सडकको सास्ती: ४७ किलोमिटर पार गर्न चार घण्टा
सिद्धिचरण राजमार्ग अन्तर्गत घुर्मी–कटारी सडकखण्ड कालोपत्रे गरेको पाँच वर्ष नबित्दै जीर्ण बनेको छ। मर्मत सम्भार नहुँदा सडक जीर्ण भएको हो।
सडक जीर्ण हुँदा यात्रादेखि उपभोग्यवस्तु ढुवानीमा सकस भइरहेको छ। २०५८ सालदेखि सञ्चालनमा आएको उदयपुरको घुर्मी–कटारी सडक जीर्ण हुँदा जोखिम बढेको खोटाङ यातायात प्रालिका अध्यक्ष टेकेन्द्र राई बताउँछन्। साँघुरो सडक जीर्ण भएपछि जोखिम मोलेर यातायातका साधन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
“यात्रा असहज भइरहेको छ। दुर्घटनाको जोखिम बढेको छ। यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्,” अध्यक्ष राईले भने, “खाद्यान्न ढुवानी महँगो भइरहेको छ। ढुवानी महँगो हुँदा मूल्य बढेको छ।”
सडकमा कालोपत्रेको नामनिशान छैन। ठाउँ ठाउँमा सडक भत्किंदा र खाल्डाखुल्डी हुँदा सवारी साधन दायाँ-बायाँ कोल्टिँदै गुड्ने गरेका छन्। हिउँदमा धूलो उड्ने र वर्षा याममा हिलाम्य हुने गरेको छ। हिलोमा सवारी साधन भासिने र कतिपय उकालोमा उक्लिन नसक्ने समस्या छ। सबैभन्दा बढी समस्या गहुँबारीदेखि घुर्मीसम्म छ।
बढीमा १० टन भार क्षमताको सवारी साधन सञ्चालन हुनुपर्ने भए पनि सडकमा सोभन्दा बढी भार क्षमताको सवारी साधन गुडाउँदा पचि चाँडो उप्किएको अनुमान छ। सडकको दुरावस्थाकै कारण खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा दैनिक उपभोग्य वस्तु भित्र्याउन कठिनाइ भइरहेको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष उपीनकुमार राई बताउँछन्।
“यो सडकमा जोखिम छ। सडक दुर्घटना भइरहेको छ। ४७ किलोमिटर पार गर्न तीन/चार घण्टा लाग्छ,” उनले भने, “उपभोग्यवस्तु ढुवानीको भाडा बढ्दा महँगी बढेको छ। कहिलेकाहीं हप्ता दिनसम्म सडक अवरुद्ध हुँदा दैनिक उपभोग्यवस्तु आपूर्तिमा समस्या भइरहेको छ।”
घुर्मी–कटारी सडक खोटाङ, ओखलढुङ्गा‚ सोलुखुम्बु र पूर्वी तराई जोड्ने एक मात्र सडक हो। सडक जीर्ण हुँदा तीन जिल्लाका भौतिक निर्माणमा समेत असर परेको छ।
मर्कामा हलेसी आउने तीर्थयात्री
घुर्मी–कटारी सडक जीर्ण हुँदा खोटाङको त्रिधार्मिकस्थल हलेसीधामको दर्शनमा आउने यात्रु मर्कामा परेका छन्। हलेसीको दर्शन गर्न भुटान, भारतको बिहार, दार्जीलिङ, सिक्किम लगायत ठाउँबाट भक्तजन आउँछन्।
उनीहरू सार्वजनिक यातायात तथा गाडी रिजर्भ गरेर आउने गरेका छन्। तर, उदयपुरको कटारीबाट घुर्मीतर्फ लागेपछि यात्रा सकसपूर्ण हुने गर्दछ। त्यसैले धेरैजसो पर्यटक तथा दर्शनार्थी सडककै कारण हलेसी आउन हिचकिचाउने गरेका छन्।
पूरा भएन मन्त्रीको प्रतिबद्धता
सिराहाको मिर्चैया–उदयपुरको कटारी–घुर्मी सडक जीर्ण भई दुर्घटना हुँदा जनधनको क्षति भएको भन्दै खोटाङ, उदयपुर, ओखलढुंगा र सोलुखुम्बु उद्योग वाणिज्य संघले २०७७ चैत ३१ मा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई ज्ञापनपत्र बुझाएका थिए।
यस्तै‚ स्तरोन्नतिका लागि बजेट व्यवस्था गर्न माग गर्दै खोटाङ यातायात प्रालिले २०७८ वैशाख ६ देखि अनिश्चितकालीन घुर्मी–कटारी–मिर्चैया सडक बन्द गरेको थियो।
सडक बन्द भएपछि तत्कालीन यातायात मन्त्री नेम्वाङले सडक स्तरोन्नतिका लागि पर्याप्त बजेट व्यवस्था गर्दै बहुवर्षीय योजनाका रूपमा अघि बढाउने र दुई वर्षभित्र दुई लेनको कालोपत्रे सडक बनाउने प्रतिबद्धता जनाएका थिए। त्यसको चार दिनपछि बन्द फिर्ता भएको थियो। तर, नेम्वाङले भने जसरी काम नभएको वाणिज्य संघका अध्यक्ष राई बताउँछन्।