पाँचथर–चितवन पुगेको मोरङ्गेको खोजी
आदिवासीहरूले उपयोग गर्दैै आएको मोरङ्गे वनस्पति संरक्षण र प्रवर्द्धन गर्नुपर्ने अवस्थामा पुगेको छ।
मोरङ्गे भन्दा धेरैले मोरङवासी भन्ने बुझ्छन्। वनस्पतिशास्त्र अध्ययन गर्न मोरङ जिल्लाको विराटनगर बस्दा एउटा वनस्पतिको नाम नै ‘मोरङ्गे’ भएकाे थाहा पाएँ।यसको मोरङसँग केही तादात्म्य होला भन्ने अनुमान गरें।
याे वनस्पतिबारे जानकारी हासिल गर्ने प्रयास गर्दा स्थानीयले मोरङ्गेबारे अनभिज्ञता जनाए। बिदामा घर गएका वेला लेटाङका बूढापाकालाई यसबारे सोधखोज गर्दा नजिकको राजारानी पोखरीमा पाइन्छ भन्ने थाहा भयो। स्थानीय मगर समुदायले सो वनस्पतिको मीठो तरकारी र अचार बन्छ भन्ने सुनाए।
‘मोरङ्गे’ सिमसारमा पाइने वनस्पति रहेछ। जङ्गलतिरको प्राकृतिक पोखरीमा पनि पाइँदो रहेछ। यो दुई-तीन फिट गहिरो लेउ भएको पानीमा झाडी वर्गका वनस्पति नजिक हुने रहेछ। ‘लसिया स्पिनोसा’ वैज्ञानिक नाम भएकाे यो वनस्पति राजारानी पोखरीमा पानीभित्र डुबेकै अवस्थामा रहने फूल फुल्ने तर पानीभित्र डुबेर रहने वनस्पतिसँगै हुने रहेछ। जसको बोटानिकल नाम ‘सेराटोफाइलम सब्मर्सम’ हो। राजारानी पोखरी नजिकको हिलो र छायाँ पर्ने जमीनमा पनि भेटियो।
करीब एकदेखि दुई मिटरसम्म अग्लो हुने मोरङ्गेको डाँठको गोलाइ २.५ सेमी र काँडेदार हुन्छ। यसको पातको डाँठमा पनि मसिना काँडा हुन्छन्। पातको आकार कलिलोमा तीर आकारको, छिप्पिएपछि नचिरिएको हत्केला आकारको र बूढो भएपछि चिरिएको हत्केला आकारको हुन्छ।
यसको फूल झण्डै पिंडालुको जस्तै तर गाढा रातो–कालो रङको हुन्छ। यो वनस्पति चिसो पानी, बग्ने पानी भएको पोखरी, पानीमुनि ढुङ्गा भएको जमीन र भासिने ठाउँमा आधाउधी तैरिएर रहेको अवस्थामा पनि पाइन्छ। पानीमुनिको जमीनमा यसको जरा हल्का टाँसिएको र धेरैको त पानीमा अन्य लेउ, घाँससँग टाँसिएर रहेको हुन्छ।
यसको स्वरूप कर्कलासँग मिल्न खोज्छ। यसको पहिलो वैज्ञानिक जानकारी सन् १७९० मा प्रकाशित भएको थियो। पोर्चुगिज वनस्पतिविद् जोओ दी लोउरेइरोले भियतनामका वनस्पति सम्बन्धी पुस्तक फ्लोरा कोचिनचाइनन्सिस लेख्दा यसको वैज्ञानिक नाम लसिया एक्युलिएटा लेखिएको थियो। श्रीलंकाको वनस्पतिबारे लेखिएको सामग्रीमा यसको वैज्ञानिक नाम लसिया स्पिनोसा उल्लेख गरियो। त्यसपछि यसको वैज्ञानिक नाम लसिया स्पिनोसा नै कायम छ।
हिजोआज यो प्रजाति पूर्वी एशिया लगायत पपुवा न्यूगिनीसम्म पान्छ। सन् १९९७ मा यसको अर्को प्रजाति इन्डोनेशियामा पाइएको थियो, जसको नाम लसिया कोन्किन्ना छ। नेपालमा अहिलेसम्म लसिया स्पिनोसा मात्र पाइएको जानकारी छ। यो प्रजाति जापानको वनस्पतिविद् हिरोसी हाराले सर्वप्रथम सन् १९६६ मा नेपालमा फेला पारेका थिए। मोरङ्गे पूर्वी नेपालको दक्षिणतर्फका जिल्लाहरूमा जङ्गल नजिकको सिमसार क्षेत्रमा पाइन्छ। बर्खामा यसको कलिलो पात तथा मुन्टा साग र अचार बनाउन प्रयोग गरिन्छ।
पश्चिममा यो चितवनसम्म पाइछ। चितवनको बीस हजारी तालमा पाइने वनस्पतिहरूको अध्ययनका क्रममा ‘मोरङ्गे’ लाई पूर्वेली साग नामले चिनिने कुरा प्राध्यापक डा. शशीनाथ झाले उल्लेख गरेका छन्।
साथै, राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीमा सङ्गृहीत नमूनामा यो पूर्वमा मोरङ, सप्तरी, इलाम, पाँचथर र मध्य नेपालको चितवनमा १०० देखि ६०० मिटरको उचाइसम्म पाइँदो उल्लेख छ। साथै, यो वनस्पति संखुवासभाको तल्लो भेगमा पनि पाइने बताइन्छ।
कसरी जोडियो मोरङ जिल्लासँग नाम ?
मोरङको पुरानो नाम मौरङ वा मुरेहाङ हो। इतिहासको कुनै कालखण्डमा त्यहाँ एक शक्तिशाली राज्य थियो। यसको पश्चिमी सिमाना गण्डकी र पूर्वमा त्रिस्रोता वा टिष्टा (महानदी), दक्षिणमा चम्पारण, कूचविहार, असम (कामरूप) र उत्तरमा चुरिया (चुरेपहाड) सम्म फैलिएको थियो भन्ने जानकारी डा. राजाराम सुवेदीलिखित नेपालको तथ्य इतिहासमा उल्लेख छ। मोरङमा सेनकालअघि याक्थुङहाङ लिम्बू राजाहरूको राज्य थियो। लिम्बू राजाले राज्य गरेकाले यो जिल्ला एक लिम्बुवान राज्य र राजधानी धरानस्थित विजयपुर थियो।
अर्को जानकारी अनुसार पूर्वी नेपालको तराईमा मरोहाङ नाम भएका याक्थुङ राजाले राज्य सञ्चालन गरेको र उनैको नामबाट मोरङ रहन गएको मानिन्छ।
२०१८ सालसम्म नेपालमा ३५ जिल्ला हुँदा आजका झापा, मोरङ र सुनसरी जिल्ला एकै मोरङ जिल्लामा थिए। यो जिल्ला पूर्वी नेपालको तल्लो भूभागमा रहेको र यहीं मात्रै यो वनस्पति प्रशस्त पाइने हुँदा ठाउँकै नामबाट मोरङ्गे रहन गएको अनुमान छ।
मोरङ्गेको उपयोग
मोरङ्गेलाई एशिया महादेशका थुप्रै आदिवासीले परम्परागत औषधि र खानाका लागि प्रयोग गर्ने गरेको पाइन्छ। विशेषतः श्रीलंका, बाङ्लादेश, भारत, चीन, भियतनाम लगायत देशमा मोरङ्गेको प्रयोग तरकारी र औषधिका लागि हुने गरेको पाइन्छ (रनिल र अरूहरू, सन् २०१९)।
श्रीलंकामा यसको डाँठको बोक्रा ताछेर पकाएर वा काँचो नै पनि खाने गरिन्छ। उनको लेखमा मोरङ्गेको डाँठ र पातलाई पाइल्स हुँदा, क्षयरोग हुँदा, रुघाखोकी, सर्पले टोकेमा, बाथ रोग लागेमा प्रयोग गरिने कुरा उल्लेख छ।
नेपालबाट विभिन्न समुदायले प्रयोग गर्ने वनस्पतिको अभिलेखीकरण सम्बन्धी प्रकाशित लेख हेर्दा मोरङ्गेलाई इलाम र बेतना मोरङका स्थानीय र चितवनका थारू समुदायले तरकारीका रूप प्रयोग गर्ने उल्लेख छ।
कृष्णराम भट्टराईले सन् २०१८ मा ‘इलामका स्थानीयहरूले परम्परागत रूपमा प्रयोग गर्ने वनस्पति’ लेखमा यसको पातलाई पाइल्स हुँदा र पेटमा जुका पर्दा औषधिका रूपमा प्रयोग गर्ने गरिएको उल्लेख गरेका छन्।
नेपालमा मोरङ्गेकोे प्रयोग सम्बन्धी विस्तृत जानकारी दिने कुनै अभिलेख छैन। सहप्राध्यापक डाक्टर भवीन्द्र निरौलाले आफ्नो एक शोध लेखमा मोरङ्गे बेतनाको सिमसारमा पनि पाइने र त्यहाँका स्थानीयले खानका लागि प्रयोग गर्ने गरेको कुरा उल्लेख गरेका छन्।
पूर्वमा रहेका आदिवासी समुदायको मोरङ्गे सम्बन्धी जानकारी लिन म र सुम्दिप राई विराटनगरबाट पूर्वतर्फ लाग्यौं। धिमाल जातिको बाहुल्य रहेको बेतना क्षेत्रमा त्यहाँका स्थानीयले अझै पनि मोरङ्गे तरकारीका लागि प्रयोग हुने बताए। मोरङ्गेको प्रयोग सम्बन्धी अझ बढी जानकारी झापा दमक आसपासमा बसोबास गर्ने धिमाल जातिहरूमा रहेको कुरा त्यहाँ सुनेपछि हामी दमकतर्फ लाग्यौं।
मोरङ्गे बाह्रैमास पाइने र अरू केही सागसब्जी नपाउँदा यसको कलिला मुन्टा, पात साग र अचारका लागि उपयोग हुने गरेको दमक नगरपालिका–१ का स्थानीय राम धिमालले बताए। तर, आजकाल जङ्गलमा प्रचुर मात्रामा नपाइने र विरलै प्रयोग हुने उनले बताए।
धिमाल भाषामा मोरङ्गेलाई ‘मोरमोरे’ भनिने रहेछ। पहिले बर्खामा मोरङ्गेको प्रशस्त मुन्टा पलाउँदा यसको गुन्द्रुक पनि बनाउने गरिएको रहेछ। धिमाल जातिको परम्परामा विवाह भएको केही दिनपछि नयाँ बेहुला–बेहुलीहरू आफ्नो परिवार सहित जङ्गल, खोला सिमसारतिर जङ्गली खानेकुरा खोज्न निस्कने, सोही क्रममा माछा, घोघी, निगुरोसँगै ‘मोरङ्गे’ पनि टिपेर तरकारी र अचार जङ्गलमै बनाएर खाने प्रचलन छ।
मोरङ्गेको प्रयोग सम्बन्धी थप जानकारी खोज्दै जाँदा, सुदीप राईको पुर्ख्यौली गाउँ झापाको हल्दिबारी गाउँपालिकाका स्थानीयले पनि ‘मोरङ्गे’ को प्रयोग गर्ने गरेको कुरा थाहा पाएपछि हामी त्यहाँ पनि पुग्यौं।
सोही गाउँपालिकामा पर्ने जलथल जङ्गल नजिकै बसोबास गर्ने सतार समुदायसँग बुझ्दा मोरङ्गेलाई उनीहरूको भाषामा कान्टाकुचा भन्दा रहेछन्। उनीहरूले यसलाई प्रायः तरकारी र अचारका लागि प्रयोग गर्ने बताए।
जङ्गलको निगुरो, खोला खोल्सोको माछा खोजेर बेचबिखन गर्दै गुजारा गर्ने यो समुदायका व्यक्ति मोरङ्गे निगुरोभन्दा बढी रुपैयाँमा बिक्री हुने र बर्खाको समयमा आय आर्जनको प्रमुख स्रोतका रूपमा रहेको बताउँछन्।
त्यसै गरी सुन्दरहरैंचा–१, पचाम, मोरङमा बसोबास गर्ने खवास (थारू) समुदाय पनि पहिला पहिला जङ्गल जाँदा मोरङ्गे खोजी–खोजी ल्याएर खाइने बताउँछ। उनीहरूको भाषामा मोरङ्गेलाई मोरुवा साग भनिने र छठ पर्वमा मोरङ्गेलाई नरिवल, उखु जस्तै सूर्य भगवान्लाई चढाइने गरेको छ।
यसरी पूर्वी नेपालमा पाइने र एक जिल्लासँग नाम जोडिएको यहाँको आदिवासीले प्रयोग गर्ने ‘मोरङ्गे’लाई वनस्पति सम्बन्धी अभिलेखीकरण गर्ने निकायले ध्यान दिनु जरुरी छ।
बढ्दो सामाजिक र आर्थिक परिवर्तनले नयाँ पुस्तामा वनस्पतिको प्रयोग सम्बन्धी परम्परागत ज्ञान घट्दै गएको छ। सडक विस्तार, सिमसारमा मनोरञ्जनात्मक क्षेत्रकाे विकास, वन क्षेत्रको विनाश जस्ता कार्यले मोरङ्गेको वासस्थानको विनाश भइरहेको छ। साथै, वनस्पतिको प्रयोग सम्बन्धी परम्परागत ज्ञान अभिलेखीकरण गर्ने अनुसन्धानका कार्य पनि कर्तव्यमुखी नभई कामचलाउ र अन्यत्रबाट प्रतिलिपीकरणले यस्ता महत्त्वपूर्ण जानकारीहरूको अभिलेखीकरण हुन सकेको छैन।