जिसस प्रमुख चुन्न सात जिल्लामा गोलाप्रथा, ६ मा एमाले विजयी
जिल्ला समन्वय समिति प्रमुख चुन्न सात वटा जिल्लामा गोलाप्रथा हुँदा ६ जिल्लामा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन्।
रसुवा जिससको प्रमुखमा एमालेका अशोक घिमिरे र उपप्रमुखमा विजय लामा निर्वाचित भएका छन्। कांग्रेस र एमालेका उम्मेदवारले बराबर मत पाएपछि गोलाप्रथा गरिएको थियो। जसमा एमालेका दुवै उम्मेदवार विजयी भएका हुन्।
त्यस्तै, भक्तपुर जिससमा पनि एमाले उम्मेदवार गोलाप्रथाबाट निर्वाचित भएका छन्। कांग्रेसका जनार्दन खड्कालाई पराजित गर्दै एमालेका ईश्वर थापा विजयी भएका हुन्। दुवैले तीन-तीन मत पाएपछि गोलाप्रथा गरिएको थियो।
चितवनको जिसस प्रमुखमा पनि एमालेका नारायण अधिकारी विजयी भएका छन्। उनले पाँच दलीय गठबन्धनबाट कांग्रेसका पूर्णबहादुर रानाभाटलाई गोलाप्रथाबाट पराजित गरेका हुन्।
जिससको निर्वाचनमा कपिलवस्तुमा पनि बराबरी भएको छ। त्यसपछि भएको गोलाप्रथामा एमालेका बाबुराम आचार्य विजयी भएका छन्। एमाले र गठबन्धनका उम्मेदवारले १०-१० मत पाएका थिए।
पर्वत जिससमा पनि गोलाप्रथाबाट प्रमुख एमालेकै भागमा परेको छ। एमाले र गठबन्धनको बराबर मत हुँदा गोलाप्रथा गरिएको थियो। जसमा एमालेका विष्णुराम विक जिसस प्रमुख निर्वाचित भएका हुन्।
मनाङमा पनि जिसस प्रमुख छान्न गोलाप्रथा गरिएको छ। एमाले र कांग्रेस-माओवादीको बराबर मत भएपछि गोलाप्रथा गरिएको थियो। जसमा एमालेका चीनबहादुर घले निर्वाचित भएका हुन्।
स्याङ्जा जिससमा भने गोलाप्रथाबाट कांग्रेसका उम्मेदवार श्रीप्रसाद जिटी विजयी भएका छन्। कांग्रेस र एमालेको समान ११-११ मत भएपछि गोलाप्रथा गरिएको थियो। जसमा कांग्रेसका जिटी निर्वाचित भएका हुन्।