरो जेन भन्ने कपिलवस्तुका एक विद्यार्थी छन्। उनले आफ्नो गाउँको बालविवाहबारे सुनाए। विवाहमा दुलाहालाई रूखको हाँगामा चढ्न लगाइने रहेछ। उनले हाँगामाथिबाट भुइँमा रहेकी दुलहीलाई हेरेर मलाई राम्रोसँग पाल्न सक्छस् कि सक्दैनस्? पाल्न सक्छस् भने मात्रै तँसँग बिहे गर्छु नत्र गर्दिनँ भनी प्रश्न गर्दो रहेछ।। यो कुराले मलाई तानिहाल्यो। लोरी फिल्मको अन्तिमको दृश्य त्यही राखेको छु। यस्ता कुराले पनि कथा लेख्न प्रेरित गर्छ।
अहिले मीनसँग एउटा काम गरिरहेको छु। यो मीनले लेखेका बुद्धिज्मबारे कथा हो। त्यसको कथा र क्यारेक्टरलाई अझै राम्रो बनाउन सक्छु कि भनेर लागिरहेको छु। कथालाई नयाँ तरीकाले कसरी भन्नेमा लागिरहेको छु। यसका लागि म गुम्बामा नै बसिरहेको छु। यहाँ धेरै लामा हुनुहुन्छ। केही समस्या भए उहाँहरूलाई सोधिहाल्छु।
तर‚ म प्रायः घरमै बसेर कथा लेख्छु। बाहिर गएर एकदमै कम लेख्छु। मेरो लेखन प्रायः रातको समयमा हुन्छ। राति शान्त र कम डिस्टर्बेन्स हुने भएर पनि होला। लेख्न शुरू गर्न चाहिं समय लाग्छ‚ शुरू गरेपछि लगातार लेख्छु।
कथाको रिसर्च पनि गर्नुपर्छ। मोटामोटी कति समयमा कथा सक्नुहुन्छ?
अहिले इलेफेन्ट इन द फग भन्ने स्टोरी लेखिरहेको छु। यस कथाका लागि कोभिड-१९ को बन्दाबन्दीभन्दा अघि सम्बन्धित ठाउँमा तीन महीना बताएको थिएँ। तीन-चार चरणमा लेखिसकेको छु। अझै रिसर्च गर्नुपर्ने छ। किनकि‚ कतिपय कुरा लेख्दै गर्दा पुनः रिसर्च गर्नुपर्ने हुन्छ। कति पहिल्यै रिसर्च गरेर लेखिंदो रहेछ। व्यक्तिगत कथामा भने त्यति रिसर्च गर्नु पर्दैन। मैले भोगेको कुरा तपाईंले भोग्नुहुन्न नि त। आफ्नै कथा भन्न सके एकदमै फरक र अथेन्टिक हुन्छ। त्यसैले स्टोरीमा मेरो आफ्नो स्टोरी कसरी ल्याउने भनेर प्रयास गर्छु।
सिंहदरबार टिभी सिरिज लेख्दा धेरै रिसर्च गरिएको थियो। सर्च फर कमन ग्राउन्ड भन्ने संस्थाले रिसर्च गर्न नेपालको धेरै ठाउँ लगेको थियो। रिसर्चका लागि करीब एक वर्ष लाग्यो। यसको कथा लेख्दा पनि अड्किने बित्तिकै पुनः रिसर्च गरिएको थियो।
तपाईं जस्ता फिल्ममेकरहरू हामीसँग प्रशस्त कथा छन् भन्नुहुन्छ, तर मेनस्ट्रिमका फिल्ममा ती कथाहरू किन कम आउँछन्?
मेनस्ट्रिम फिल्ममा केही सीमा हुन्छन्। जस्तो- कसरी धेरै आम्दानी गर्ने भन्ने हुन्छ। उहाँहरूले कथा त ल्याउन खोज्नुहुन्छ, तर दर्शक तान्ने विषयवस्तुलाई समेट्न आवश्यक ठान्नुहुन्छ। जसले गर्दा कथा त्यति अथेन्टिक नहुने रहेछ। जस्तै‚ कबड्डी फिल्मका चार वटै सिक्वेलमा अन्य फिल्मका भन्दा लोकल कथा छ। तर‚ त्यहाँ पनि व्यावसायिकता मिसाइएको छ।
नायिका सुरक्षा पन्तको अन्तर्वार्ता हेरेको थिएँ। उहाँले नेपालका मान्छेहरू आफ्नो स्टोरीलाई विश्वासै नगर्ने रहेछन् भन्नुभएको थियो। मलाई त्यो कुरा महत्त्वपूर्ण लाग्यो। हो‚ विश्वास गर्दैनन्। बाहिर जे चलेको छ‚ त्यस्तै स्टोरी चल्दो रहेछ भनेर हाम्रोमा कथा ल्याइन्छ।
कान्समा नेपाली फिल्मलाई एप्रिसिएशन भइसकेको छ। अबको हाम्रो लक्ष्य के हुनुपर्छ? तपाईंको तयारी के छन्?
कान्समा मेरो फिल्म छनोट हुँदा आत्मविश्वास बढेको छ। ठीक काम गरिरहेको रहेछु भन्ने लागेको छ। काम गर्दै जाँदा ठीक त गरिरहेको छु कि छैन भन्ने लागिरहन्थ्यो। कान्सले त्यो शङ्का मेटिदिएको छ। कान्समा गएपछि रिकग्नाइज हुने रहेछ। म त्यहाँ एउटा फिचर फिल्मका लागि प्रोड्युसर खोज्न गएको थिएँ। रिकग्नाइज भइसकेपछि धेरैले प्रोड्युस गर्छु भन्नुभएको छ।
अहिले मीन भामसँग सहलेखन गरिरहेको छु। अर्को वर्षको हिउँदमा बनाउने गरी फिचर फिल्मको तयारी पनि गरिरहेको छु। मीनसँगको काम सकिन बित्तिकै त्यसमै लाग्छु। कान्सले ऊर्जा दिएको छ। कसरी झन् राम्रो फिल्म बनाउने भन्नेमा केन्द्रित भएको छु। हाम्रोमा यति धेरै जातजाति‚ संस्कृति छन्। त्यहाँ कथा भन्ने शैली पनि फरक छन्। त्यहाँबाट नयाँ चिज आउन सक्छ। त्यसमा पनि ध्यान दिएको छु। नत्र त रामायण, राति राति हजुरआमाले भन्ने कथा जस्तो मात्र हुन्छ।
फिल्मकर्मीहरूलाई राज्यले के गरिदिए सहज हुन्थ्यो भन्ने लाग्छ?
फिल्मलाई मनोरञ्जनको साधनका रूपमा मात्र लिनु हुँदैन। नाचगाना मात्र होइन नि‚ फिल्म एउटा आर्ट हो। मनोरञ्जनको साधन पनि हो, तर यसबाट धेरै कुरा भन्न सकिन्छ। फिल्मले धेरै दर्शकलाई प्रभाव पार्न सक्छ। फिल्म क्षेत्रलाई मनोरञ्जनका रूपमा मात्र नलिइदिन हुन अनुरोध गर्दछु। फिल्ममेकरहरूलाई राज्यले सहयोग गर्नुपर्छ।