हिसाब, खाता र ताल्चा
“बूढा, विश्वविद्यालयमा विद्यार्थी सङ्गठनले तालाबन्दी गर्न थालेको दिनदेखि हाम्रो घरबाट ताल्चा हराउन थालेको छ। के यो संयोग हो?”
ऋणका अनेकन् तहले थिचिएका रामबहादुर अचेल बहुत चिन्तित छन्। गत वैशाखमा पत्थरीको उपचारका क्रममा साथीभाइसँग लिएको ऋण त यताउताबाट तानतुन गरेर तिरे। तर, ब्याङ्कबाट पोहोर नै बाख्रापालनका लागि लिएको ऋण ज्युँका त्युँ छ।
बाख्राहरूबाट पाठापाठी जन्मेलान् र तिनैलाई बेचेर ऋण तिरुँला, घर खर्च पनि राम्ररी चलाउँला भन्ने उनको सपना थियो। तर, रोगले बाख्रा सोत्तर भए। अस्ति ब्याङ्कको ताकेतापत्र आएपछि उनको ओठमुख सुक्यो। मनमा बेचैनी छायो।
ऋण लिएपछि समयमै तिर्नुपर्छ भन्ने मान्यता राख्छन् रामबहादुर। त्यसैले छरछिमेक र आफन्तले ऋण दिन आनाकानी गर्दैनन्। ब्याङ्कको ऋणले तनाव दिइरहेका वेला तथ्याङ्क सार्वजनिक भयो, प्रत्येक नेपालीको टाउकामा ६३ हजार ३१० रुपैयाँ ऋण ! रामबहादुरलाई तनावको झन् ठूलो बोझले थिच्यो। खाना रुच्न छाड्यो। निद्रा दूर भयो।
यसले कहिल्यै तनाव नलिने रामबहादुरकी जहान सीतादेवीलाई पनि अत्यायो। श्रीमान्सित तनावको कारण सोधिरहिन्। शुरूमा त रामबहादुरले केही भनेनन्। तर, तारन्तारको सोधाइपछि मलिन स्वरमा भने, “बुढिया, ब्याङ्कको ऋण त थ्योथ्यो। तेरो र मेरो भागमा अर्को सरकारी ऋण पनि थपियो। नखाएको विषले मार्ने भो।”
सीतादेवी मस्तले हाँसिन् र भनिन्, “के नचाहिंदो चिन्ता लिन्छौ? आजै अर्को समाचार आएको छ त। प्रत्येक नेपालीको वार्षिक आय एक हजार ३८१ डलर पुग्दै छ रे, आजको बजारभाउ अनुसार एक लाख ७० हजार रुपैयाँ हाराहारी।
सरकारको पैसा त्यसैबाट तिरे भैगो त। उल्टै ३०/४० हजार फिर्ता आउने पो देखिन्छ। त्यो पैसाले बाख्रा किन्नुपर्छ। हिसाब त यसरी पो मिलान गर्ने हो। चिन्ता गरेर हुन्छ?”
चिन्ता लिनु कि छोड्नु? अब भने रामबहादुर दोधारमा परे।
खाता
अस्तिबाट ६८ लागे उनी। साउनदेखि सामाजिक सुरक्षा भत्ता पाउने भए। मैले सोधें, “मित्र, वृद्धभत्ता त पाइएला। तर, त्यसका लागि ब्याङ्कमा खाता खोल्नुपर्ला नि।”
मेरो कुरा खराब त थिएन। तर, उनको अनुहारमा अँध्यारो छायो। मेरो कुराले भत्ता पाउने उनको आशामा तुषारपात भए जस्तै भयो। उनको अतिशय उदास मुहार देखेपछि मैले सान्त्वना दिँदै भनें, “प्रिय मित्र, जाबो खाता खोल्ने कुराले तिम्रो अनुहारमा यतिविधि बादल मडारिनु त राम्रो कुरा होइन। स्वास्थ्यमा केही कैफियत पो छ कि?”
उनले बडो गम्भीर भएर दूर कतै क्षितिजतिर हेर्दै भने, “भर्खर स्थानीय चुनाव सम्पन्न भयो। हाम्रै वडा, गाउँमा, नगरमा उठेका बडेबडे पार्टीले खाता पनि खोल्न सकेनन् रे। पार्टीहरूको त यो हाल छ भने म जस्तो अदनाले कसरी खाता खोल्न सक्नु?”
ताल्चा
ज्ञानकुमारको घरमा केही सातादेखि आतङ्क छ। उनी र जहान निदाउनै छाडेका छन्। बिहान उठ्दा कुन चाहिं कोठाको ताल्चा हराउने हो भन्ने पीरले उनीहरू बेचैन हुन थालेका छन्। बुढिया त रात अलि छिप्पिएपछि निदाइहाल्थिन्, ज्ञानकुमार भने रातभरि रुँगेर बसिरहन्थे। जति नै रुंँगे पनि बिहान कुनै न कुनै कोठाको ताल्चा हराएकै हुन्थ्यो।
घरमा ताल्चा काण्ड दोहोरिइरहँदा पनि ज्ञानकुमारको सुपुत्र पुस्तक शर्मा भने अबेरसम्म निदाइरहन्थ्यो। ननिदाओस् पनि किन? यसपालि ऊ त्रिभुवन विश्वविद्यालयमा भर्ना भएको थियो, बिचरा थाकुन्जेल पढ्दो हो र भुस भएर निदाउँदो हो।
छोरो ब्युँझनासाथ ज्ञानकुमारले फेरि ताल्चा चोरी भएको कुरा सुनाउँथे। छोरो विश्वविद्यालय जाने तयारी गर्दै ढुक्कले भन्थ्यो, “ह्या, जाबो ताल्चा हरायो भन्दैमा कति चिन्ता लिनुहुन्छ? सुनचाँदी त हराएको हैन नि !”
छोराको कुरो बेठीक त थिएन। तर पनि ज्ञानकुमार चिन्तित थिए। ताल्चा चोर्नेले बिस्तारै सुनचाँदी राखेको कन्तुरतिर हात बढाउन के बेर !
एक रात उसै गरी ज्ञानकुमार ताल्चा चोरलाई पर्खिरहेका थिए। चोर भेटिएन। बिहान एउटा अर्को ताल्चा गायब थियो। चिन्तित मुद्रामा बुढिया सरस्वतीदेवीले भनिन्, “बूढा, विश्वविद्यालयमा विद्यार्थी सङ्गठनले तालाबन्दी गर्न थालेको दिनदेखि हाम्रो घरबाट ताल्चा हराउन थालेको छ। के यो संयोग हो?”
सरस्वतीको कुराले ज्ञानकुमार आत्तिए र हत्तपत्त सुपुत्र पुस्तकको कोठामा पसे। त्यति वेला सुपुत्र विश्वविद्यालय जाने तयारी गर्दै थियो। उसको हातमा पुस्तक थिएन। ताल्चा थियो। ङिच्च हाँस्दै भन्यो, “अघिल्लो दिन हाम्रो सङ्गठनले ताल्चा लगाउँछ, अर्को दिन अर्को सङ्गठनले खोलिदिन्छ। त्यसैले अचेल विश्वविद्यालयमा बढी ताल्चा खपत भइरहेछ।”
(हिमालको २०७९ असार अंकबाट।)