सुशील कोइरालाकै पालामा एसपीपीका लागि सहमति दिइएको हो: प्रदीप ज्ञवाली
अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी)मा सहभागिताका लागि सुशील कोइराला प्रधानमन्त्री हुँदा नै रक्षा मन्त्रालयले स्वीकृति दिएको नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले जिकिर गरेका छन्।
मदन भण्डारी फाउन्डेशनले शनिबार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान कूटनीतिक अभ्यास र यसको प्रभाव’ विषयक अन्तरक्रियामा बोल्दै पूर्व परराष्ट्र मन्त्री ज्ञवालीले एसपीपीका विषयमा आफ्नो धारणा राखेका हुन्। “२०७२ असोज १३ गते रक्षा मन्त्रालयबाट अनुमति लिएर सेनाले पत्र लेखेको देखिन्छ,” ज्ञवालीले भने।
एसपीपीमा सहभागिताका लागि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले काठमाडौंस्थित अमेरिकी दूतावासलाई पठाएको पत्र बिहीबार सार्वजनिक भएको थियो। सेनाले २०७२ कात्तिक १० गते पत्र पठाएको थियो। त्योभन्दा १५ दिनअघि असोज २४ गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका थिए। ओलीले यस विषयमा आफूलाई जानकारी नदिएको जिकिर गरेका थिए।
एमाले नेता ज्ञवालीले भने ओली प्रधानमन्त्री हुनुअघि नै रक्षा मन्त्रालयले दिएको स्वीकृतिका आधारमा सेनाले पत्र पठाएको दाबी गरेका हुन्। सुशील कोइराला नेतृत्वको सरकारमा एमाले पनि सहभागी थियो।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले पनि ज्ञवालीको भनाइमा सहमति जनाए। ओली नेतृत्वमा गठन भएको सरकारमा माओवादी पनि सहभागी थियो।
शुक्रबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानसेनापति प्रभु शर्माले पनि त्यति वेला सरकारको सहमतिमै एसपीपीका लागि पत्र पठाएका बताएका थिए। तर, सुशील कोइराला कि ओली नेतृत्वको सरकार भनेर खुलाएका थिएनन्।