उत्पादनमूलक उद्योगले ब्यांकबाट लिएको ऋणको ब्याजदर ९.४ प्रतिशत
नेपालका उत्पादनमूलक उद्योगले लिएको ऋणको ब्याज औसतमा ९.४ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ।
नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरूको औद्योगिक गतिविधिको अध्ययन गरेर सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदनको तेस्रो अङ्कले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म उत्पादनमूलक उद्योगले लिएको ऋणको लागत उच्च भएको देखाएको हो। गत वर्षको यही अवधिमा उत्पादनमूलक उद्योगले लिएको ऋणको ब्याज औसतमा ८.६ प्रतिशत मात्रै थियो।
ब्यांक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभावसँगै ब्याजदर बढ्दै गएको छ। पुससम्म सेवा क्षेत्रका उद्योगले औसतमा ९.१ प्रतिशत ब्याज तिरेको अध्ययनले देखाएको छ।
उत्पादनमूलक उद्योगले आफ्नो चालू पूँजीको ४३.८ प्रतिशत ब्यांक तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ। अघिल्लो वर्षको सोही अवधिमा उद्योगले ५४.१ प्रतिशत ऋण लिएका थिए।
चालू आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्याङ्क प्रतिवेदनमा समेटिएको छ। यस प्रतिवेदनले उक्त अवधिमा उद्योगले आफ्नो कुल उत्पादन क्षमताको ७१ प्रतिशत क्षमता उपयोग गरेको देखाएको छ।
प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासिकको तुलनामा चालू आर्थिक वर्ष सोही अवधिमा उद्योगको आय वृद्धिदर २७.१ प्रतिशत बढेको देखाएको छ। प्रतिवेदन अनुसार व्यवसायको क्षमता उपयोग सुधारोन्मुख देखिन्छ।
नेपालका उत्पादनमूलक उद्योग अझै पनि विद्युत्का लागि जेनेरेटरमा भर पर्नुपरेको अध्ययनको निष्कर्ष छ। विद्युत्को आपूर्तिमा आउने समस्याका कारण अझै पनि ६४.४ प्रतिशत उद्योगले जेनेरेटर प्रयोग गरिरहेको अध्ययनले देखाएको छ। त्यसै गरी ६५.५ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि आफू तयार रहेको बताएका छन्।
नेपालको औद्योगिक क्षेत्रको विश्वसनीय आवधिक तथ्याङ्क नभएको पृष्ठभूमिमा परिसंघले यस्तो प्रतिवेदन तयार गरेको हो। परिसंघ अन्तर्गतको रिसर्च सेलले उद्योगसँगको सर्वेक्षणका आधारमा प्रतिवेदन तयार पारेको जनाएको छ।