एअर अरेबिया र फ्लाई दुबईले पनि गौतमबुद्ध विमानस्थलबाट उडान भर्ने
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले पनि नियमित उडान भर्ने भएका छन्।
नियमित उडान भर्न एअर अरेबिया र यूएईको फ्लाई दुबई कम्पनीले प्रक्रिया अघि बढाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ। यी दुवै संयुक्त अरब इमिरेट्स (यूएई) का अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी हुन्।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार, एअर अरेबियाले आउँदो दुई हप्ताभित्रै नियमित व्यावसायिक उडानका लागि इच्छा प्रकट गर्दै प्रक्रिया थालेको छ। गौतमबुद्ध विमानस्थलबाट श्रम गन्तव्य मुलुक जान चाहने यात्रुको माग तथा चाप पनि उच्च रहेको छ। सोही कारण अन्य विदेशी वायुसेवा कम्पनीले पनि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि रुचि देखाएका हुन्।
यसै गरी एक महीनाअघि विमानस्थल उद्घाटनसँगै साताको तीन दिन नियमित उडान शुरू गरेको जजिरा एअरलाइन्सले पनि छिट्टै हप्तामा सात वटा उडान गर्ने तयारी गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख गोविन्दप्रसाद दाहालले बताए।
हाल काठमाडौं-कुवेत रुटका लागि जजिराको न्यूनतम भाडा ३३ हजार रहेको छ। भैरहवा-कुवेत रुट भएर आवतजावत गर्दा भने यसमा २० प्रतिशत अर्थात् ६ हजार ६ सय कममा सेवा दिंदै आएको जनाइएको छ।
जजिरा एअरले छिटै आफ्नो उडान तालिका परिवर्तन गरी बिहान पनि उडान सेवा सञ्चालन गर्ने योजना बनाएको जजिराको नेपालका लागि आधिकारिक जिएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रविचन्द्र सिंहले बताए।
उनका अनुसार, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल मार्फत यात्रुले कुवेत भएर खाडीका विभिन्न मुलुकका साथै जर्जिया, इजिप्ट, अजरबैजान लगायत कुवेत हब बनाएर जजिराले उडान सञ्चालन गरिरहेका सबै गन्तव्य जाने सेवा लिंदै आएका छन्। पछिल्लो समय वैदेशिक रोजगारीमा जाने-आउने यात्रुका लागि यो विमानस्थल सहज भएको बताइएको छ। (रासस)