नेपाल एसीसी च्याम्पियनशिपको सेमिफाइनलमा
नेपाल बहराइनलाई पराजित गर्दै एसीसी महिला टी-२० च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
मलेशियामा सोमबार भएको तेस्रो खेलमा नेपालले बहराइनलाई आठ विकेटले पराजित गरेको हो। बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो।
नेपालका लागि सीता राना मगरले चार र कविता जोशीले तीन रन बनाए। नेपालले अतिरिक्त आठ रन पायो।
बहराइनका लागि पभिथ्रा सेट्टी र विल्सिटा बार्बोजाले एक–एक विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको बहराइनले सात ओभरमा सबै विकेट गुमाएर १४ रन बनाएको थियो। नेपालका लागि कविता कुँवर र सबनम राईले दुई–दुई तथा अस्मिना कर्माचार्यले एक विकेट लिए।
नेपाल लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो। समूह ‘बी’ मा रहेको नेपाल ६ अङ्क सहित शीर्षस्थानमा छ।
हङकङले चार, कुवेत र बहराइनले एक–एक अङ्क जोडेका छन्। भुटानले अङ्क जोड्न सकेको छैन।
अब नेपालले लिग चरणको अन्तिम खेल भोलि हङकङसँग खेल्नेछ।