मल नहुँदा रोकिंदै रोपाइँ, बेर्ना सुक्ने चिन्ता
बेर्ना हुर्किएको भए पनि मलको अभावमा किसानले रोपाइँ गर्न पाएका छैनन्। नेपालमा किन्न पाइएको छैन भने भारतबाट ल्याउन नेपाली सुरक्षाकर्मीले नै नदिएको किसानको गुनासो छ।
कैलालीको कैलारी गाउँपालिकाका राजाराम चौधरी आठ बिघा खेतमा रोपाइँ गर्ने तयारीमा छन्। धानको बेर्ना पनि तयार छ। “धान रोप्दा डीएपी मल चाहिन्छ, तर जति कोशिश गर्दा पनि पाएको छैन,” राजारामले भने, “बेर्ना हुर्किसक्यो, रोपाइँ गर्न पाएको छैन।”
मल नहाली रोपाइँ गर्दा फसल राम्रो नहुने उनी सुनाउँछन्। मलको प्रतीक्षा गर्दागर्दै रोपाइँ गर्न ढिला भएको उनी दुःखेसो गर्छन्। “सहकारीमा जाँदा आज आउँछ, भोलि आउँछ भन्दै आश्वासन दिन्छन्। सहकारी धाउन थालेको महीना दिन भइसक्यो, अझै आएको छैन,” उनी भन्छन्।
नेपालमा मल नपाएपछि उनले सीमावर्ती भारतीय बजारमा गएर ल्याउन खोजेका थिए। भारतमा सहज रूपमा खरीद गर्न पाए पनि सीमानाकाबाट नेपाली सुरक्षाकर्मीले ल्याउन नदिने गरेको उनले सुनाए। “भारतबाट त सजिलै ल्याउन पाइन्छ। उताका सुरक्षाकर्मीले केही रोकतोक गर्दैनन्, हाम्रैले रोक्छन्,” राजाराम भन्छन्, “हाम्रो सरकारले ल्याउन सक्दैन, हामीलाई प्रहरीले भारतबाट ल्याउन दिंदैन।”
राजारामकी छिमेकी सुनीता चौधरीको पनि उस्तै समस्या छ। दुई बिघा खेतमा रोपाइँ गर्ने तयारीमा रहेकी उनले मल पाएकी छैनन्। बजारमा किन्न नपाएको र सहकारीमा जाँदा नदिएको उनले सुनाइन्।
गाउँकै अखुवाँ सहकारीमा केही मल पाएको थियो। तर, सदस्य नभएकाले किन्न नपाएको उनले गुनासो गरिन्। “अखुवाँ सहकारीमा मल आएको सुनेर दौडिंदै पुगें, तर शेयर सदस्यलाई मात्रै मल वितरण गरियो। म शेयर सदस्य नभएकाले मल पाइनँ,” उनी भन्छिन्।
सुदूरपश्चिम तराईमा आकाशे पानी त परेको छैन। तर, उनले बोरिङबाट रोपाइँ गर्ने तयारी गरेकी छन्। “पानी परेको छैन, मल पनि मिलेको छैन,” सुनीता भन्छिन्, “मल पाए त जमीनमुनिकै पानीले रोपाइँ गर्थें।” रोप्नका लागि तयार भएको बेर्ना सुक्ने अवस्थामा पुगेको उनले बताइन्।
स्थानीय बिन्दु चौधरी पनि कहाँ, कसरी रासायनिक मल उपलब्ध हुने हो भन्ने थाहा पाउन सहकारी संस्था धाउँदै हिंडेका छन्। दुई सातादेखि लगातार धाउँदा पनि कतैबाट मल नपाएको उनले सुनाए। “कुनै पनि सहकारीसँग मल छैन। नेपालमै मल नभएपछि कहाँबाट आउँछ भन्छन् सहकारी संस्थाहरू,” बिन्दुले भने, “अब हामीले मल विना खेतीपाती कसरी गर्नु? सरकारले किसानको मर्का कहिल्यै बुझेन।”
सुदूरपश्चिम प्रदेशभरि नै मलको हाहाकार छ। रोपाइँ गर्ने वेला हुँदा पनि मल नपाएपछि किसान चिन्तित छन्। “सित्तैमा मागेका छैनौं, किन्न पनि पाइँदैन,” बिन्दु भन्छन्।
किसान मात्रै होइन, सहकारी सञ्चालक पनि तनावमा छन्। दैनिक मलका लागि आउने किसानलाई रित्तो हात फिर्ता पठाउनुपर्दा गाह्रो भइरहेको कैलारीस्थित परिश्रम कृषि सहकारी संस्थाका व्यवस्थापक रामसमझ चौधरी बताउँछन्। “सरकारी आपूर्तिकर्ता संस्थाले मल उपलब्ध गराउन नसक्दा समस्या भएको हो,” उनी भन्छन्।
कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन कम्पनीले मलको आपूर्ति गर्दै आएका छन्। ती कम्पनीले मलको ढुवानी समेत नगर्दा सहकारी संस्थाले थोरै मल पाउन पनि भैरहवा धाउनुपरेको उनले बताए। “हामीलाई दुई हजारभन्दा बढी बोरा मल चाहिने हो, तर एक सय बोरा मात्रै भागमा परेको छ,” रामसमझ भन्छन्, “त्यसका लागि भैरहवा जानुपर्ने भएको छ। चार–पाँच सहकारी मिलेर ल्याउँदै छौं।”
सुदूरपश्चिममा कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेशनले ३० प्रतिशत मलको आपूर्ति गर्दै आएका छन्। अहिलेसम्म कृषि सामग्री कम्पनीले मलको आपूर्ति गर्न सकेको छैन।
साल्ट ट्रेडिङले पनि यो वर्ष एकदमै कम मात्रै मल आपूर्ति गरेको छ। अझ रोपाइँ गर्दा चाहिने युरिया भने साल्ट ट्रेडिङले पनि ल्याउन सकेको छैन। “अरू मल केही मात्रामा आए पनि युरिया आएको छैन,” साल्ट ट्रेडिङ धनगढीका निमित्त महाप्रबन्धक केशवप्रसाद पाण्डेले भने।
सरकारी आपूर्तिकर्ता कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले सहकारी संस्थालाई मल बिक्री गर्छन्। सहकारी संस्थाले किसानलाई बिक्री गर्छन्। तर, सहकारी संस्थाले पाएको मल पनि सदस्यलाई मात्रै बिक्री गर्दै आएको छ। जसले गर्दा सहकारीमा सदस्य नभएका किसान झन् मर्कामा परेका छन्।
साल्ट ट्रेडिङले पनि यो वर्ष पर्याप्त मात्रामा मल आपूर्ति गर्न सकेको छैन। निमित्त महाप्रबन्धक पाण्डेले यो वर्ष चार हजार ५५४ मेट्रिक टन मल मात्रै प्राप्त भएको बताए। जबकि, गत वर्ष १७ हजार मेट्रिक टन पाएको थियो।
साल्ट ट्रेडिङको कोटामा परेको मल पनि अझै सुदूरपश्चिम पुगेको छैन। पाण्डे भन्छन्, “केही मल आउन शुरू भएको छ, केही असार दोस्रो सातासम्म पुग्छ।”
रोपाइँ शुरू भइसक्दा पनि मल आपूर्ति गर्न नसकेकोमा दुःख लागेको उनी बताउँछन्। यसमा संघीय सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ।
सिजनमा मात्रै मल खोज्ने गरेकाले समस्या भएको उनको अनुभव छ। “सरकारले जति वेला सिजन आउँछ, त्यो वेला मात्रै मलका लागि पहल गर्छ, जुन कारण समयमै किसानले मल पाउन सक्दैनन्,” पाण्डे भन्छन्, “खासमा मल स्टक राख्नुपर्ने हो।”
कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय, धनगढीका प्रमुख नवलसिंह बोगटी सुदूरपश्चिमका लागि दुई हजार १६९ मेट्रिक टन डीएपी मल भैरहवा पुगिसकेको बताउँछन्। इन्धनको मूल्यवृद्धिले गर्दा ढुवानीको समस्या हुँदा भैरहवामै रोकिएको उनको भनाइ छ। “सुदूरपश्चिमका लागि आएको मल ढुवानीको समस्याले भैरहवामै रोकिएको छ, सहकारी संस्थालाई आफैं ल्याउन अनुमति दिएका छौं,” बोगटी भन्छन्।
एकातिर मल आपूर्ति हुन सकेको छैन भने अर्कातिर सुदूरपश्चिमका लागि कम मल आउँदा पनि समस्या हुने गरेको पाण्डे बताउँछन्। यो सिजनमा देशभर एक लाख ४२ हजार मेट्रिक टन मल आयात हुन्छ। जसमध्ये सुदूरपश्चिमका लागि ९.२४ प्रतिशत अर्थात् १३ हजार १२० मेट्रिक टन मात्रै छुट्याइने गरेको छ। जबकि, सुदूरपश्चिममा ६० हजार मेट्रिक टन मल आवश्यक पर्ने गरेको पाण्डे बताउँछन्।