बिहान र बेलुका चल्ने भयो महानगरको पूर्वाधार एम्बुलेन्स
काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्याएको पूर्वाधार एम्बुलेन्स बिहान र बेलुका चल्ने भएको छ।
एक साताअघि महानगरका मेयर बालेन्द्र साहले पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याएका थिए। यसमा प्राविधिक सहितको टोली खटिने गरेको छ।
दिउँसोको समयमा सडकमा मर्मतको काम गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेपछि बिहान र साँझ मात्र पूर्वाधार एम्बुलेन्स सञ्चालन गरिने भएको महानगरले जनाएको छ।
सडकका खाल्डा पुर्न पूर्वाधार एम्बुलेन्सको प्रयोग गरिंदै आएको छ। यसअघि फोहोर बोक्ने दुई गाडीलाई सरसफाइ गरेर यस काममा बदलिएको हो।
महानगरका इन्जिनियर कामदार सहित ६ जनाको टोली नागरिकको गुनासो अनुसार टोल टोलमा पुगेर सडकको मर्मतको काम भइरहेको छ। महानगरको भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाका अनुसार, कल सेन्टर मार्फत सडकपेटी, ढल, इँटा, ब्लक बिग्रेको र भत्केको गुनासो आउनासाथ उक्त टोली तत्काल पुगेर काम शुरू गर्छ।
अहिलेसम्म डल्लु, नयाँ बानेश्वर, बुद्धनगर र बालुवाटार क्षेत्रबाट धेरै गुनासो आएको उनले बताए। गुनासो आएको क्षेत्रमा काम भइरहेको उनले बताए।